Sunday, 5 February 2017

सात बर्षपछि साउदीको जेलबाट बाँचेर आउदा बाबाआमा बितिसक्नु भएछ,श्रीमती अर्कैसंग गएछ...


मलाई ब्लक नम्बर १२ मा राखिएको थियो। त्यो मान्छे काट्ने ब्लक रहेछ। त्यहाँबाट प्रत्येक दिन कैदीहरूलाई लगेर काटिँदो रहेछ। हाम्रो ब्लकबाट ७५-८० जना कैदीलाई लगेर काट्यो। १२ नम्बर ब्लकबाट बाँचेर जाने मान्छे कमै हुँदा रहेछन्।
कुनै बेला मुग्लान अर्थात् भारतमा श्रम गर्न जाने नेपालीहरू आज खाडी मुलुकमा गइरहेका छन्। हरियो राहदानी बोकेको लस्कर देखिनु अनौठो हुन छाडेको छ। गरिबीबाट छुटकारा पाउने सपना सजाएर विदेशिएकामध्ये कयौं सफल भएका छन् भने कयौं असफल।
त्यस्तै असफल हुनेमध्ये हुन्– भोजपुरका श्रीकुमार राई र बिराटनगरका भिमप्रसाद चिमोरिया। सात वर्षसम्म अनाहकमा साउदी जेलमा सजाय भोगेका १० जनालाई नेपाल सरकारले अघिल्लो साता फिर्ता ल्याएको थियो। साउदी जेलबाट छुटेपछि उनीहरूले प्रधानमन्त्रीसँग भेटेर जीवनरक्षाको राहत मागेका थिए। तिनै १० मध्येका दुई राई र चिमोरियासँग नेपालखबरले गरेको कुराकानीको सम्पादित अंशः
सपना सपनामै सीमित भयो: श्रीकुमार राई
मेरो नाम श्री कुमार राई। मेरो घर भोजपुर जिल्ला पर्छ। बिहे गरेको १ वर्षपछि नै म ऋण गरेर २००९ मा साउदी गएँ। साउदीको सनिया भन्ने ठाउँमा केचव (टमाटर सस्) बनाउने काम पाएँ। त्यही काम गर्न थालेँ। त्यसबेला मनमा आशा थियो। पैसा कमाएर परिवारको दुःख टार्छु भन्ने ठूलो सपना थियो।
दिनहरू राम्रै बित्दै थियो। तर, त्यसदिन नसोचेको घटना भयो। म त टिभी हेरिरहेको थिएँ। राति १०/११ बजेको हुँदो हो। एक्कासी हामी बस्ने कोठामा सेतो कपडा लगाएका मान्छेहरू आए। उनीहरू पुलिस रहेछन्।
हामी एकै ठाउँ १५/२० जना थियौं। त्यसमध्ये मधेसतिरका साथीहरू पनि थिए। हामीलाई च्यापच्युप समाएर प्रहरी कस्टडीमा ल्याए।
त्यसपछि धेरै नै यातना थियो। पाइपले पिट्यो। करेन्ट लगाएर यातना दियो। पानी, कोल्ड ड्रिङ्क्सहरू खुवाउँदै पिट्यो। कुट्दा कुट्दै बेहोस हुन्थेँ। ७/८ घन्टापछि जब ब्युँझिन्थे फेरि कुट्न थाल्थ्यो। पानी छ्याप्दै कुट्थ्यो। त्यो बेला कुटेको सम्झिँदा अहिले पनि डर लाग्छ। अहिले जिउ राम्रो चल्दैन। शरिर पुरै बिग्रिएको छ। ज्यान धेरै कमजोर भइसकेको छ। दुई किलोमिटर पनि अहिले हिँड्न सकिदैन। लगातार ३ महिना २० दिन कुट्यो। २१ औं दिनको दिन सेन्टर जेलमा लग्यो।
‘आँखैअगाडि मान्छे काट्थ्यो’
सेन्टर जेलमा लगेपछि कुटाइ कम भयो। अरु पनि नेपाली साथीहरूसँग भेट भयो। नेपाली साथी भेटिएपछि अलिकति शान्त त भयो मन। तर, मानसिक यातना भने झनै बढेर गयो। मलाई ब्लक नम्बर १२ मा राखेको थियो। त्यो मान्छे काट्ने ब्लक रहेछ। त्यहाँबाट प्रत्येक दिन जसो कैदीहरूलाई लगेर काट्दो रहेछ। दशैंलाई बोका पर्साएर राखे जसरी मान्छेहरूलाई राखिँदो रहेछ। हाम्रै ब्लकबाट ७५/८० जना कैदीलाई लगेर काट्यो। अरु ब्लकबाट दिनहुँ मान्छेहरू लगेर काट्थ्यो। १२ नम्बर ब्लकबाट बाँचेर जाने मान्छे कमै हुँदा रहेछन्।
सँगै सुतेको साथी भोली पल्ट ब्युँझदा हुँदैन थियो। सँगै गफ गरिरहेको साथी कुन चाहिँलाई कतिखेर लान्छ भन्ने भन्न सकिन्न थियो। प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म हाम्रो मन ढुकढुक हुन्थ्यो। हामी चुपचाप ढोकाको चेपमा बसेर हेरिरहन्थ्यौं। उसलाई लान्छ कि यसलाई लान्छ कि जस्तो भएर बस्थ्यौं। एक जना कैदीलाई लानु पर्यो भने करिब २ सयको संख्यामा पुलिसहरू आउँथे। कति जनालाई लगेर मेरै आँखा अगाडि काट्यो। ८ बजेपछि थोरै ढुक्क हुन्थेँ। आजको दिन त बाँचे भन्ने जस्तो हुन्थ्यो।
सात वर्षसम्म घाम त के आकाशसम्म हेर्न पाएनौं। चार दिवारभित्र थुनिएको थिएँ। जेलमा बसेर घर धेरै सम्झिएँ। तर केही पनि उपाय थिएन। हामीलाई भेट्न कोही आइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर कोही पनि भेट्न आउँदैनथ्यो।
एकजना भारतीय नागरिकको हत्या गरेको अभियोगमा मलाई जेलमा राखिएको थियो। तर मर्ने मान्छेलाई मैले चिनेकोसम्म छैन। उनको नाम पनि जेलमा आएर थाहा पाएँ। अनाहकमा थुनिएको थिएँ म। नेपाली दूतावासका कर्मचारी हाम्रो बारेमा थाहा पाए पनि केही नगरी फर्कन्थे। भोली तिमीहरूको सुनुवाइ हुँदैछ भनेर हामीलाई राति ८ बजेतिर खबर गरिन्थ्यो। त्यसपछि दूतावासमा खबर गर्दा दूतावासका कर्मचारीले उल्टै गाली गर्थे।
घरमा आइपुग्दा घरै रित्तो
सात वर्षपछि अन्ततः दूताबासकै सहयोगमा म जेलबाट मुक्त भएँ। त्यसपछि सरासर घर आएँ। तर, घर घर जस्तो थिएन। घर त रित्तो थियो। सून्य थियो। घरमा कोही पनि थिएन। आगनमा झार उम्रेको थियो। आमा (डम्बरकुमारी) राई म जेल परेको पहिलो वर्षमै बितिसक्नु भएछ। आमा बितेको ६/७ महिनापछि बुवा (अम्बरबहादुर राई) बित्नु भएछ। बुवा ५५ वर्षको हुनुहुन्थ्यो। रोग त केही पनि थिएन। पिरैपिरमा बित्नु भएछ। के पो दबाइ खाएर मर्नु भएको रे भनेर गाउँलेहरूले मलाई सुनाए।
त्यसपछि थाहा पाएँ, श्रीमतीले पनि मलाई छाडेर गइछिन्। लभ गरेर बिहे गरेको थिएँ मैले। बिहे गरेको १ वर्षमै विदेश गएको थिएँ। उसले पनि छाडेर गइछे। मन त रोयो नै। रोएर के गर्नु अब।
भाइहरू बुवा आमा बितेपछि छुट्टिएर बसेछन्। मेरो त आशै मारिसकेछन्। अहिले मेरो कोही पनि छैन। ७ वर्ष अघिको ऋण जस्ताको तस्तै छ। अब बुवाको अंश बेचेर तिर्नु पर्ला। बाँच्नै पर्यो। खेती गर्न त सकिँदैन होला। सरकारले केही गरिदिन्छ कि भन्ने आश छ।
भीमप्रसाद चिमोरिया
मेरो नाम भीम प्रसाद चिमोरिया हो घर बिराटनगर ५ मा पर्छ। घरमा बुवा आमा भाइ बहिनी हुनुहुन्छ। मैले बिहे गरेको छैन। पारिवारिक समस्याले गाँजेपछि २००७ मा साउदी गएको हुँ। यता राम्रै काम थियो। अलि बढि कमाउन सकिन्छ कि भनेर गएको थिएँ। दुई अढाइ वर्षसम्म त राम्रै भयो। काम सकेर नेपाल फर्कने तरखरमा थिएँ। म केही दिनमै नेपाल उड्दै थिएँ। इन्डियनलाई मारेको अभियोगमा भटाभट नेपालीहरूलाई पक्राउ गर्न थाल्यो। त्यसबेला ३५० जना भन्दा बढि नेपालीलाई साउदीको प्रहरीले समायो। त्यसै क्रममा म पनि परेँ। मलाई रुमबाटै समायो।
पक्राउ गरेर तीन महिना काल कोठरीमा राखेर धेरै नै यातना दियो। पाइपले हान्थ्यो। बिजुलीको मोटो मोटो तारले पिट्थ्यो। करेन्ट लगाइदिन्थ्यो। पटक पटक बेहोस हुन्थेँ। बेहोस भएर होसमा आएपछि ‘हो भन्, अपराध कबुल गर्’ भन्थ्यो। पिटाइले कानबाट रगत चुहिन्थ्यो मेरो। अहिले पनि जुत्ता लगाउन हुँदैन। खुट्टा अझै पनि सुनिएको छ। अलिकति पनि हिँड्न सकिदैन। पूरै जिउ नै केटाकेटीको जस्तो भएको छ। सात वर्षसम्म घाम देख्न पाइएन। अँध्यारो कोठामा मधुरो बत्ति बलेको ठाउँमा राख्यो। बाराम्बार कुटेर घटनालाई स्वीकार भन्थ्यो। त्यो यातनाले अहिले पनि कतै मोटो तार देख्यो भने साउदीको याद आउँछ। झस्काइरहन्छ।
तीन महिनापछि सेन्टर जेल चलान गरिदियो। जेलमा थोरै मुक्ति त मिल्यो तर त्रास भने सयौं गुणा बढायो। त्रास नै त्रासमा दिनहरू बित्न थाल्यो। म पनि १२ नम्बर ब्लकमै थिएँ। त्यहाँबाट मान्छे लगेर काट्दो रहेछ।
जेलको अवस्था राम्रो थिएन। बिहान बेलुकी एक एक वटा रोटी र दिउँसो थोरै भात दिन्थ्यो। घाम देख्ने कुरै भएन। सानो प्यासेज थियो बाहिर निस्कने ठाउँ। अँध्यारो कालकोठरीभित्रै बिताएँ सात वर्ष।
एउटा टुहुरोको लास बेपत्ता भयो
एकजना साथी मसँगै बस्थ्यो। उनको नाम उमेश श्रेष्ठ हो। उनको घर सुनसरी हो। हामी २ वर्षसँगै बस्यौं। उसको नेपालमा कोही पनि छैन। उ टुहुरो मान्छे थियो। धेरै नै यातना दिएपछि उसको मानसिक अवस्था बिग्रिएको थियो। उ कैदीलाई पिट्न जाइ लाग्थ्यो। नबोली चुपचाप कुनामा एक्लै बस्थ्यो। दुई तीन दिनसम्म खानै खाँदैन थियो। उसको अवस्था नाजुक हुँदै गएपछि हामीले जेल प्रशासनलाई उसको उपचारको लागि धेरै पटक भन्यौं। बल्लबल्ल जेल प्रशासनले उसलाई अस्पताल त भर्ना गर्यो तर ऊ कहिल्यै फर्केर आएन।
आज आउला, भोलि आउला भन्दाभन्दै धेरै महिना बित्यो। हामीले सोध खोज गर्यौँ। हाम्रो मान्छे कहाँ छ? भन्दै उनीहरूलाई सोधिरह्यौं। तर कसैले पनि भन्दैन थिए। करिब २ वर्ष बितेपछि बल्ल जेलरले हामीलाई उ मरिसकेको जानकारी दियो।
यो मान्छे मरेको हो भन्ने खबर हामीलाई पहिल्यै किन भएन? दूतावासलाई किन खबर भएन भनेर हामीले सोध्यौं। जेलरले भोलिपल्ट उसको नाइकेलाई बोलाएर ल्यायो। उसले पनि त्यो मान्छे मरिसकेको बतायो। त्यो साथीको लास कहाँ छ कसैलाई थाहा छैन। अहिलेसम्म नेपाल पनि आएको छैन। त्यो कुरा हामीले प्रधानमन्त्रीलाई पनि भन्यौँ।
दूतावासको सहयोगमा हामी १० जना जेल मुक्त भयौं। तर अब के गर्ने कुनै योजना छैन। भारी काम गर्न पनि सकिँदैन। सरकारले केही गरिदिन्छ कि भन्ने आशा छ।
साउदी जेलबाट छुटेका ११ जना नेपाली युवा प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा
साउदी जेलबाट छुटेका ११ जना नेपाली युवा प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा
दूतावासबाटै दूर्व्यवहार भोग्यौँ
दूतावासले राम्रोसँग हेरेको भए हामी अनाहकमा सात वर्ष जेल बस्नु पर्ने थिएन। दूतावासले हेर्दै हेरेन। त्यहाँका कर्मचारीहरूले दुव्र्यवहार गरे। जेलबाट हामीले फोन गर्दा हामीलाई उल्टै गाली दिन्थे। ‘राति राति फोन गर्छस्’ भनेर थर्काउँथे। हामीलाई त हामी जस्तै आपतमा परेको नेपालीलाई सहयोग गर्न दूतावास त्यहाँ गएको हो भन्ने लाग्थ्यो। तर हामीलाई लाग्यो दूतावासका कर्मचारीहरू त्यहाँ मोज गर्न गएका हुन्।
हामीले यो कुरा पहिला बुझेनौं। अब लाग्दैछ– कोही नेपालीहरू वैदेशिक रोजगारीमा जान नपरोस्। विदेश नजानु नै सबैभन्दा राम्रो। आफ्नै देशमा केही गरौं। कुनै पनि काम गर्न नलजाऊँ। विदेशमा पैसाको बोट छैन। त्यहाँपनि श्रम नै गर्ने हो। त्यसकारण नेपालमै राम्रो गर्न सकिन्छ। यदि जाने नै हो भने कम्पनी, तलब राम्रोसँग बुझेर जाऊँ। राम्रो सिप सिकेर जाऊँ।
अमेरिका नेपालको सहयोगमा


No comments:

Post a Comment