Sunday 5 February 2017

खाना पकाउने ग्यास प्रयोग गर्नुअघि ध्यान दिनुहोस् यी कुरा

भान्सामा खाना पकाउने ग्यास प्रयोग गर्नुअघि विभिन्न कुरामा ध्यान दिएमा यसको संभावित जोखिमबाट बच्न सकिन्छ। 
 
यदी साना कुरामा पनि लापरबाही गरेमा ग्यास लिक हुने वा विष्फोट समेत भई ठूलो जनधनको क्षति समेत हुन सक्छ। बेलाबेलामा यस्ता घटनाका समाचारहरु आउने गरेका छन्। 
 
त्यसकारण खाना पकाउने ग्यास प्रयोग गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्ः 
 
भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस्। ग्यास भरिएको सिलिण्डरको भार बढी नै हुन्छ। त्यसमाथि सामान राख्दा भार थपिने भएकाले यसले जोखिम बढाउँछ। 
 
एउटै किचेनमा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस्। एकातिर खाना पकाइरहँदा अर्को सिलिण्डरबाट ग्यास लिक भएमा त्यो निकै जोखिम हुन्छ। 
 
सकेसम्म सिलिण्डरलाई साइडमा आधार दिने गर्नुहोस्। ताकि भुइँचालो जाँदा हुने कम्पनबाट सिलिण्डर नढलोस्। त्यसका लागि कुनो प्रयोग गर्न सक्नुहुन्छ। तर सिलिण्डरलाई कहिलै पनि ढलाएर  वा कोल्टो पारेर नराख्नुहोस्।  
 
सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्। कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन। 
 
सिलिन्डरमा ग्यास सकिनासाथ किचनभन्दा बाहिर राख्ने गर्नुहोस् वा सम्वन्धित विक्रेतालाई बुझाउनुहोस्। पुराना सिलिण्डर प्रयोग नगर्नुहोस्। 
 
सिलिन्डरबाट ग्यास लिक भएको बास्ना आउनासाथ रेगुलेटर बन्द गर्नुहोस्। त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिण्डरको छुट्छाछुट्टै परीक्षण गर्नुहोस्। यदी सिलिण्डरबाटै लिक भएको भए, तुरुन्त घरबाट बाहिर निकाली प्रहरी वा सम्वन्धित कम्पनीलाई बुझाउनुहोस्। 
 
पाइपबाट लिक भएमा पाइप फेर्नुहोस्। लिक भएको पाइपलाई नै टेपले टाँसेर प्रयोग गर्ने मुर्खता नगर्नुहोस्। धेरै पुरानो पाइप प्रयोग नगर्नुहोस्। सिलिण्डरबाट चुलोमा जोड्ने पाइप कम्तीमा १.५ इन्च लम्बाइको हुनुपर्दछ। 
 
रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ। सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कँस्नुहोस्, खाना बनाइसकेपछि बन्द गर्ने गर्नुहोस्। 

प्रतिकृया दिनुहोस

No comments:

Post a Comment