Wednesday, 1 February 2017

नेपालीलाई धन्यवाद दिन’ तेरिया नेपाल आउँदै

अनिता भन्छिन्- छोरीको आमा हुनुमा गर्व छ


काठमाडौं ।

भारतको चर्चित टेलिभिजन शो ‘झलक दिखला जा’को उपाधी जित्न सफल तेरिया फौजामगर शुक्रबार साँझ नेपाल आउने भएकी छन् ।



आफूलाई अनलाइनन भोटिङ गरेर जिताउन सहयोग गर्ने नेपालीहरुलाई धन्यवाद दिन आफू नेपाल आउन लागेको उनले बताइन् ।

अनलाइनखबरसँग मुम्बईबाट कुरा गर्दै तेरियाले भनिन्, ‘मलाई झलक दिखला जामा जुन उपलब्धी हासिल भयो त्यसमा संसारभर रहेका नेपालीहरुको योगदान छ । त्यसैले मलाई मायाँ गर्ने र भोट गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्न नेपाल जाँदै छु ।’

यही माघ सात गते भएको फाइनल प्रतिस्पर्धामा अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै तेरियाले ३० लाख नगदसहित उपाधि जितेकी थिइन् ।

तेरियाकी आमा अनिता फौजामगरले नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार साँझ आमा-छोरी काठमाडौं आइपुग्ने बताइन् ।

‘परीक्षा नजिकिएकाले बसाईं छोटो, विशेष कार्यक्रम छैन’

तेरियाको सम्मानमा शुक्रबार तेरिया फाउण्डेसनले काठमाडौंमा एक कार्यक्रम गर्नेछ । सो कार्यक्रममा सहभागी भएपछि उनी आफ्नो गृहजिल्ला रुपन्देही जानेछिन् । रुपन्देहीमा पनि उनलाई स्वागतको तयारी भइरहेको तेरियाका हजुरबुवा कृष्णबहादुर फौजामगर बताए ।

तर, तेरियाको परीक्षा नजिकिएकाले छोटो विदा लिएर नेपाल आउन लागेको र विषेश कार्यक्रम नरहेको कृष्णबहादुरले अनलाइनखबरलाई बताए । ‘उनको बसाई नेपालमा धेरै छैन । परीक्षा आइरहेकाले दुई-तीन दिनमै फर्किहाल्छिन्,’ कृष्णबहादुरले भने, ‘ठूलो कार्यक्रम गर्ने योजना छैन । उनी नेपालीहरुलाई धन्यवाद दिनमात्रै आउन लागेकी हुन् ।’

६५ वर्षीय कृष्णबहादुरले नातिनीको सफलताबाट आफूमा खुसीको सीमा नै नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘खुसीको त कुरै नगर्नुस् । कुनै सीमा नै छैन । म नातिनीलाई स्वागत गर्न एकदम आतुर छु ।’

छोरीको आमा हुनुमा मलाई गर्व छः अनिता

१४ वर्षीया तेरिया हाल बुवा विजय फौजामगर र आमा अनिताको साथमा मुम्बईमा बस्छिन् । उनी भासीस्थित सेन्ट लरेन्स विद्यालयमा कक्षा आठमा अध्ययनरत छिन् । सो विद्यालयको भारतभर दर्जनौं शाखा छन् । विद्यालयका सबै शाखाहरुले टेरियालाई विजयी गराउन अभियान सञ्चालन गरेका थिए । तेरियाको पछिल्लो सफलतालगत्तै उनी पढ्ने विद्यालयको शाखाहरुमा खुसियाली छाएको थियो । अघिल्लो हप्ता विद्यालयले एक भव्य कार्यक्रम गरी बधाई कार्यक्रम आयोजना गरेको थियो ।

तेरियाकी आमा अनिताले अनलाइनखबरसँग भनिन्, ‘ढोल बजाएर विद्यालय प्रांगणमा सम्मान गरिँदा म निकै भावुक भएँ ।’

तेरियाको सफलतामा नेपालीका साथै भारतभरका उनको पुस्ताका विद्यार्थीहरुको पनि महत्वपूर्ण योगदान रहेको अनिताले बताइन् ।

उनले भनिन्, ‘म तेरियाको आमा हुनुमा गौरव गर्छु र छोरीको यो सफलतामा साथ दिने सबैप्रति आभारी छु ।’

Online Khabar

No comments:

Post a Comment