प्युठानः यत्रतत्र छरिएका भाँडाकुँडा । घाँसको ओछ्यान । फाटेका कपडा । खाने, बस्ने सबै जंगलमै । ढुंगाको अगेनो । डोको साथी । झट्ट हेर्दा जंगली जनावरले बनाएको बास जस्तो । सुन्दा पनि जो कोहीलाई अपत्यारिलो लाग्ने कहाली लाग्दो पीडा । जीवनका १५ वर्ष जंगलमै बसेर बितिसक्यो धरमपानी-९ बर्बोट प्युठानकी ६० वर्षीया चित्रादेवी उपाध्यायको । उमेर छँदासम्म जंगल चाहार्दा चाहार्दै बिताइन् । ठाउँ परिवर्तन गरेर जंगलमा बसिरहन्छिन् । कसैको चिन्ता छैन उनलाई ।
खुला आकाशमुनि २०५८ सालदेखि तोरवाङ-६ चिसापानीस्थित लाटापानी/ढड्यानको जंगलमा बस्दै आएकी छन् उनी । उमेर छँदासम्म ‘घुमन्ते' जीवन बिताइन् । उमेर ढल्किँदै गएपछि हिँडडुल गर्न नसक्ने भएर हिजोआज जंगलको बास भएको छ । तोरवाङ-९ नेटा प्युठानमा जन्मिएकी उनको धरमपानी बर्बोटका बासुदेव पौडलसँग विवाह भएको थियो । श्रीमान्लाई आफैंले छोडेर एक्ली आमा बेलसरी उपाध्यायको खुसीका लागी उनी माइतीघरमा बस्दै आइन् । बुबाको मृत्युपछि आमासँगै बसेका दाइ कमजोर मनस्थितिको भएपछि आमालाई सघाउन उनले श्रीमान्को साथ छाडेर जानुपरेको सुनाइन् ।
बिडम्बना, माइतीघरमा बसेको केही वर्षपछि आमाको मृत्यु भयो । बुबाआमाको मृत्युपछि सुरुभए उनका दुःखका दिन । न माइतीघरबाट साथ पाइन् नत घरबाटै । बेसहारा बनेकी उनी घरमा एक्लै बस्न सकिनन् । आमा छँदा गाउँमा धेरैलाई ऋण तिर्नु थियो । यसैको कारणले पनि उनी भौतारिँदै हिँडेको हुनसक्ने तोरवाङ चिसावाङका स्थानीय बताउँछन् ।
ताप्केमा आलु उसिन्दै गरेको अवस्थामा जंगलमा भेटिएकी चित्रादेवी भन्छिन्, ‘मेरो आफ्ना भन्ने कोही छैनन् ।' भेट्न आउनेले एक पाथी चामल र तेल ल्यादिन उनले आग्रह गरिन् ।
‘मासु खान मन लाग्याछ', उनले भनिन्, ‘सबैले आलु ल्यादिन्छन् ।' एकसरो कपडामै उनको बर्सौ बितिसकेको छ । शरीरमा भएका कपडा फाटिसेका छन् । कपाल झरिसक्यो । दुवै खुट्टा सुन्निएका छन् । जंगली जनावर वा मान्छे कसैको चिन्ता छैन उनलाई । चुरोट खाएर दुःख भुलाउने गरेको उनले बताइन् ।
‘अहिलेसम्म त्यस्तो केही रोग लाग्या छैन्', जीवन सम्झँदै उनले भनिन्, ‘खै अब कति बाँचिएला र ? ' ब्राह्मण परिवारमा जन्मे हुर्केकी चित्रादेवी जंगलमा बसे पनि कसैले छोएको खाँदिनन् । ‘उतै बसेर कुरा गर्नुस्', भेट्न जानेलाई उनी भन्छिन्, ‘यता पकाउने ठाउँतिर नआउनुस् ।' बजार डुलेर पानी राख्ने प्लास्टिकका जर्किन र स्टिलका भाडाँकुडा जुटाएकी छन् उनले । गाउँले मिलेर उनी बस्ने ठाउँनजिकै मूलबाट पानी झारेर धारो बनाइदिएका छन् । ‘कहिलेसम्म यसरी बस्नुहुन्छ त ? ', भेट्न जानेहरूले सोध्दा उनी जवाफ दिँदै भन्छिन्, ‘नमर्दासम्म यहीँ बस्छु ।'
आफूलाई अझैसम्म कोही पनि खोज्न नआएको उनले बताइन् । तीन दिदीबहिनीमध्ये उनी कान्छी हुन् । जेठी दिदीको तोरवाङको चिसावाङ र अर्कीको ओखरकोटको चुँधारामा विवाह भएको उनले बताइन् ।
‘पन्ध्र वर्षभन्दा बढी भयो जंगलमै देखेको', चिसावाङका स्थानीय मीनबहादुर केसीले भने, ‘दाउरा खोजेर ल्याइदिन्छौँ ।' असिना पानी पर्दा पनि खुला आकाशमै सुतेको देखेको उनले बताए । ‘आफ्नै आमाजस्तै सम्झेर घर जाउँ भन्छु', उनले भने, ‘कसैको घर जन्न भन्नुहुन्छ ।' माइतीघरमा बुबा आमाको मृत्युभएपछि पीडाले हिँडेको बताउने गरेको उनको भनाइ छ ।
‘मानसिक रूपमा ठीकै हुनुहुन्छ', चिसावाङकै स्थानीय सामाजिक अगुवा विष्णुमणि पोख्रेलले भने, ‘शक्ति हुँदासम्म मागेरै ज्यान पाल्नुभयो । उमेर ढल्किसक्यो बजारमा माग्न जान सक्नुहुन्न ।'
कहिलेकाहीँ नुन, चिनी, चामल, तेल र आलु लगेर दिने गरेको उनले बताए । ‘धेरै चुरोट खानुहुन्छ', पोख्रेलले भने,‘जंगल आउने गाईबाख्राले हान्छन् कि भन्ने डर हुन्छ ।' ‘ऋषिमुनि पनि १२ वर्ष जंगल बसे भन्छन्', उनले भने, ‘पन्ध्र वर्ष भइसक्यो । उहाँ अझै जंगलमै हुनुहुन्छ ।' ६० वर्षीय चित्रादेवीको अझैसम्म नागरिकता बनेको छैन ।
बाग्दुला-मच्छि सडकखण्डअन्तर्र्गत बाटो छेउँमै चिसावाङ बस्ती सडकदेखि नजिकै पर्छ । बस्तीदेखि झन्डै दस मिनेटको दूरीमा पर्ने जंगलमा चित्रादेवीले कष्ठकर जीवन बिताइरहेकी छन् । जिल्लाकै सुगम क्षेत्रमा पर्ने यस ठाउँमा यसरी जंगलमै बास बसेर दैनिकी गुजारिरहेको पहिलो घटना भएको स्थानीय बताउँछन् । महिला तथा बालबालिकाको क्षेत्रमा जिल्लाका काम गर्ने थुप्रै निकाय भए पनि अझैसम्म उनको उद्दारमा कसैले चासो देखाएका छैनन् ।अन्नपूर्ण पोस्टको सहयोगमा
Sunday, 5 February 2017
१५ वर्षदेखि जंगलको बास
Labels:
Desh
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment