Thursday, 2 February 2017

मेलम्चीको सुरूङमा चुनौती नै चुनौती, असोजमा पानी आउनेमा आशंका -


मेलम्ची खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा देखिएको जटिलताले बहुप्रतिक्षित मेलम्ची खानेपानीको निर्माण सम्पन्न समयमै हुनेमा आशंका उब्जिएको छ। आयोजनाको छब्बीस किलोमिटर सुरूङमध्ये अब पाँच किलोमिटर सुरूङ पुरा गर्न बाँकी छ। तर, यस बिचमा सुरूङ खन्ने क्रममा खराब चट्टानका कारणले तोकिएको समयमा तोकिएको दूरी पुरा गर्न नसकेको मेलम्ची खानेपानी आयोजनाले बताएको छ।

बाँकि ५ किमी सुरूङ खन्ने क्रममा खराब चट्टान भेटिएकाले जुन गतिमा काम हुनुपर्ने हो त्यो हुन नसकेको आयोजनाले बताएको छ। आगामी असोजमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउने योजनासहित रात दिन खटेर निर्माण कार्यलाई तिब्रता दिए पनि सुरूङ खन्ने क्रममा भेटिएको खराब चट्टानले बाँकि रहेको आठ महिनाको अवधिमा निर्माण पूरा हुनेमा आशंका उत्पन्न भएको सुरूङ खन्ने काममा खटिएका एक कर्मचारीले सेतोपाटीलाई जानकारी दिए।

निर्धारित समयमा पानी राजधानी ल्याउने हो भने अबको पाँच महिनाभित्र सुरूङ खन्ने काम सकिसक्नुपर्ने हुन्छ। बाँकि तीन महिना सुरूङको फिनिसिङ गर्न लाग्ने ती कर्मचारीले बताए। ‘हामीले निर्धारित समयमा काम सक्ने हो भने अबको ५ महिनाभित्र सुरूङ खन्ने काम सक्नुपर्नेछ। तीन महिना त हामीलाई सुरूङको ‘फिनीसीङ’ गर्नै लाग्छ,’ ती कर्मचारीले सेतोपाटीसँग भने, ‘सुरूङ खन्ने काम अहिले जुन गतिमा भइरहेको छ यो गतिले पाँच महिनामा काम सकिन्न।’ पाँच महिनामा सुरूङ खनेर सक्न महिनामा कम्तिमा एक किलोमिटर सुरूङ खन्नुपर्छ।

तर आयोजनको इतिहासमा एक पटक मात्रै एक महिनामा एक किलोमिटर सुरूङ खन्न सकिएको आयोजना स्रोतले बतायो। अहिलेको गति अनुसार काम गर्ने हो भने महिनामा बढीमा ६ सय मिटर मात्रै सुरूङ खन्न सकिन्छ। यदी यो गतिमा काम भयो भने सुरूङ खनेर सक्न मात्रै झण्डै आठ महिना लाग्छ। त्यो अवस्थामा मेलम्चीको पानी आउन अरू थप एक वर्ष लाग्न सक्ने आयोजनामा काम गरिरहेका एक वरिष्ठ इन्जिनियरले सेतोपाटीलाई बताए।

यस्ता छन् अहिलेको प्रमुख चुनौती

पाँच किलोमिटरको लागि अहिले चार ठाउँबाट सुरूङ खन्ने काम भइरहेको छ। सिन्धुदेखि ग्यालथुमसम्मको पच्चीस सय मिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको पच्चीस सय मिटरमा सुरूङ खन्ने काम भइरहेको छ। अम्बाथानदेखि ग्यालथुम र ग्यालथुमदेखि अम्बाथानसम्म दुवैतिर चार मिटरको दरले दैनिक सुरुङ खन्ने काम भइरहेको छ।

सिन्धुदेखि ग्यालथुमसम्मको खण्डमा दैनिक साढे दुई मिटरको दरले मात्रै सुरुङ खन्ने काम भएको छ। ग्यालथुम देखि सिन्धुसम्मको खण्डमा दैनिक तीन मिटरको दरले सुरुङ खन्ने काम भइरहेको छ। यो मध्येमा सबैभन्दा ठूलो चुनौती सिन्धुदेखि ग्यालथुमसम्मको खण्डमा छ। यो खण्डमा खराब चट्टान आउने क्रम अझै रोकिएको छैन। त्यसैले हुनुपर्ने काम भइरहेको छैन।

के हुन सक्छ समाधान ?

सुरूङ खन्ने कामको लागि धेरै जनशक्ती भएर मात्रै हुँदैन। यसको लागि प्रविधिको सबैभन्दा ठूलो भूमिका हुन्छ। सुरूङ खन्ने काममा प्रयोग भएका मेसिनलाई ‘कण्डीशन’मा राख्न जरूरी हुने ती इन्जिनियरले बताए। यसका लागि मेशीनका ‘पाटपूर्जा’हरू बिग्रीएमा त्यसलाई समयमा नै बनाउनुपर्छ।

आवश्यक पर्‍यो भने नयाँ र आधुनिक प्रविधि समेत ल्याउन सकेमा भने मासिक एक किलोमिटर सुरूङ खन्न सकिन्छ। यसका लागि सरकारी तहबाटै समयमै अग्रसरता लिनुपर्ने श्रोतले बतायो। ठेकेदार कम्पनीले साउनभित्र सुरूङ खन्ने काम सक्ने बताए पनि त्यो अनुपातमा काम भएको छैन।

Seto Patiबाट


No comments:

Post a Comment