जनकपुरधाम, माघ २४ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसको विखन्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहीन भएको बताएका छन् ।
फाइल फोटो
उनले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको सोमबार जनकपुरधाममा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखन्डतालाई बिथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिए ।
उनले ‘मधेस नेपालको हो, मधेसी भू–भाग नेपालको हो भन्ने भावनाविपरीत कसैले खन्डित गर्ने कुरा गरेमा सरकार सहन सक्दैन’–भने ।
हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावनाविपरीत प्रतिगमन शक्ति, उग्रवादी र उग्रवामपन्थी शक्ति उद्यत् रहेकाले सोप्रति सजग हुनु जरूरी भएको धारणा उनले राखे ।
उनले संविधान संशोधन गरी ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्नु सबैको जिम्मेवारी भएकाले आगामी माघ ७ गतेसम्म स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन गरिसक्नुपर्ने खाँचो औंल्याए ।
उपप्रधानमन्त्री निधिले कमी–कमजोरीलाई सच्याउँदै अगाडि बढ्दै जाने लोकतान्त्रिक प्रणलीको मूल चरित्र हुने भएकाले सो चरित्रलाई सबैले आत्मसात गर्नु आवश्यक भएको प्रसंग पनि उल्लेख गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र रूद्र बाहिनीका बाहिनीपति बाबुराम पाण्डेले नेपालको भारतसँग जोडिएको सिमानामा हुने अवैध गतिविधि, आपराधिक कार्यविरूद्ध सशस्त्र प्रहरी सक्रिय रहेको बताए । रासस
No comments:
Post a Comment