Thursday, 2 February 2017

फिस्टेदेखि ट्वाँकेन्द्रसम्म, सम्भावना हुँदा पनि को को विदेशिए ?

हाँस्य कलाकार सिनेमाका सुपरस्टारभन्दा बढी लोकप्रीय छन् । हाँस्य क्षेत्रलाई यो उचाईमा पुर्याउन मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको महत्वपूर्ण योगदान छ । उनीहरुले हाँस्य क्षेत्रलाई खेतको रुपमा विकास गरे । यो खेत आकर्षणको विन्दु भयो । प्रतिभाशाली कलाकार आए । समयको लगानी गरे । परिश्रम र संघर्ष गरे ।  समग्र हाँस्य व्यंग्य क्षेत्र नै हराभरा बनाए । तर हराभरा बनेको हाँस्य व्यंग्य क्षेत्रले पनि सम्भावना बोकेका र प्रतिभाशाली केहि हाँस्यकलाकारलाई अड्याउन सकेन । 
कोहि बाध्यताले त कोहि रहरले दर्शक हँसाउने पेशाबाट टाढिन पुगेका छन् । को को हुन् त विदेशिएका हाँस्य कलाकार ?

गोपाल नेपाल (फिस्टे)

हाँस्य टेलिश्रृंखला तितो सत्य र जिरे खुर्सानी दुबैमा लोकप्रीय थिए गोपाल नेपाल । होचो कद भएकाले उनलाई पर्दामा पनि फिस्टे भनेर चिनाईयो । सबैको मुखमा गोपाल नेपालभन्दा बढी फिस्टे नै झुण्डियो । नियम कडा भन्ने उनको थेगो पनि हिट नै भएको थियो । उनी जितु नेपाल मुन्द्रेका भतिजा पनि हुन् । हाँस्व्यङग्यमा फिस्टेको लोकप्रीयता बढ्दो थियो । स्टेज कार्यक्रममा पनि उनको माग बढ्दै थियो । प्रहसनहरुमा पनि देखिन्थे उनी । दर्शक हँसाउने कला भएकाले उनी साँच्चीकै हाँस्य कलाकार हुन जन्मिएका हुन् भन्ने सबैलाई लाग्थ्यो । 
तर फिस्टेलाई नेपाली हाँस्य जगतले धेरै समय टिकाउन सकेन । उनी सबै नेपालीहरुको सपनाको देश अमेरिका पुगे । अहिले उनी अमेरिकामा नै छन् । बेलाबेलामा भने उनी नेपाल आउने गरेका छन् । मान्छे फिस्टे भएपनि उनलाई अमेरिकाले पत्यायो । ग्रीन कार्ड दियो । सबैभन्दा छिटो अर्थात छोटो समयमै ग्रीन कार्ड पाउने हाँस्य कलाकार नै गोपाल नेपाल (फिस्टे ) हुन् ।

नारायण त्रीपाठी

एकताका महानायक राजेश हमालभन्दा बढी महंगा थिए हाँस्यकलाकार, नारायण त्रीपाठी । उनको अभिनय हेर्नेहरु हरेकको मुहारमा हाँसो हुन्थ्यो । चलचित्रहरुमा दिईएको सानो भूमिकाबाट पनि उनी दर्शकमाँझ परिचित हुन्थे । अभिनयमार्फत दर्शकलाई आफूतिर तान्न सक्ने अर्थात आर्कषण गर्ने क्षमता उनीभित्र थियो । टेलिश्रृंखला ‘दसैँँ’ ले उनलाई लोकप्रीय बन्न मद्धत पुर्यायो ।
सिनेमामा मसलाको रुपमा र जोकरका रुपमा प्रयोग हुन्थे हाँस्यकलाकार । त्यो मसलाका लागि नारायण त्रिपाठी नै धेरैजसो सिनेकर्मीको आँखामा पर्थे । त्यसैले साना भएपनि अवसरहरु भने उनीमाँझ प्रशस्तै आउँथे । फिल्म छाँयाकनका लागि उनलाई लिन गाडी समेत उनकै घरमा पुग्थ्यो । नेपालमा उनी प्रतिष्ठित कलाकारको रुपमा जीवन बिताईरहेका थिए ।
यी प्रतिभाशाली कलाकारलाई पनि हाँस्य क्षेत्रले समाती राख्न सकेन । चर्चाको शिखरमा रहेका नारायण त्रिपाठी अहिले अमेरिकामा छन् । अमेरिका पुगेपछि उनको चर्चा भने ह्वात्तै सेलाएको छ । नयाँ पुस्ताले त नारायण त्रिपाठीलाई सायदै चिन्लान् । अमेरिकामा के कस्तो दुःख र संघर्ष गरे ? त्यसको प्रतिफल कस्तो मिलिरहेको छ ? उनैलाई थाहा होला । तर, नेपाली हाँस्य क्षेत्रले भने उनलाई सम्झिरहेको छ । अभाव महशुस गरिरहेको छ ।

गोपाल अधिकारी ( ट्वाँकेन्द्र )

गोपाल अधिकारी ट्वाँकेन्द्रको रुपमा लोकप्रीय थिए । वास्तविक जीवनमा उनी रक्सि पियर मातेर हिँडेको देखिएन । तर, हाँस्य टेलिश्रृंखला तितो सत्यले उनलाई ट्वाँकेन्द्रको रुपमा चिनायो । उनको हि.हि.हा थेगो निकै चर्चित भयो । तितो सत्यले उनलाई हाँस्यकलाकार बनायो । सिरियल तितो सत्य बनाउनमा उनको पनि ठूलो योगदान छ । उनले तितो सत्य टेलिश्रृंखलाको व्यवस्थापनको काम पनि सम्हालेका थिए । उनी जोगी बाबा, मधेशी मुलका पात्र, मुर्खलगायतका भूमिकामा पनि देखा पर्थे ।  
यी बहुप्रतिभाशाली हाँस्यकलाकार गोपाल अधिकारी पनि अहिले अमेरिकामा छन् । उनलाई पनि हाँस्य क्षेत्रले अल्झाईराख्न सकेन । तितो सत्यमा ट्वाँकेन्द्रले यसो गर्यो, उसो गर्यो भन्ने चर्चा शुन्य भयो । उनी अमेरिकामा कस्तो संघर्ष गरिरहेका छन् ? उनीलाई नै थाहा होला । तर, नेपालमा भने उनको चर्चा पुरै सेलाएको छ ।

कुमार श्रेष्ठ

हाँस्य कला भएका हँसमुख कलाकार हुन् कुमार श्रेष्ठ । रेडियो प्रस्तोता हुँदै उनी हाँस्य टेलिश्रृंखला मेरी बास्सैसम्म पुगे । उनी मेरी बास्सैमा मुस्कान पासाको नातिको भूमिकामा देखिए । फर्सीलालको रुपमा छोटो समयमा नै चिनिए । सेन्स अफ ह्युमर भएका कलाकार हुन् कुमार । रेडियो अडियाको थुप्रै हाँस्यव्यंग्य कार्यक्रमबाट पनि उनी श्रोतामाँझ परिचित थिए । काभ्रेमा जन्मिएर काठमाण्डौमा संघर्ष गरिरहेका उनी सम्भावना बोकेका हाँस्यकलाकार थिए । 
उनलाई नेपाली हाँस्य व्यंग्य क्षेत्रले परिचय दियो । तर, यसै क्षेत्रमा क्रियाशील गराउन सकेन । उनी अहिले जापान पुगेका छन् । अध्ययनका लागि उनी जापान उडेका हुन् । अब केही वर्षमा फेरि स्वदेश फर्किएर हाँस्य क्षेत्रमा सक्रिय रहने उनको योजना छ ।

राज आचार्य

बाल्यकालदेखि नै तितो सत्यमा देखिएका कलाकार हुन् राज आचार्य । अहिलेसम्मकै लामो हाँस्य टेलिश्रृंखला तितो सत्यमा राजलाई निकै मन पराईएको थियो । उनी निर्देशक एवं कलाकार शंकर आचार्यका छोरा हुन् । तितो सत्यमा पनि उनी राजको रुपमा नै देखिएका थिए । बाल्यकालदेखि उनले आफ्नो किशोर अवस्थासम्म तितो सत्यलाई समय दिए । पढाई र अभिनयलाई सँगै अघि बढाएका उनले चलचित्रमा पनि खेल्न भ्याए । चलचित्र ‘लभ फरेभर’मा उनी देखिएका थिए । 
उनी अहिले भारतमा छन् । अभिनयलाई ब्रेक लगाउँदै उनी अध्ययनमा व्यस्त छन् । अध्ययन सकेर नेपाल फर्किएपछि फेरि अभिनयलाई निरन्तरता दिने सोच उनको छ । उनी बाध्यताले अभिनयदेखि टाढिएका हुन् ।

माम्पी घोस

पवनकलीको रुपमा परिचित थिईन् माम्पी घोस । कान्तिपुर टेलिभिजनमा कार्यक्रम पवनकली सञ्चालन गरेर उनी लोकप्रीय बनेकी थिईन् । पश्चीमी लवजमा बोलेर उनले सेलिब्रटीहरुसँग अन्र्तवार्ता गर्थिन् । रमाईला प्रश्नसँगै उनको बोलीले दर्शकलाई लठ्ठ बनाउँथ्यो । दर्शक हँसाउने खालका प्रश्नहरु नै उनको प्राथमिकतामा पर्ने गर्थे । हाँस्य व्यक्तित्वको रुपमा उनले आफ्नो छुट्टै पहिचान बनाएकी थिईन् । 
तर उनलाई पनि नेपालले राख्न सकेन । अमेरिकाले तान्यो । चर्चा र लोकप्रीयतासँगै उनका लागि धेरै सम्भावना र अवसरहरु नेपालमै सिर्जना भएका थिए । कान्तिपुरले मनोरञ्जन च्यानल कान्तिपुर गोल्ड सञ्चालन गरेपछि माम्पी घोस स्वदेश फर्कने चर्चा चल्यो । तर, त्यो चर्चामै सिमित रह्यो । अहिले माम्पी अमेरिकामै छिन् ।

रतन सुवेदी

काठमाडौंका स्थानीय बासिन्दा हुन् रतन सुवेदी । उनलाई खासगरी प्यारोडी गायका रुपमा चिनिन्छ । उनले गाएका कमेडी प्यारोडी गीतहरुले राम्रै चर्चा कमाएका थिए । गाईजात्रामा उनको चर्चा अझै बढी हुने गथ्र्यो ।  
व्यङग्यात्मक गीतहरुमा आवाज दिने रतन समसामायिक गीत र पप गीतहरु पनि गाउँथे । नेपालमा आफ्नो कलाबाट स्थापित भईसकेका रतनलाई पनि अमेरिकाले तान्यो । उनी अहिले अमेरिकामा छन् ।
Ujyaalo Online
- See more at: http://karnalikhabar.com/news/2017/02/02/48893.html#sthash.9Ykbl4O0.dpuf

No comments:

Post a Comment