Sunday, 5 February 2017

'अहिले त म नयाँ श्वेता बनेर बाँचेकी छु’

मान्छेको जिन्दगी सधैं एकनासको हुन्थ्यो भने कस्तो हुँदो हो ? केही सुखमा रमाएका मान्छेलाई समय सधैं उस्तै भइदिए हुन्थ्यो भन्ने लाग्दो हो ।
धेरैलाई दुःखको बादल फाटी खुशी छाइदिए हुन्थ्यो भन्ने लागिरहँदो हो ।
मान्छेको जिन्दगी न हो । मौसमजस्तै जिन्दगी पनि बदलिरहन्छ । तर जिन्दगीमा आएका उतारचढावबीचको प्रभाव कति समयसम्म रहन्छ भन्ने अर्को पाटो रहला ।

चलचित्र ‘कहाँ भेटिएला’ की नायिका श्वेता खड्काले पनि जिन्दगीको उतारचढावको यसरी नै भोग्नुपरेको थियो ।
श्वेता खड्काको अभिनय यात्राले लामो दूरी तय त गरेन तर गरेका जति चलचित्रले नै उनलाई सक्षम अभिनेत्रीको चिनारी दिलायो । हुन त उनले सानैदेखि चलचित्र क्षेत्रको लक्ष्य बोकेकी पनि होइनन् ।
बाल्यकालमा उनको स्वभाव अरूसँग त्यति खुलेर बोल्ने खालको थिएन । लजाउने गर्थिन् । कसैसँग बोल्नुप–यो भने असहज लाग्थ्यो उनलाई । बिस्तारै उनको लाजलाई आत्मबलले जित्दै गयो । उमेरसँगै लजाउने आदतले पनि उनको साथ छोड्न थाल्यो । एसएलसीपछि उनी काठमाडौं झरिन् काभ्रेबाट ।
विद्यालयमा उनलाई पढाइमा भन्दा बढी अतिरिक्त क्रियाकलापमा बढ्ता रुचि थियो । तर अभिनयमा चाहिँ खासै रुचि थिएन। न त योजना नै थियो । परिवारले व्यवसाय गरेका आधारमा बरू आफू व्यवसायी हुन्छु भन्ने लागेको थियो श्वेतालाई ।
पुराना कुरालाई स्मरण गर्दै उनी भन्छिन्, ‘म पढाइमा औसत भएपनि अतिरिक्त क्रियाकलापमा अगाडि नै थिएँ । विद्यार्थी जीवनमा जिन्दगीको लक्ष्य बनिसकेको थिएन ।’
एसएलसीलगत्तै काठमाडौं झरेपछि उनी आफैंले जागिर गर्न थालिन् । ‘मैले एसएलसीपछि बुबाआमाको एक रुपैयाँ पनि खर्च गरेकी छैन । आफै सबल हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ पढाइ सँगसँगै आफूले काम गर्न थालेपछि उनलाई जिम्मेवार पनि बन्दै जानुपर्छ भन्ने लाग्यो ।
चलचित्र ‘कहाँ भेटिएला’ मा अभिनय गर्नुभन्दा पहिले उनको परिचय आफ्नो परिवार तथा साथीभाइको घेरामा मात्र सीमित थियो ।
श्वेता सानैदेखि नेपाली चलचित्र रुचाउँथिन् । पहिल्यैदेखि अभिनेता श्रीकृष्ण श्रेष्ठकी फ्यान थिइन् । तर श्रेष्ठलाई भेट्छु भन्ने लागेको थिएन उनलाई ।
एकदिन यो संयोग पनि जु–यो । उनी सधैंजसो त्यो दिन पनि डान्स सेन्टर गइन् किनकि उनलाई ज्यान बनाउनु थियो । आफूलाई फिट राख्नु थियो । उनलाई नृत्यमा रुचि पनि थियो ।
एकदिन डान्स सेन्टरमा निर्देशक शिव रेग्मी, अभिनेता श्रीकृष्ण श्रेष्ठ लगायत अन्य केही चलचित्रकर्मी आए । उनलाई एकछिन पत्यार लागेन ।
केही समयमा नै निर्देशक रेग्मी लगायतले उनलाई नयाँ चलचित्रमा नायिकाका लागि प्रस्ताव गरे । लामो समयसम्म आफूले खोजेजस्तो नायिका नभेटेर हैरान भएको निर्माण समूहले उनलाई अभिनयका लागि स्वाभाविक प्रस्ताव गरेको थियो । त्यो अप्रत्याशित प्रस्तावलाई सम्झँदै उनी भन्छिन्, ‘एक्कासि आएको प्रस्तावलाई मैले सहजै स्वीकारिनँ । तर उहाँहरूले अभिनयका लागि आग्रह गरेपछि टार्न भने सकिनँ ।’
श्वेताले पहिलो चलचित्रबाट नै सफलताको स्वाद चाखिन् । नवनायिका एकाएक चल्तीकी अभिनेत्री बनिन् । आफूलाई अभिनेत्रीका रूपमा चिनाउनुको श्रेय भने उनी श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीलाई दिन्छिन् ।
चलचित्र ‘कहाँ भेटिएला’ ले श्वेतालाई अभिनेत्रीका रूपमा मात्र चिनाएन, अभिनेता श्रीकृष्ण श्रेष्ठसँग पनि नजिक बनायो । चलचित्रको प्रमोसनका लागि देश तथा विदेश जाँदा श्रेष्ठसँग उनको सम्बन्ध अझ नजिकियो । ‘म उहाँकी फ्यान थिएँ, उहाँका कुनै पनि चलचित्रलाई नछुटाई हेर्ने गर्थें,’ उनी थप्छिन् ।
एकातिर श्वेताको चलचित्रयात्रा सफलताको सिँढी चढिरहेको थियो भने अर्कोतिर उनको जिन्दगीको आकाशमा खुशीका बेलुनहरू उडिरहेका थिए । श्रीकृष्ण श्रेष्ठसँगको उनको सम्बन्ध झनै झांगियो । यही समयमा यी दुवैले संयुक्त व्यवसाय पनि शुरु गरे ।
अन्ततः पाँच वर्ष लामो मित्रतालाई सधैं सधैंका लागि जीवन्त बनाउन उनले श्रीकृष्ण श्रेष्ठसँग बिहे गरिन् ।
एकातिर बिहेको चर्चा चलिरहेको थियो, अर्कोतिर नयाँ चलचित्र ‘कोहिनुर’को प्रचार जोडतोडले चलिरहेको थियो । जोडीलाई भ्याइनभ्याइ थियो समय मिलाउन ।
जोडी खुशी थियो । श्वेता प्रफुल्लित थिइन् । परिवार उमंगमा थिए । फ्यानहरू दंगदास थिए । तर त्यो खुशी लामो समयसम्म टिक्न सकेन । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा बदलेको यो जोडीको खुशी पाँच महिना पनि टिकेन । निमोनियाको उपचारको क्रममा श्रीकृष्ण श्रेष्ठको निधन भयो ।
श्वेतालाई बज्रपात प–यो । उनका सपनाहरू भताभुंग भए । खुशीहरू साथमा बस्न मानेनन् । श्रीमानसँगको वियोग पीडाले उनलाई एक वर्षसम्म पिरोलिरह्यो ।
नयाँ जीवनको खोजी
तर उनी बौरिइन् ।
‘पहिलेकी श्वेता त मरिसकी । अहिले त म नयाँ श्वेता बनेर बाँचेकी छु,’ उनले मीठो हाँसो हाँस्दै यसो भनिन् ।
श्रीकृष्ण श्रेष्ठसँगको वियोगपछि शारीरिक तथा मानसिक रूपमा लगभग एक वर्षसम्म असहज अवस्थामा रहेकी श्वेता अहिले भने आफूले शोकलाई शक्तिमा बदलेको बताउँछिन् ।
‘म त अरूको सहारामा बाँच्नुपर्ने भइसकेकी थिएँ,’ पतिवियोगपछिको आफ्नो अवस्थालाई बताउँदै उनी भन्छिन्, ‘मेरो अवस्था यस्तो भएको थियो कि अरूले नै नुहाइदिनुपर्थ्यो । अरूले हिँडाउनुपर्ने स्थिति आएको थियो ।’
परिवारले घरमा नै डाक्टरको व्यवस्था गरेको थियो । मानसिक रूपमा निकै कमजोर बनेकी थिइन् उनी । यति कमजोर भएकी थिइन् कि, आफूलाई लगभग ६ महिनासम्म अरूको सहारामा हिँडडुल गराउनुपर्ने स्थिति थियो ।
परिवारले श्वेताको उपचारका लागि कुनै कसर बाँकी राखेन । त्यसबेलामा छोरीलाई परिवारको साथको खाँचो छ भन्ने राम्रोसँग बुझेको थियो परिवारले ।
समय बिस्तारै बित्दै गयो । डाक्टर तथा परिवारको सकारात्मक उत्प्रेरणाले उनीमाथि सकारात्मक प्रभाव पर्दै गयो । ‘सबैको उत्प्रेरणाले मैले केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो ।’ उनी त्यो अवस्थालाई सम्झिँदै भन्छिन्, ‘डाक्टरको काउन्सिलिङले नै मलाई सकारात्मक बनेर फेरि बाँच्न सिकायो ।’
सहयोग अर्थात् समाजसेवा
पहिलेदेखि नै उनलाई अरूको सहयोग गर्न पाउँदा रमाइलो लाग्थ्यो । घरमा कसैले सहयोग माग्न आउँदा आमाले हकारे पनि उनी ‘दिएर पठाउनुस् न’ भन्दै आमालाई आग्रह गर्थिन् । आफूले कमाएको केही रकम समाजसेवाका लागि छुट्ट्याउँथिन् ।
‘मैले फिल्मक्षेत्रमा आउनुभन्दा पहिले पनि सहयोग गरिरहेकी हुन्थें,’ हरेक नेपालीले कुनै न कुनै रूपमा अर्काको सहयोग गर्नुपर्ने धारणा राख्दै उनी भन्छिन्, ‘चलचित्र क्षेत्रबाट कमाएको पैसा त पूरै समाजसेवाका लागि नै दिएँ होला ।’
संघर्षमा सफलता
एसएलसीपछि नै काम गर्न थालेकी श्वेताको जिन्दगीमा आरोह–अवरोह आएपनि अहिले भने उनले व्यापारमा समेत आफूलाई व्यस्त बनाएकी छिन् । लगभग आधा दर्जन आफ्नै व्यापार व्यवसाय छन् उनका । उनलाई व्यापारको कामले भ्याइनभ्याइ छ ।
चलचित्र ‘कोहिनुर’ पछि कुनै चलचित्रमा अभिनय नगरेपनि अब केही महिनामा नै पत्रकार सम्मेलन गरेर नयाँ चलचित्रको घोषणा गर्ने उनको योजना छ ।
सबै काम एक्लैले सम्हाल्न त कहाँ सहज छ र उनलाई ? परिवारको साथले यो सम्भव भएको हो भन्ने लाग्छ श्वेतालाई । भाइबरमा ग्रुप च्याट गरेर स्टाफसँग कुरा गरिरहन्छिन् । आधा दर्जन व्यापारले मात्र उनलाई पुगेको छैन ।
आफ्नै होम प्रोडक्सनको ब्यानरमा दयाहाङ राईलाई लिएर नयाँ चलचित्र निर्माण गर्न लागेकी छन् उनी । लामो समयदेखि चलचित्रका लागि समय मिलाउन उनलाई साँच्चिकै गाह्रो भएको छ ।
छिट्टै नै स्विमिङ पुलसहितको हेल्थ क्लब खोल्ने तयारीमा छिन् । भन्छिन्, ‘बिहानको खाना त मैले कहिल्यै पनि घरमा खान पाउँदिनँ । व्यस्त भएपनि आफूले बनाएका योजना सफल हुँदा खुशी मिल्छ ।’
दर्शकको माया, परिवारको साथ र आफ्नै लगनशीलताले नयाँ काम गर्न आफूलाई हौसला मिलिरहेको उनी बताउँछिन् ।
लोकान्तरको सहयोगमा

No comments:

Post a Comment