Wednesday, 1 February 2017

धरान विमानस्थलको निर्माण कार्य द्रुत गतिमा लान मन्त्री शाहीको निर्देशन

काठमाडौं, १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले धरान बिमानस्थलको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

बिमानस्थलको स्थलगत निरीक्षणका लागि सुनसरीको धरान पुगेका मन्त्री शाहीले उक्त निर्देशन दिएका हुन् ।

पूर्वको पर्यटकीय र सुन्दर नगरी धरानको पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने बताउँदै मन्त्री शाहीले धरानको समृद्धिको मुख्य आधर रुपमा रहेको बिमानस्थलको निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे ।

उनले यसका लागि जिम्मेवार भएर आफ्नो काम गर्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ,उपनिर्देशक ,मन्त्रालयका सहसचिव आयोजना प्रमुख लगायतका सबैलाई द्रुत कार्यान्वनमा लाग्न निर्देशन दिए ।

मन्त्री शाहीले धरान बिमानस्थलको निर्माण कार्यमा अबरोध र आर्थिक अभाव नहोस् भनेर आफू आएलगत्तै २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए ।

कांग्रेस केन्द्रिय सदस्य मीन विश्वकर्माले धरान बिमानस्थल निर्माणका लागि सबैबाट चासो र सहयोग प्राप्त भएकाले समयमै निर्माण कार्य सम्पन्न हुनेमा ढुक्क रहेको बताए । सांसद समेत रहेका विश्वकर्माले बिमानस्थल निर्माणका लागि मन्त्री शाहीले खेलेको भूमिकाको प्रशंसा गर्दे यसले धरानको पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले बिमानस्थल निर्माणका लागि धरानमा सक्रिय रहेका सबै राजनीतिक दलले प्रतिबद्धता जाहेर गरेकाले अब निर्माण कार्यले गति लिने बताए । धरानको समृद्धि र पर्यटन विकासको मुख्य आधारको रुपमा रहेको बिमानस्थल बन्नु अत्यान्तै गौरवको कुरा रहेको नेता विश्वकर्माको भनाई रहेको छ ।

२०५७ साल देखि निर्माण सुरु भएको भनिएको धरान बिमानस्थलको हालसम्म कुनै पनि पूर्वाधार निर्माण हुन सकेको थिएन । पूर्वको पर्यटकीय केन्द्रको रुपमा रहेको धरानमा विगत १७ वर्षे देखि निर्माण कार्य सुरु भएको बिमानस्थलले कुनै स्वरूप ग्रहण नगर्दा धरानबासीमा चिन्ता छाएको थियो ।

प्रदेश नं.१ को पर्यटकीय पूर्वाधारको अध्ययन र निरीक्षण गर्न पूर्व क्षेत्र पुगेका मन्त्री शाहीको साथमा कांग्रेस केन्द्रिय सदस्य मीन विश्वकर्मा नेपाल नागरिक प्राधिकरणका महानिर्देशन सञ्जीव गौतम पर्यटन मन्त्रालयका सहसचिव सुरेश अर्चाय लगायत रहेका छन् ।

No comments:

Post a Comment