Wednesday, 1 February 2017

श्रीमानले छोडेपछि इण्डोनेशियाली महिलाको नेपालमा बिजोक -

नेपाली केटासंग विवाह बन्धनमा बाँधिएको दशौं बर्षगाँठ बनाउनु पर्ने बेलामा इन्डोनेशियाली महिला तिती इस्टयानी अहिले घरको न घाटकी भएकी छिन् । उनका पति  सप्तरी जिल्ला हरिहरपुर गाविस–३ का संजीव चौधरीसँगको बैवाहिक जीवन सहज नभए पछि उनी यो अबस्थामा पुगेकी हुन ।

तितीको सन् २००७ जनवरीमा संजीबसँग मुस्लिम परम्परा अनुसार इन्डोनेसियामा विवाह भएको थियो । दुबैका दुई छोरीहरू जनकपुरको निजी विद्यालयमा अध्ययन गर्दैछन् । तितीलाई संजीवका अभिभावकले घरबाट निकाली दिएका छन् ।
उनले प्रहरी प्रशासन गुहारेको धेरै पटक भयो तर न्याय पाइकी छैनन् । विदेशी महिलालाई विवाह गरेर नेपाल ल्याएपछि संजीवले सप्तरीमा विवाह दर्ता गरेर तितीको नाम परिवर्तन गरी सन्जना चौधरी बनाइएको छ । सन्जनासंग अहिले संजीव चौधरी पति भएको नेपाली नागरिकता र विवाह दर्ता प्रमाण पत्र मात्र छ, पति र उनको परिवारको साथ छैन ।

डीसी नेपाल डटकमसंग कुरा गर्दै तितीले भनिन्, ‘न्याय पाउन प्रशासनमा धेरै धाँए । सबैले तपाईसंग नागरिकता छ, विवाह दर्ता छ अंश पाउनु हुन्छ भन्छन् तर पतिसंग मिलाउने, भेटाउने कुरा कसैले गर्दैनन् ।’ उनलाई नेपालको नियम थाहा छैन् । नियम थाहा पाउनेहरूले विदेशी महिला भएकै कारण सहयोग गरिरहेका छैनन् ।

उनका जोठी छोरी एक जना कक्ष चार र अर्की कक्षा एकमा पडदै छन् ।  कसरी खर्च चलेको छ भन्ने जिज्ञासमा तिती भन्छिन अहिले कतै काम गरेकी छैन । कामका लागि कुरा आई रहेको छ मिल्यो भने एक हप्ता पछि काम शुरु गर्छु ।
उनले आफूलाई माइत जाने इच्छा भएको र माइतीबाट बोलावट भए पनि दुई छोरी लान कानुनी समस्या हुने भएकाले छोरीहरूलाई छाडेर आफू जना नसकेको जनपुरबाट फोनमा डीसी नेपाललाई बताइन । अहिले उनका पति नेपालगंजमा रहेको स्थानीयले बताए पनि तितीभने बेखबर छिन् ।

संजीसँग विवाह बन्धनमा बाँधिनु अघि इन्डोनेसियाली महिला तीती इस्टयानी सन् १९९२ देखी २००९ सालसम्म १६ वर्ष मलेसियामा बिताएकी थिइन् । मलेसियामा तिति घरेलु कामदारको रुपमा एउटा सेठको घरमा काम गर्दै थिईन । नजिकैको अर्को कम्पनीमा उनका धेरै साथीहरु थिए । त्यही कम्पनीमा नेपालबाट सन् २००६ मा चार÷ जना नेपाली गए । नेपाली कम्पनीमा आएको दिन नै साथीहरुको आग्रहमा तिति पनि तिनीहरुलाई हेर्न त्यो कम्पनीमा गएकी थिइन् । पहिलो दिन नेपालीहरुसँग समान्य परिचय भयो । केही महिना बित्यो ।

तिती उर्फ सन्जना चौधरीले पुरानो कुरा संझना गर्दै भनिन, ‘मेरो एक साथीले संजिव चौधरीसँग फोनमा कुराकानी गराएका थिए ।’  दुवैजनाको कुराकानी विस्तारै प्रेममा परिणत भएको थियो ।  तिती मुस्लिम समुदायकी युवती थिइन् । प्रेम भएको एक वर्ष नबित्दै दुवैजनाले विवाह गर्ने निधो गरे । विवाह गर्नकै लागि  तिती र संजिव सन् २००६ डिसेम्बर महिनामा इन्डोनेसिया गए । तितीको माइतीमा संजिवलाई धर्म परिवर्तन गराएर मुस्लमान बनाएर सन् २००७ जनवरीमा दुवैको विवाह भयो ।

विवाहको बेला इन्डोनेसियालीहरूले संजिवको मुस्लिम नाम सरिफ ओमर अब्दुला खारिदिए । पति संजीव र पत्नी तितीले दुई महिना उतै बिताए । संजिव मलेसिया फर्किए र तिती इन्डोनेसियामा नै बसिन । विवाहको नौ महिना पछि तितीले इन्डोनेसियामा सन् २००७ सेप्टेम्बर २९ मा  छोरी जन्माइन ।



छोरी चार महिनाको भएपछि तिती संजिवलाई भेट्न मलेसिया पुगिन । तिती, छोरी र संजीव दुई महिना मलेसियामा सँगै बसे । फेरि तिति छोरीसँगै इन्डोनेसिया फर्किइन र दोस्रो पटक १४ महिनामा पछि मलेसिया आई पति संजीवसंग छोरीलाई लिएर सन् २००९ मार्ग ९ गते मा  नेपाल आइन ।  नेपालमा शुरुका दिन तितीको लागि सुखदायी थियो । पतिले मलेसियामा जस्तै माया गरिरहेका थिए ।



संजिवले जनकपुरको जिरोमाईलमा रहेको घरमा तिती र छोरीलाई लिएर आमा÷बुबासँगै बस्न थाले । तितीले तीन महिनाको लागि भ्रमण भिसा लिएर आएकी थिइन । तीन महिनामा बित्नुभन्दा एक हप्ता अगाडि नै संजिवले तितीलाई सप्तरीबाट विवाह दर्ता र नागरिकता बनाईदिएका थिए । त्यसपछि तितिको नाम परिवर्तन भएर सन्जना चौधरी भयो । आफू अन्जना चौधरी भएकोमा तिती खुसी थिइन् । सपरिवार उनको जीवन सुखसाथ वितिरहेको थियो ।



विवाह दर्ता र नागरिकता पाएकी सन्जना सासु, ससुरा, देवर र नन्दसँगै जनपुरमा बस्न थालिन । संगै बस्दै आएकी सासूले भित्र भित्रै बुहारी सन्जनालाई पन्छाउन चाहेकी थिइन् । संजनाका अनुसार उनीसंग भएको नागरिकता र विवाह दर्ता कागज सासुले लिइन । जनकपुरमा बस्दा करिब पाँच बर्ष सन्जनालाई घरबाट बाहिर जान दिइएको थिएन ।

तिती भन्छिन्, ‘त्यसपछि मेरो दुःखको दिन सुरु भयो ।’  उनलाई घरको सबैले हेला गर्न थाले । दिनहुँ गाली गलौज र कुटपिट गर्न थाले । पति घरमा बस्न छोडेकाले कसलाई भन्ने भयो । तर विस्तारै पतिले पनि हेला गर्न थाले । हेला गर्दागर्दै उनले सन् २०१० मार्ग ४ तारिकमा अर्की छोरीलाई जन्म दिइन ।  अहिले तितीलाई घरमा बस्न दिइएको छ्रैन । तर उनका दुई छोरीहरु सासु ससुरासंग राखिएका छन् । दुवै छोरी जनकपुर स्थित प्यारागन बोर्डिङ्ग स्कुलमा पढ्दैछन् ।



जनकपुरको घरमा बस्दाको संझना गर्दै तितीले भनिन, ‘एक दिन त मेरो श्रीमान्ले एउटा केटीलाई नै लिएर घरमा आयो । घरको अरु सदस्यले केही बोलेनन् ।’ ‘मैले भने किन केटी ल्याएको ? अनि मेरो श्रीमानले मलाई कुट्यो ।’ ‘मलाई हेला गर्ने र मेरै अगाडि घरमा हुँदा अरु महिलाहरुसँग फोनमा कुरा गथ्र्यो । मैले केही बोल्दा झगडा हुन्थ्यो । अरु महिलाहरुको अगाडि मेरो श्रीमान्ले सधैँ म विवाहित होइन् भनेर बोल्थे ।’

तितीका पति संजीव चौधरी सन् २०१४ अप्रिल ३० मा काठमाडौँ अमिनको तालिमको लागि गएको एक हप्ता नवित्दै उनलाई घरमा कुटपिट गरी निकालिदिएका थिए । उनी भन्छिन्, ‘छोरीलाई घरमै छोडेर श्रीमान्लाई खोज्न काठमाडौँको त्रिपुरेश्वर पुगे ।’  ‘काठमाण्डौमा बिहारी महतोको घरमा श्रीमान्सँग भेट भयो । सँगै दुई महिना बस्यौं । फेरि श्रीमान्ले भन्यो म अहिले कमाउदिन तिमी घर जाउ । म पछि आउँछु ।’ पतिको कुरा मानेर उनी महुली संजिवको सानी आमाको घरमा गएर बसिन । तर संजीव कहिल्यै फर्केर सप्तरी नआएको उनले बताइन ।



उनले भनिन्, ‘श्रीमान् जनकपुर आएको खबर सुने । भेट्न जनकपुर गए । भेट भयो । त्यहाँ थाहा भो, कुनै अर्कै विदेश गएको पुरुषको श्रीमतीलाई लिएर संजीव भागेका रहेछन् । अर्काको श्रीमती भगाएको घटनामा संजीव एक साता प्रहरी हिरासतमा रहेका थिए ।’ तिती आफ्ना श्रीमान्सँग भेटेर  सप्तरीको महुली फर्किएकी थिइन ।

महुलीमै हुँदा सन्जनाले इन्डोनेसियामा रहेको आफन्तलाई आफूलाई पैसा आवश्यक भएकोले पठाईदिन आग्रह गरे । उनको आफन्तले एक लाख ९७ हजार रुपैयाँ पठाइदिएका थिए ।



सन्जनासँग पैसा भएको थाहा पाएपछि सासु, ससुरा र श्रीमान्ले घर बोलाउन थालेका थिए । पसल खोलेर बस्न भन्थे । पैसा माग्दै थिए ।  पैसा दिन्न नमानेकोले घरमा बस्न नदिएको  तितीले बताइन । उनका ससुरा संजीवका बुवा नकुल चौधरी जनकपुर नापी कार्यालयमा अमिन छन् ।



सन्जना भन्छिन्, ‘महुलीमा ३/४ महिना बसेर जनकपुरमा डेरा लिएर बस्न थाले । सुरुमा श्रीमान्ले नै चामल र ग्यास पठाईदियो । केही दिन भएपछि सासु, सुसुराले डेरा बसेको घरपट्टीलाई  गाली गर्न जानथाले । सुखसँग बस्न दिएन । कति डेरा सरे, सरे । अहिले पनि डेरा गरी बस्दैछु ।’ तिती भन्छिन्,‘ श्रीमान् आउँछु भनेर गएको छ तर अहिले सम्म आएको छैन् । केही सम्पर्क पनि छैन् । के गरुँ ?’



तितीले प्रहरी प्रशासनकोमा न्यायको गुहार गर्दै नगएकी पनि होइनन् तर उनलाई नेपाली प्रशासनले हसिमजाक गरेर पन्छाउने गरेको अनुभुति छ । उनी भन्छिन्, ‘जनकपुरको प्रहरी÷प्रशासनमा पटक पटक गएँ । सबैले भन्छन् ‘तपाईसँग विवाह दर्ता छ, नागरिकता छ, तपाई अंश पाउनुहुन्छ । न्याय पाउनु हुन्छ तर श्रीमान्सँग मिलाइदिन्छु कसैले भन्दैनन् ।’



उनले भनिन्, ‘छोरीलाई घरमा गएर भेट्न पाइन्न । स्कुलमा भेट्नजाँदा छोरीले उनलाई नै भन्ने गरेका छन्, ‘बुवा कहाँ छ ? कहिलेसंगै बस्न लग्नु हुन्छ ?’  तितीले भनिन, ‘मैले त दुःख पाएकै छु ।  छोरीहरुलाई खुशी देख्न चाहना छ, उनीहरुसंगै बस्ने चाहना छ तर के गरौ मेरो भावना बुझ्ने कोही भइदिएन ।’

सन्जना उर्फ तिती जनकपुरका बोर्डिङ्ग स्कुलहरुमा खाना पकाउने काम गरेर गुजारा चलाउँदै छिन् । उनी भन्छिन्, ‘सुन्दैछु संजीवले राई थरकी अर्की महिलासँग विहे गरेका छन् । घरमा पनि दुई पटक ल्याएका थिए रे । ’ ‘मसँग सम्बन्ध विच्छेद पनि भएको छैन् । मैले कसरी न्याय पाउने ? केही थाहा छैन् ।’



भनिन्छ, उहिले राजा जनककी छोरी सीतालाई रामले घरबाट निकाला गरेका थिए । तर, सीताको गाथा संग जोडिएको त्यही जनकपुरमा अहिले विदेशी महिला तिती उर्फ सन्जना चौधरीलाई संजीवका घरपरिवारले घर निकाला गरेका छन् ।


No comments:

Post a Comment