Thursday, 2 February 2017

पूर्वराजा भन्दा सीके राउतबाट देशलाई खतराः कृष्ण पहाडी

काठमाडौं, २० माघ । मानव अधिकारकर्मी कृष्ण पहाडीले देशलाई पूर्वराजा भन्दा सीके राउतबाट खतरा रहेको बताएका छन् । कुनै समय राजसंस्थाविरुद्ध अभियान मै उत्रेका पहाडीले आफ्नो एक अन्तर्वार्तामा अहिले देशका लागि सीके राउत निकै घातक रहेको बताए ।

उनले देश विखण्डनकारी अभिव्यक्ती दिने राउतलाई सरकारले पनि संरक्षण दिएको आरोप लगाए । केही दिनअघि लहानमा सीके राउतले गरेको सभालाई इङ्गित गर्दै पहाडीले त्यसमा गृहमन्त्री विमलेन्द्र निधिले कुनै प्रतिक्रिया नजनाएकोमा आक्रोश पोखे ।

उनले संविधानविरुद्ध बोल्ने र देश टुक्राउने अभिव्यक्ती दिने व्यक्तिलाई पक्राउ गर्न नसक्ने गृहमन्त्रीले पदमा बस्नु कुनै अर्थ नरहेको टिप्पणी गरे । त्यस्ता मन्त्रीलाई बर्खास्त गर्नुपर्ने उनले बताए ।

‘अब नेपालमा राजतन्त्र फर्कन गाह्रो छ,’ उनले भने– ‘अब देशमा अर्कै खालको दुर्घटना हुने खतरा छ ।’ अर्कै खालको दुर्घटना मिम्त्याउने पात्र सीके राउत हुने र त्यसलाई अहिलेका गृहमन्त्री जस्ताले संरक्षण गर्ने उनको ठम्याई छ ।

देशविरुद्ध भाषण गर्न दिने विमलेन्द्र निधि गृहमन्त्री हुन कि विखण्डनकारी हुन् आफूले छुट्याउनै नसकेको उनले बताए ।
अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानवअधिकार भएपनि देश र संविधा अर्थात घृणात्मक अभिव्यक्ति दिनु अपराध भएको उनको भनाई छ । ‘कानून विपरित हुने कुनैपनि व्यवहारको मानव अधिकारवादीहरुले विरोध गर्छ,’ उनले भने ।

एम्नेष्टि इन्टर नेशनललाई लक्षित गर्दै पहाडीले घृणात्मक अभिव्यक्तिलाई मानवअधिकार हो भनेर नेपाल विभाजनको कुरालाई कुनै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले बोक्न नपाइने उनको भनाई छ ।

देशविरुद्ध गद्दारी गर्नेहरुको गतिविधि यसरी नै बढ्यो र गद्दारी गर्नेहरुलाई नेताहरुले यसरी नै समर्थन गर्दै गए भने अब नेपाली जनता पनि मौन भएर नबस्ने उनले चेतावनी दिए ।

चर्चित मानव अधिकारकर्मी पहाडीले एक दशक पहिले कांग्रेस र एमालेका नेताहरु ‘संवैधानिक राजतन्त्र’ मा रुमलिइरहेका बेला राजतन्त्रविरुद्ध अभियान चलाएका थिए ।

No comments:

Post a Comment