Wednesday 1 February 2017
मान्छेको सबैभन्दा पुरानो पुर्खा, ‘स्याकोराइटस’
ज्ञानिकहरुले सोमबार मानिसको सबैभन्दा प्राचीन पुर्खा फेला पारेको घोषणा गरेका छन्। ५४ करोड वर्षअघिको ‘स्याकोराइटस’ नामक एक जीव हालसम्म थाहा भएमध्येको मानिसको सबैभन्दा प्राचीन पुर्खा रहेको वैज्ञानिकहरुको मत छ।
हेर्दा झोलाजस्तो शरीर र शरीरको अनुपातमा असाध्यै ठूलो मुख भएको यो जीव खासमा सुन्दर छैन। त्यसैले यस जीवको नाम ग्रीक भाषामा ‘चाउरी परेको झोला’ अर्थ लाग्ने स्याकोराइटस दिइएको छ।
मध्य चीनको सान्सी प्रान्तमा ४० स्याकोराइटसको अवशेष फेला परेको थियो। स्याकोराइटस ‘ड्युटरोस्टोम्स’ नामक श्रेणीको जीव हो। यो श्रेणीका जीव ढाड भएका प्रजातिका जीवहरुको पुर्खा हो। यही जीवका सन्तान माछा हुँदै मानिससम्म आइपुगेको वैज्ञानिकहरुको ठहर छ। ढाड भएका जनावरहको पुर्खा मानिने माछा मात्रै एकदेखि डेढ करोड वर्षपहिले अस्तित्वमा आएको थियो।
स्याकोराइटस आकारमा करिब एक मिलिमिटरको रहेको र समुद्रको पिँधमा बालुवाको कणमा बस्ने गरेको जनाइएको छ। स्याकोराइटसको शरीरमा एउटा मात्र छिद्र हुने र उसले सोही छिद्रबाट खाने र उत्सर्जन गर्ने अनुमान वैज्ञानिकहरुको छ।
बेलायत, चीन र जर्मनीका वैज्ञानिकहरुले संयुक्त रुपमा यस जीवका बारेमा अध्ययन गरेका थिए।
जीवाश्मको अाधारमा तयार गरिएको स्याकोराइटसको नमूना
जीवाश्मको अाधारमा तयार गरिएको स्याकोराइटसको नमूना
‘नांगो आँखाले हेर्दा त्यो जीव सानो कालो दानाजस्तो थियो तर सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा त्यसको विवरण गजबको थियो,’ अनुसन्धानकर्तामध्ये एक युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक साइमन कोनवे मोरिसलाई बिबिसीले उद्धृत गरेको छ।।
‘प्राचीन ड्युटरोस्टोम श्रेणीको जीवको रुपमा यही जीवबाट थुप्रै प्रजातिका जनावरहरुको विकास भएको हामीलाई लाग्छ। सबै ड्युटरोस्टोम्स का पुर्खा एउटै जीव थियो र हामीलाई लाग्छ, यो त्यही हो,’ उनले थपे
चीनको सान्सी प्रान्तस्थित नर्थवेस्ट युनिभर्सिटीका प्राध्यापक देगान सु भन्छन्, ‘माछा हुँदै हामीसम्म आइपुगेको यो जीवले उद्विकासको सुरुवाती चरणका बारेमा महत्वपूर्ण जानकारी दिन्छ।’
अहिलेसम्म फेला परेका ड्युटरोस्टोम श्रेणीका जीव ५१ देखि ५२ करोड वर्षअघिका मात्रै थिए। त्यस समयमा समुद्री जीवहरुमा धेरै विविधता आइसकेको थियो। तिनीहरुको आकारमा व्यापक भिन्नता भएकोले वैज्ञानिकहरुलाई ती जीवका पुर्खा एउटै होला भन्ने कुरा पत्याउन गाह्रो भएको थियो। यो जीवको शरीर पनि समरुपी (विपरीत अंगहरु उस्तै) रहेको हुनाले मानवसहित यसका सन्ततिले पनि त्यही गुण ग्रहण गरेको निश्कर्षमा वैज्ञानिकहरु पुगेका छन्।
स्याकोराइटस पातलो र नरम छाला तथा मांसपेशीले जेलिएको थियो र वैज्ञानिकहरुका अनुसार यसले सोही मांसपेशीलाई चलाएर अघिपछि सर्दथ्यो।
अनुसन्धानकर्ताहरुका अनुसार यसको सबैभन्दा गज्जबको विशेषता भनेको शरीरको तुलनामा यसको ठूलो मुख हो। यसले सम्भवतः अन्य जीवलाई समेत भोजनका रुपमा निल्ने गर्दथ्यो।
यस जीवको शरीरमा सानासाना चुच्चाहरु थिए, जसले निलेको पानीबाट बच्न सो जीवलाई सहयोग गरेको अनुमान वैज्ञानिकहरुले गरेका छन्। त्यही पछि विकसित भएर माछाहरुमा फुल्का (गिल्स) बनेको वैज्ञानिकहरुको मत छ।
सो अनुसन्धानको रिपोर्ट नेचर नामक जर्नलमा प्रकाशित भएको छ। एजेन्सी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment