बालुवापाटी गाविस– २ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन। प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब १२ लाख आम्दानी गर्दै आएका छन।
एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गाल्नुभएका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिन्छन। आलु खेतीसँगै उनी पशुपालनमा समर्पित छन। “जागिर छाडेपछि सुरुवातमा किराना पसल चलाए,” उनले भने।
उनले भैँसीपालनबाट मासिक ३० हजारसम्म आम्दानी गर्दै आएका छन। भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहुने घोरसाइनेका दुई छोरा र दुई छोरीले समेत उहाँलाई सघाउँदै आएका छन। मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन।
“कृषि पेशाबाट मनग्य आम्दानी गर्न सकिन्छ,” उनले भने। काठमाडौँमा पसल गरेर बस्दै आउनुभएका उनका छोरा सन्तोष बुबालाई सघाउन गाउँ फर्कीए। “मेहनत गर्न सके कृषकले आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने कुरा बुबाबाट नै सिके,” सन्तोषले भने– “परिवार नै मिलेर काम गर्दा त्यसलाई व्यावसायिकता दिन निकै सजिलो हुन्छ।” घोरसाइने परिवार सिङ्गो गाउँकै लागि प्रेरणाको स्रोत समेत बनेको छ।
घोरसाइनेले कृषि व्यवसायबाट आम्दानी गरेर सहरमा दुईवटा घर जोड्नुभएको छ। “मेहनत गरी कमाएको सम्पत्तिले निकै सन्तुष्टि दिँदोरहेछ,” उनले भने। नेपाल कृषिप्रधान देश भएकाले यहाँ निकै सम्भावना रहेका उनी बताउँछन।
प्रहरीको जागिर छाडेर कृषि पेसा अङ्गाल्दा आफूले निकै प्रगति गरेको घोरसाइने बताउँछन। “छोराछोरीबाट पनि आफूले सोचेजस्तै सहयोग पाइरहेको छु,” उनले भने। उनले हाल १५ रोपनी जग्गामा मौसमी र बेमौसमी आलुखेती गर्दै आएका छन।
सुरुवातमा सिँचाइको राम्रो सुविधा भए पनि पछि पानीको मुहान सुक्दै गएपछि उनलाई सिचाइको समस्या भएको छ। घरमै उत्पादित मल प्रयोग गर्दै आएका घोरसाइने वर्षैपिच्छे आलुको बीउ फेरिरहनु हुन्छ। उनले गाउँमा समेत बीउ वितरण गर्दै आएक छन।
विभिन्न ठाउँमा देखेका आधारमा व्यावसायिक रुपमा आलु खेती गर्दै आएको उनको भनाइ छ। सबैले गाउँ छोडेर गइसकेको अवस्थामा आफूले आलु खेतीलाई निरन्तरता दिन र आफ्नो पुख्र्यौली सम्पत्ति जोगाइराख्न आलुखेतीलाई निरन्तरता दिइरहेको घोरसाइनेले बताए। समाजसेवामा समेत समर्पित उनी समाजका हित हुने कामका निम्ति कहिल्यै पछि हट्नुहुन्न।
प्रहरीमा जागिर गरेका कारण उहाँलाई गाउँभरि ‘पुलिस माइला’को नामले चिन्ने गर्छन। आलुको व्यवसायिक खेतीमा घोरसाइने जिल्लामै अग्रस्थानमा हुनुहुन्छ। गाविसभरका किसान प्रायः आलुको बीउ खोज्दै घोरसाइनेको घरसम्म आइपुग्छन। रासस
No comments:
Post a Comment