Wednesday, 1 February 2017

प्लास्टिकले बेरेर शिशुलाई खाल्डोमा गाड्ने आमालाई जेल, बाबुलाई उन्मुक्ति

newsabhiyan
काठमाडौँ, २० माघ । सल्यान सिद्धेश्वरीकी दिलमाया चलाउनेले आफैंले जन्माएको बच्चालाई तत्काल प्लास्टिकले बेरेर खाल्डो खनी नजिकैको ओडारमुनि गाडिदिइन् ।

बाख्रा चराउन जाने गोठालाहरूले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरे । २०६९ असार ४ गते शव भेटिएपछि स्थानीय बासिन्दाको उजुरीका आधारमा प्रहरीले चलाउनेलाई पक्राउ गर्‍यो ।

‘नाताले देवर पर्ने स्थानीय स्कुलका शिक्षक गेहेन्द्रले मोबाइल चार्ज गर्ने निहुँमा घरमा आई मलाई जबर्जस्ती गरेको हो । ऊसँग २०६८ साल साउन र भदौमा गरी मेरो दुई पटक उठबस भएको हो,’ २५ वर्षीया दिलमायाले बयानका क्रममा भनिन्, ’मलाई विवाह गरेर लैजा भन्दा ऊ मानेन ।

सुरुमा कताकता गयो, पुसमा आएपछि नेपालगन्ज गएर मेडिकल गर्दा डाक्टरले गर्भपतन गर्न मिल्दैन भन्यो ।’ उनले पछि आफूले बच्चालाई जन्माएको र जन्मिने क्रममा बच्चा नचलेको र निष्क्रिय रहेकाले मरेको ठानेर सालनालसहित फालेको बयानमा बताएकी छन् ।

दिलमायाले बयानमा आफूले गल्ती गरेको स्विकार्दै गेहेन्द्रलाई पनि कारबाही हुनुपर्ने माग राखिन्। मुलुकी ऐनको ज्यानसम्बन्धी महलअनुसार सर्वस्वसहित जन्मकैद हुनुपर्ने ठहर्‍याएको सल्यान जिल्ला अदालतले ‘लोग्ने विदेशमा रहेका बेला परपुरुषसँग सम्पर्क गरी सामाजिक लोकलाजका कारण बच्चा फालेकाले कैद चर्को हुने ठहर गरी १० वर्ष कैद हुने’ फैसला गर्‍यो ।

फैसलाप्रति विमति राखी उनले आफूले नवजात शिशुको हत्या नगरेको र हत्या गरेको प्रमाण पनि प्रहरीले पेस गर्न नसकेको भन्दै ‘बच्चा जन्मेपछि हातगोडा नचलाई मरेजस्तो देखिएकाले फालेको हुँ’ भन्ने दाबी दोहोर्‍याइन् ।

पुनरावेदन अदालत तुलसीपुरले २०७० साल साउनमा १० वर्ष कैद ‘चर्को पर्न जाने’ ठहर्‍याई ७ वर्ष कैद फैसला गर्‍यो । फैसलामा चित्त नबुझाई कडा सजायको माग गरेको प्रहरी र आफू निर्दोष दाबी गरेकी दिलमाया दुवै सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतले पुनरावेदन अदालतकै फैसला सदर गरिदियो ।

‘दिलमायाले गेहेन्द्र र आफ्नो उठबस भएको बताएकी छन् । अवैध गर्भधारणबाट बच्चा जन्मेको देखियो,’ न्यायाधीशहरू गोपाल पराजुली र ओमप्रकाश मिश्रले गरेको फैसलामा भनिएको छ, ‘दिलमायाले बच्चा मरेको अवस्थामा जन्मेको थियो भनेर पुष्टि हुने कागजात र देख्ने साक्षीसमेत उपस्थित गराउन सकेको पाइँदैन ।

अवैध गर्भ र शिशुलाई लुकाउने उद्देश्यका साथ गाडेकाले मरेको शिशु नै जन्मेको थियो भनी पुष्टि हुन सकेको छैन ।’ सर्वोच्च अदालतले हालै पूर्णपाठ तयार पारेको तनहुँको घटनामा पनि आमाले सजाय पाइन् ।

तनहुँको माझकोट गाविसकी छिमा रानाले २०६७ मंसिर २१ गते राति ५ महिनाकी छोरीलाई ३ पटक चुम्बन गरिन्, उनको घाँटीमा रुमाल कसिन र हातले नाकमुख थुनिदिइन् ।

घटनाबारे थाहा पाएपछि प्रहरीमा छिमाविरुद्ध उजुरी पर्‍यो । ’नाताले भाइ पर्ने केशरबहादुर रानाका कारण मेरो गर्भ रहन गएको हो,’ १७ वर्षीया अविवाहित छिमाले बयानका क्रममा भनेकी छन्, ’इच्छाविपरीत गर्भधारण भई जन्मेको बच्चाको न्वारान पनि नभएको, बाउ को हो भनी खुलाउन सक्ने अवस्था पनि नभएको र आफू भर्खरै १७ वर्षमा लागेकाले भविष्य पनि अन्धकार हुने सोची बच्चीलाई पन्छाउन उपयुक्त हुने ठानी हत्या गरेको हुँ।’

उनले आफूले गर्भवती भएपछि केशरबहादुरलाई त्यसबारे थाहा दिएको बयानमा बताएकी छन्। सुरुमा ’मिलाउँछु’ भनेका केशरबहादुर र छिमाको विषयमा गाउँभर हल्ला चलेपछि समाज बसेर घटना मिलाएको भेटियो।

उक्त मुद्दामा जिल्ला अदालत तनहुँले २०६९ जेठ महिनामा फैसला गरी १० वर्ष कैद सुनायो। कृष्ण ज्ञवालीको बाईलाईनमा कान्तिपुर दैनिकले खबर छापेको छ।

(फाईल तस्वीर)

No comments:

Post a Comment