काठमाडौं । सडक दुर्घटनामा परे अब चालकले ‘ट्राफिक क्लास’ लिनुपर्ने भएको छ ।
सामान्य दुर्घटनामा परेकालाई तत्कालै ‘क्लास’ लिने व्यवस्था गरिएको छ भने गम्भीर खालका दुर्घटनामा परेका चालकलाई उपचारपछि ‘क्लास’ लिने व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले मापसे, लेन मिच्नुपछि अब दुर्घटनामा परेका चालकलाई पनि ‘क्लास’ लिने भएको छ ।
सडक दुर्घटनालाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत दुई महिनादेखि सडक दुर्घटना गराउने र गर्ने दुवै पक्षलाई एकै साथ राखेर चेतना कक्षा दिन थालेको छ ।
“सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी मात्र लागेर केही नहुने रहेछ,” महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी प्रकाश अर्यालले बाह्रखरीसँग कुरा गर्दै भने, “सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी धेरै खटिदैमा केही हुँदैन । ट्राफिक प्रहरी त कानुन कार्यान्वयन गराउने निकाय हो । सडकमा सवारी लिएर हिँड्नेले त्यो कुरा बुझ्नुपर्ने हो ।”
उनका अनुसार महाशाखाले दुई महिनादेखि यसरी क्लास लिने गरेको छ । सोमबारसम्म एक हजार ३० जना दुर्घटनामा परेका चालकले यो कक्षा लिएका छन् ।
“सडक दुर्घटना हुँदा चालकको कुनै न कुनै कमी कमजोरी देखिन्छ,” महाशाखाका सडक सुरक्षा युनिटका इन्चार्ज डीएसपी सविन प्रधानले भने, “दुर्घटना गराउने होस् या दुर्घटनामा पर्ने होस् । उसले आफ्नो गल्ती देख्दैन । सामान्य दुर्घटना भएकाहरु त बाटोमै मिलेर ट्राफिकलाई खबर नगरेरै जान्छन्, तर उनीहरु भोलि फेरि अर्को ठुलो दुर्घटनामा पर्छन् । यस्तो नहोस् भन्नका लागि हामीले कमसेकम चालकले के कारणले सडक दुर्घटना भएछ ? मेरो के गल्ति भएछ भन्ने जान्नका लागि पनि हामीले यो कक्षा सञ्चालन गरेका हौं ।”
उनले थपे,“सडक दुर्घटना भयो । पीडित पक्षसँग सम्झौता गर्यो, गयो । आफूले के गल्ती गरियो र के कारणले दुर्घटना भयो भन्ने बारेमा जान्नका लागि पनि कक्षा आवश्यक देखियो ।”
उनका अनुसार उपत्यकामा हुने सडक दुर्घटनाका मुख्य दुई कारण छन्, जसमा पहिलो कारण हो लेन मिच्ने र दोस्रो कारण हो तीव्र गती ।
उनले प्रत्येक दिन दुर्घटनामा परेकालाई महाशाखामा एकघण्टा क्लास लिने गरेको बताए
No comments:
Post a Comment