Wednesday, 1 February 2017

आजैको मन्त्रिपरिषद बैठकले चुनाव मिति तोक्ने !


प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकमा असहमतिका बीच स्थानीय चुनाव मिति तोक्ने तयारी गरेका छन्। मन्त्रिपरिषदको बिहीबार बस्ने बैठकबाट चुनावको निर्णय लिइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।

‘स्थानीय चुनावको अनुमानित मिति तोक्ने गरी निर्वाचन आयोगलाई पत्र दिने तयारी भएको छ,’ कार्कीले भने। स्रोतका अनुसार वैशाख मसान्तदेखि जेठ २० सम्ममा चरणबद्ध गरिसक्ने गरी मिति तोक्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न आयोगलाई पत्र दिन लागिएको हो।

चैतभित्र स्थानीय निकायको चुनाव सकाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भन्दै साउन १९ मा प्रधानमन्त्री बनेका दाहालले ६ महिनापछि बल्ल आएर चुनाव मिति तोक्न लागेका हुन्।

संविधान संशोधन विधेयक र चुनाव मिति घोषणा गर्न नसकेपछि चौतर्फी आक्रोश खेप्दै आएका प्रधानमन्त्रीले दलहरूको बैठक र सार्वजनिक रूपमै ‘माघ १५ भित्रमा चुनाव मिति तोक्ने’ प्रतिबद्धता जनाए पनि असफल भएका थिए। यसबीचमा उनी प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग आफू र दोस्रो तहका नेतामार्फत छलफलमा रहे पनि मिति तोक्न नसकेको भन्दै आलोचित भइरहेका थिए। तीन दिनअघि बालुवाटारमा बसेको सरकार–मोर्चा बैठकमा उनले मोर्चाका नेताहरूसामु संशोधन विधेयक र त्यसको पूरक प्रस्ताव अघि बढाउन समस्या देखिएको भन्दै अब चुनावको ढोका खोल्नैपर्ने अडान लिएका थिए।आजको कान्तिपुर दैनिकमा खवर छ ।

No comments:

Post a Comment