Tuesday, 7 February 2017

भारतमा रेल विस्फोट गराउने मुख्य योजनाकारसहित तीन जना काठमाडौंमा पक्राउ

काठमाडौं, २५ माघ । भारतले पछिल्लो पटक देशमा भइरहेका रेल दुर्घटनामा पाकिस्तानको हात रहेको भन्ने आरोप लगाइरहेको बेला केही समयअघि कानपुरमा भएको रेल विस्फोट गराउने योजनाकार काठमाडौंमा पक्राउ परेका छन् ।
दुबईमा बसेर भारतका रेलमाथि आक्रमणको योजना बनाउने आइएसआईका एजेन्ट शमशुल होदालाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । सो आक्रमणको आरोपमा भारतको विहार प्रहरीको नियन्त्रणमा रहेका होदासँग जोडिएका एक आरोपीले घटनाको योजनाबारेमा बयान दिएपछि त्यसका योजनाकार होदा नेपालमा पक्राउ परेका हुन् ।
आईएसआई एजेट शमशुल होदा नेपाली नागरिक हुन् । उनी मंगलबार नेपाल आउने वित्तिकै केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनलाई पक्रेको हो ।
भारतको मोतिहारी र नेपालमा ६ जनालाई गिरफ्तार गरेपछि त्यसका योजनाकार होदाका बारेमा जानकारी प्राप्त भएको भारतीय प्रहरीले जनाएको छ । उनीसंगै अन्य तीन जनालाई पनि पक्राउ गरिएको छ । होदाले आफ्नो नेटवर्कमा नेपालकै बृजकिशोर गिरी अर्थात बाबा गिरी, शम्भू गिरी र मुजाहिर अन्सारीलाई पनि सामेल गराएका थिए ।
बृजकिशोरले बिहारका तीन जना अपराधी उमाशंकर पटेल, मोतीलाल पासवान र मुकेश यादवलाई तीन लाख रुपैयाँ दिएको खुलेको छ । इन्दौर–पटना एक्सप्रेस र सियालदह–अजमेर एक्सप्रेसको रेललाई दुर्घटनाको सिकार बनाउकै लागि उनले तीं तीन जनालाई पैसा दिएका थिए ।
विहारका तीनै जना अपराधिले पनि बृजकिशोरले नेपालका आईएसआईका एजेन्टका लागि काम गरेको बताएका थिए । भारतीय प्रहरीका अनुसार बृजकिशोर शमशुल होदाका एक विश्वास पात्र थिए । उनीहरुलाई कलैयामा लगेर थप अनुसन्धान गरिने जनाइएको छ ।
उनीहरुले रेलको पटरालाई नोक्सान गरेर देशभर रेल दुर्घटना गराउने षडन्त्र गरिरहेको अनुमान भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले पहिले नै गरेको बुझिएको छ ।
कानपुरमा भएको रेल आक्रमणमा १५० जनाको मृत्यु भएको थियो । जबकि २०० भन्दा बढी मानिस घाइते भएका थिए ।
अहिले सो भारतीय एजेन्सीले पूर्वी चम्पारणमा रेलवे ट्याकमाथि नोक्सान पुर्याउने गरेको कोशिस, इन्दौर–पटना एक्सप्रेस डिरेलमेन्ट र आन्ध्र प्रदेशको कोनेरूमा भएको रेल दुर्घटनाको पनि अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment