Wednesday, 1 February 2017

आठ लाख तिरेर यूएई पुगेका १२४ सुरक्षागार्ड कामविहीन, जानेहरू अधिकांश पूर्वसैनिक र प्रहरी -


काठमाडौँ, २० माघ – आठ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएर संयुक्त अरब इमिरेट्स (यूएई)  पुगेका १ सय २४ नेपाली सुरक्षागार्डले ९ महिनादेखि काम पाएका छैनन् । कम्पनीले काम दिन नसक्ने भएपछि उनीहरू नेपाल फर्कने भएका छन्।

वैदेशिक रोजगारमा जाने कामदारका लागि लागत खर्च निस्शुल्क भए पनि म्यानपावर कम्पनीहरूले आकर्षक तलब र सेवासुविधा देखाएपछि उनीहरू ८ लाख रुपैयाँसम्म बुझाएर यूएई पुगेका हुन्। यूएईको अर्धसरकारी कम्पनीको अवसर पाउने भएपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको जागिर छाडेर उनीहरू हमाय सेक्युरिटी सर्भिस कम्पनीमा काम गर्न गएका थिए।

कम्पनीले मासिक ४ हजार दिराम (एक लाख २० हजार रुपैयाँ) सम्म तलब दिने भनेपछि उनीहरूले म्यानपावरलाई मागे जति रकम बुझाएका हुन्। कम्पनीले काम दिन नसकेपछि स्वदेश फिर्ता गर्ने तयारी गरेको छ। ’कम्पनीले नयाँ प्रोजेक्ट नपाएपछि नेपालीले काम पाउन नसकेका हुन्,’ यूएईका लागि नेपाली श्रम सहचारी भेषबहादुर कार्कीले कान्तिपुरसित भने, ’पीडित कामदारलाई काम दिलाउन दूतावासका तर्फबाट निरन्तर प्रयास भइरहेको छ।’

पीडितहरू समस्या समाधानका लागि दुई सातादेखि दूतावास धाइरहेका छन्। काम नपाउनेमा मोरक्को र युगान्डाका थप एक सय २५ नागरिकसमेत छन्। ’हामीलाई तालिम गराएर आबुधाबीको वर्कर सिटीमा राखिएको महिनौं भइसक्यो,’ पीडित धीरज रानाभाटले भने, ’खाना र बस्न कम्पनीले उपलब्ध गराएको छ। काम दिएको छैन।’

फसेका कामदारमध्ये एसआरएस म्यानपावरले ५४, सुमेरा नेपालले २४ र अल सेक्युअर म्यानपावरले ९ कामदार पठाएका हुन्। त्यसबाहेक ३७ जनालाई श्रम स्वीकृति नलिई दुबईमा रहेको ग्लोबल एजेन्सीले भिजिट भिसामा अवैध रूपमा ल्याएको थियो। भिजिट भिसामा जानेहरूले थप रकम बुझाउनुपरेको आजको कान्तिपुर दैनिकमा खबर छ।


No comments:

Post a Comment