बाहुबली’को आश्चर्यजनक सफलताले फिल्मको दोश्रो श्रृखंला यस वर्षको सर्वाधिक प्रतिक्षित फिल्म बनिसकेको छ। भारतीय संचारमाध्यमहरूका अनुसार अप्रिल २८ तारीखमा रिलिज हुने यस फिल्मले रिलिज अगाडी नै करिब ५०० करोड भारू अर्थात ८०० करोड नेपाली रूपैयाँ कमाइ गरिसकेको जनाएका छन्।
फिल्मले यति ठूलो रकम फिल्मको हल वितरण अधिकार र स्याटेलाइट बेचेर कमाइसकेको उनीहरूले जनाएका छन्। फिल्मका लागि सिनेमाहलहरूले १३४.४७ करोड भारू फिल्मलाई बुझाइसकेको बताइन्छ।
दक्षिण भारतीय फिल्मको व्यापारलाई नजिकबाट नियाल्ने गरेका रमेश बालाले ट्विट गर्दै यस्तो बताएका हुन्। फिल्मको सेटेलाइट अधिकार सोनी टिभीले करिब ५१ करोड भारू किनेको छ। उसले यो अधिकार फिल्मको हिन्दी भाषाका लागि मात्र खरिद गरेको हो। सोनीले कुनै पनि क्षेत्रिय भाषाको फिल्मका लागि यति ठूलो धनराशी खर्च गरेको पहिलो पटक हो। अन्य क्षेत्रिय भाषाका टिभीहरूबाट पनि यसले मोटो कमाइ गर्ने अनुमान गरिएको छ।
पहिलो श्रृखंलाले सेटेलाइट अधिकारबाट ४५ करोड भारू हात पारेको थियो भने विश्वव्यापी रूपमा फिल्मले ६०० करोड आफ्नो खातामा जम्मा पार्न सफल थियो। १०० करोडको बिन्दु पार गर्दै फिल्मले हिन्दी भाषामा डब भएर सो कमाइ पार गर्ने पहिलो कुनै क्षेत्रिय भाषाको फिल्म बनेको थियो।
प्रभाष, अनुष्का शेट्टी, राना दग्गुबत्ती, तमन्ना भाटियाको मुख्य भूमिका रहेको फिल्मको पहिलो भागले छाडेको ‘बाहुबलीलाई कटप्पाले किन मार्यो?’ भन्ने प्रश्नले पनि दर्शकलाई फिल्म विशेष बनेको अनुमान लगाइदै आइएको छ।
No comments:
Post a Comment