संसद्वादी दलहरूको व्यवहार माओवादी द्वन्द्व समाधान गर्न उद्यत थिएन । उनीहरू माओवादी द्वन्द्वसँग खेल्दै एकले अर्कोलाई पछारेर सत्तामा पुग्ने दाउमा निर्लिप्त थिए । त्यही खेलअन्तर्गत नेकपा (एमाले) सरकारमा जान व्यग्र थियो । २०५९ साल असोज १८ गते शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले ‘अक्षम’को दाग लगाइदिएर प्रधानमन्त्रीबाट बर्खास्त गरे । त्यसपछि राजाले प्रधानमन्त्री बन्न इच्छुकहरू सबैका लागि ‘भ्याकेन्सी’ आह्वान गरेका थिए । यही भँगालोमा एमालेका महासचिव माधवकुमार नेपाल मिसिन पुगे । राजा ज्ञानेन्द्रको राज्यारोहणमा दाम चढाएर प्रधानमन्त्री बन्ने दौडमा मैदानमै ओर्लिएका थिए, उनी । राजाले दरखास्त खोलेपछि माधव लाइन बसेर निवेदन चढाउन नारायणहिटी पुगेका थिए । माधवको ध्याउन्न जुनसुकै प्रक्रियाबाट भए पनि एकपटक प्रधानमन्त्री बन्ने थियो । पार्टीका शीर्षस्थ नेतामा सरकारमा जाने लिप्सा सवार भइरहेकै बेला मैले एमाले तत्काल सरकारमा जान नहुने मत राखें । सरकारमा जानुको सट्टा माओवादी र दरबारबीच पुलको काम गरेर समस्या निराकरण गर्नुपर्ने धारणा अघि सारें । माओवादीलाई उग्रवादबाट सच्याएर र राजालाई निरंकुश हुनबाट रोकेर दुवै शक्तिलाई प्रजातान्त्रिक धारमा ल्याउन सके एमालेको भूमिका बढ्ने मेरो तर्क थियो ।
तर, सरकारमा जान व्यग्र माधवले मेरो यही तर्कलाई राजावादीको बिल्ला भिराएर पार्टीबाट गलहत्याए । प्रधानमन्त्रीको याचना गर्दै राजाका पाउमा दाम चढाउने, राजदरबारमा बिन्तीपत्र हालने आफू राजापरस्त भएनन् । द्वन्द्व समाधानको उपाय दिने मलाई राजावादी देखे । प्रस्टीकरण दिने सामान्य औपचारिक मौकासमेत नदिई साधारण सदस्यसमेत नरहने गरी २०६० साल वैशाख १९ गते मलाई एमालेबाट निष्कासन गरियो । आफूलाई पार्टीबाट निष्कासन गरेको जानकारी मैले सञ्चार माध्यमबाट पाएँ । त्यसपछि राति मात्रै घरमा पत्र ल्याइदिए ।
झापा आन्दोलनको संस्थापक भएर नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अथक प्रयास गरेको व्यक्तिलाई एक वचन नसोधी पार्टीको साधारण सदस्यबाटै हटाएकोमा म दु:खित बन्नु स्वाभाविक थियो । मैले पार्टी र आन्दोलनकै लागि १४ वर्ष १० महिना कारावासको जीवन बिताएँ । रगत, पसिना मात्र होइन श्रीसम्पत्तिसमेत लगाएर गोडमेल गरी हुर्काएको पार्टीले सामान्य शिष्टाचारसमेत नदेखाई उर्लंदो भेलले मुढा पाखा लगाए जसरी किनारामा हुत्याइदिए । एमालेले गलहत्याएको शैली र घटनाक्रम सम्झँदा अहिले पनि मेरो मन चहर्याउाछ । तर पनि मलाई किन निकाल्यौ भनेर कसैलाई सोध्न गइनँ । मेरो स्वाभिमानले त्यसो गर्न दिएन । निष्कासनपछि कुनै राजनीतिक पार्टीमा संलग्न थिइनँ । स्वतन्त्र नागरिकका रुपमा द्विविधा, पीडा र सोचमग्न मनोदशामा दिन कटाइरहेको थिएँ ।
२०६१ माघ १८
बेलुका ९ बजेतिर घरमा टेलिफोनको घन्टी बज्यो । राजदरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनको टेलिफोन रहेछ । “भोलि बेलुका साँझ ६ बजे तपाईंलाई सरकारबाट दर्शनभेट बक्स भएको छ, समयमै आउनुहोला,” महर्जनले भने । “भोलि नै टेलिफोन गरेको भए भइहाल्थ्यो नि । यति राति किन ?” मैले सोधें । “टेलिफोन बिग्रिन पनि सक्छ । यो साधन उति भरपर्दो होइन,” पशुपतिभक्तले भने । “बिग्रन पनि सक्छ” भन्ने कुराले मेरो मनमा चिसो पस्यो । माघ १९ गते बिहान १० बजे राजा ज्ञानेन्द्रले देशबासीका नाममा सम्बोधन गर्ने
सञ्चारमाध्यमहरूबाट सार्वजनिक भइसकेको थियो । सम्बोधन कुन विषयमा हुँदै छ भन्नेमा आ–आफ्नै अड्कलबाजी थिए । मैले महर्जनसँग जान्न खोजें, “शाही घोषणामा के आउँदै छ ?” “हजुर भोलि सरकारबाट बक्स भइहाल्छ नि,” फिस्स हाँस्दै पशुपतिले यति मात्रै भने । “शेरबहादुर (तत्कालीन प्रधानमन्त्री, शेरबहादुर देउवालाई अक्षम भनेर हटाए पनि राजाले पछि फेरि प्रधानमन्त्री बनाएका थिए) लाई थुन्ने हो कि के हो ?” मैले दोहोर्याएर सोधें । महर्जन हाँसे मात्रै जवाफ दिएनन् ।
भोलिपल्ट निर्धारित समयमा शाही घोषणा आयो । देउवा सरकार खारेज भयो । घोषणामा राजनीतिक दलहरू र द्वन्द्वरत माओवादीलाई गालीगलौज शैलीमा हपारिएको थियो । आलोचना गर्ने तहसम्मको कमजोरी राजनीतिक दलहरूले गरेका थिए, तर राज्यप्रमुखबाट त्यो तहको गाली खाने फटाइँ भएको थिएन । घोषणापूर्व पशुपतिभक्तले भनेझैं भरनपर्दो जिनिस टेलिफोन लाइन काटियो । सञ्चार विच्छेद भएपछि नेपालको भूगोल संसारबाट अलग्गिएजस्तै अनकण्टार भयो । शेरबहादुर देउवालाई गिरफ्तार गरिएको र माधवकुमार नेपालको घर घेराउ गरिएको गाइँगुइँ सुनें । तर यथार्थ यकिन भएन ।
अन्योलकै बीच माघ १९ गते साँझ ६ बजे नै नाराणहिटी राजदरबार पुगें । बाटोमा भेटिएका केही चिनारूहरूले तपाईंको पछि प्रहरी छैनन् ? भनेर सोधे । उनीहरूको सोधाइले वातावरण तनावग्रस्त रहेको लख काटें । मलाई एमालेले हटाएपछि राजा ज्ञानेन्द्रसँग दुईपटक भेट भएको थियो । दुवै भेटको यकिन मिति सम्झना छैन । सशस्त्र द्वन्द्व उत्कर्षतिर गइरहेको समयका ती भेटमा लामै कुराकानी भएको थियो । “माओवादी द्वन्द्वप्रति राजनीतिक दलहरूको खास धारणा के हुन सक्छ ? दलहरू समस्या समाधान गर्न साँच्चिकै चाहन्छन् वा चाहँदैनन् ? समाधान गर्ने ल्याकत राख्छन् वा राख्दैनन् ?” राजा ज्ञानेन्द्रले उत्सुक बनेर मसँग दलहरूको प्रवृत्ति र वास्तविकता जान्न चाहेका थिए । ती भेटमा देशको समस्याप्रति चिन्तित र गम्भीर बनेको उनको अनुहार पढेको थिएँ । “सशस्त्र युद्ध हाँकिरहेको नेकपा (माओवादी) मा प्रचण्ड भन्ने मान्छे छन् कि छ्रैनन् ? छन् भने देशभित्र वा बाहिर कहाँ बस्छन् ?” अघिल्ला भेटमा राजा ज्ञानेन्द्रले मसँग यस्ता जिज्ञासाहरूसमेत राखेका थिए ।
राजाले गहन विषयबारे खोजीनीति गरेको सुन्दा उनी देशको समस्या समाधानमा गम्भीर भएर लागेको मेरो अनुमान थियो । शाही घोषणापछिको भेटमा समेत ज्ञानेन्द्रले सोही गाम्भीर्यतालाई मूर्तरुप देलान् भन्ने सोचेर दरबार पुगेँ । म दरबारमा पुग्दा राजनीतिक रुपमा साना भूमिकाका पूर्वपञ्चहरू टंक ढकाल, दानबहादुर शाही, दुर्गा श्रेष्ठ, रमेशनाथ पाण्डे लहरै बसिरहेका थिए । जसमध्ये कोही पनि राजनीतिक हैसियतका व्यक्ति थिएनन् ।
दानबहादुर र रमेशनाथ पाण्डेबाहेकका अनुहारलाई मैले पहिलोपटक देखिरहेको थिएँ । दानबहादुरलाई म झापा विद्रोहकालदेखि नै चिन्थें । उनैले अन्य पात्रसँग परिचय गराइदिए । रमेशनाथ पाण्डे जहाँसुकै फिट हुने पात्र भइहाले । पहिलोपटक झलक्क यो दृश्य देख्दा मलाई लाग्यो, राजा बाठै मानिस रहेछन् । सामान्य मानिसका विचार, सुझावसमेत लिएर आफ्नो बाटो तय गर्दै रहेछन् । उनीहरूसँग सामान्य कुराकानी भइरहेकै बेला मलाई राजा बसेको भित्री कोठाबाट बोलावट भयो ।
सतर्क भएर भित्र छिरें । राजाको कार्यालय बुलेट प्रुफ छ भन्ने सुनेको थिएँ । बाक्लो सिसाले मोहोरिएको कोठा रहेछ । त्यस कोठामा राजालाई पहिलोपटक भेटिरहेको थिएँ । यसअघिका दुई भेट मंगल सदनमा भएका थिए । कोठाभित्र छिर्नासाथ नमस्कार गरें । बस्न निर्देशन भएपछि बसें । भित्र अरु कोही होलान् भन्ने अनुमानै भएन । तर, बसिसकेपछि एकजना व्यक्ति राजाको नजिकै कुनाको कुर्सीमा चुपचाप आसीन देखें । उनी युवराज पारस शाह होलान्जस्तो लाग्यो । त्यसअघि मैले पारसलाई प्रत्यक्ष भेटेको, देखेको थिइनँ । फोटोमा मात्रै देखेकाले झट्ट चिन्न सकिना । अनि झस्किएर नमस्कार गरें । उनी खिसिक्क हाँसे । उनी युवराज पारस नै रहेछन् । यसपछि राजासँग कुराकानी सुरू भयो ।
“बिहानको शाही घोषणा सुन्नुभयो ?” सुरूमै राजाले सोधे ।
“सुने सरकार,” मैले भनें ।
“कस्तो लाग्यो ?”
“गालीगलौज अलि धेरै भयो । आलोचनासम्म त ठीकै हो, सरकार । माओवादीसँग वार्ता गरेर समाधान निकाल्ने हो भने यो तहसम्म ओर्लेर गाली गर्दै उनीहरूलाई चिढाउनु हुँदैनथ्यो ।” आफ्नो मनमा लागेको कुरा राजालाई सोझै भनें ।
“अँ, त्योचाहिं अलि कडै भयो होला । अर्को वक्तव्यमा सच्याउन सकिन्छ ।” राजाको प्रतिउत्तर सुन्दा उनले मेरा कुरा खाएजस्तै लाग्यो ।
“देशमा वक्तव्यको प्रभाव के–कस्तो छ ?” उनले सोधे ।
“सरकार मलाई यसबारेमा त्यति धेरै थाहा छैन । क्रिया प्रतिक्रिया बुझ्ने समय पाएकै छैन ।” मैले जवाफ दिएँ । मानिसहरूको मत बुझ्ने साधन सबै काटिएका थिए, कहाँबाट जनमत थाहा पाउनु र वक्तव्यको प्रभावकारिता नाप्नु ? कुराकानीका बाटो बन्द गर्ने अनि मानिसहरूको धारणा कस्तो छ भनेर सोध्ने ? मनमनै हाँसो र रिस एकसाथ उठ्यो ।
“दलहरूले नै देशको समस्या समाधान गर्नुपर्ने हो । तर सकेनन् । मैले बाध्य भएर जिम्मेवारी वहन गर्नुपर्यो । यो मेरो रहर होइन । द्वन्द्वको समाधान नभई निर्वाचन हुन सक्दैन । निर्वाचन नभई लोकप्रिय दलहरू सत्तामा आउन सक्दैनन् । अन्तत: शासन गर्ने भनेको दलहरूले नै हो । त्यसकारण मैले तपाईंको सहयोग लिन खोजेको हो ।” राजाले मलाई संक्षेप र प्रस्ट भाषामा भने ।
“मैले कसरी सहयोग गर्न सक्छु, सरकार ?” मैले सोधें ।
“राजनीतिक निकास खोज्न राजनीतिक मानिस नै चाहिन्छ । मसँग राजनीतिक व्यक्तित्वहरू छैनन् । राजनीतिक निकास खोज्न सहयोग गर्नोस् तपाईंले,” राजा ज्ञानेन्द्रले थपे ।
“सरकार, कस्तो सहयोग गर्ने मैले ?” जिज्ञासा राखें ।
“मन्त्री बनेर सहयोग गरिदिनुपर्यो ।” राजाले प्रस्ताव राखे ।
“मन्त्रालय होइन, मलाई राष्ट्रिय योजना आयोगको जिम्मेवारी दिइबक्सियोस्,” मैले भनें ।
राष्ट्रिय योजना आयोगको नेतृत्व राष्ट्रिय आर्थिक चिन्तन हुनेहरूले नपाएकाले देश विकास नभएको निचोड राजालाई सुनाएँ । “सरकार, राजनीतिक रुपान्तरण गरेर मात्र हुँदैन । आर्थिक रुपान्तरणका लागि जनताका समस्याहरू छुने दीर्घकालीन महफ्वका राष्ट्रिय योजनाहरू चाहिन्छ । सडक, सञ्चार, सिंचाइ, विद्युत् सेवाको विस्तार देश विकासका महफ्वपूर्ण पूर्वाधार हुन् । शिक्षा, स्वास्थ्यजस्ता प्राविधिक तहमा जनशक्तिको विकास र कृषि, पर्यटन, खानी उद्योगहरूलाई विस्तार गर्न बृहत्तर योजनाको खाँचो छ ।” आर्थिक रुपान्तरणको लामो व्याख्यासहितको आफ्नो दृष्टिकोण, उद्देश्य र योजना राजालाई सुनाएँ । पहिले मन्त्री हुँदा सागालेका अनुभव र योजनाहरू योजना आयोग मार्फत लागू गराउने आफ्नो इच्छा सुनाएँ ।
मेरो व्याख्या सुनेपछि गाह्रो पाराले बाउछोरा दुवैजनाले टाउको हल्लाए । त्यसपछि राजा बोले, “तपाईंका योजना ज्यादै महफ्वपूर्ण छन् । यस्तो अवधारणा साह्रै कम मान्छेसँग मात्रै हुन्छ । योजना आयोगको जिम्मेवारी मन्त्रिपरिषद्ले दिने हो । त्यो जिम्मेवारी पूरा गर्नलाई योजना आयोगमा मात्र बस्नुपर्छ भन्ने छैन । मन्त्री भएर पनि जिम्मेवारी सम्हाल्न सकिन्छ नि ।” दोस्रोपटक पनि राजाले मन्त्रिपरिषद्मै सामेल हुन कर गरेपछि कुन मन्त्रालय दिने भनी सोधें ।
राजाले शिक्षा मन्त्रालय समस्याग्रस्त भएकाले त्यसैलाई सम्हाल्न आग्रह गरे । “यो मन्त्रालय सम्हालेर देशमा राजनीतिक निकास खोज्ने काम पनि गर्न सकिन्छ । योजना आयोगको कुरो मन्त्रिपरिषद्बाटै भइहाल्छ,” राजाले दोहोर्याएका थिए । माओवादी द्वन्द्वको राजनीतिक निकास खोज्ने, निर्वाचन गर्ने, निर्वाचनबाट चुनिएको दललाई सत्ता सुम्पने कुरा राजाको मुखबाट सुनेपछि यो राम्रो प्रजातान्त्रिक अभ्यास हो भन्ने लाग्यो, मलाई ।
एमालेले अन्यायपूर्वक गलहत्याएर एक्ल्याएकाले शून्य मनस्थितिमा थिएँ । त्यसैले राजाको वचनलाई सकारात्मक पाटोबाट मात्र बुझें । शंकालु बनेर हेरिनँ । राजाका मुखबाट एकातिर द्वन्द्वको राजनीतिक निकास खोज्ने भूमिका पाएको थिएँ भने अर्कोतिर राष्ट्रिय योजना आयोगमा योजना बनाउने मैदान पनि खुला गरिदिने भएका थिए । यी दुवै कुराले मलाई लोभ्यायो ।
“राजा भनेको आफ्नो हुकुमबाट चल्ने हो । राजाले जे भन्छन् त्यही गर्छन् । बोलेका कुरा पूरा गर्छन् । आफ्नो हुकुम आफैं काट्दैनन् ।” राजाबारे बाल्यकालदेखि यस्तै सुने/बुझेको थिएँ । राजनीतिक दलका नेताहरूले ढाँट कुरा गरेर हैरान बनेको मेरो दिमाग राजाले ढाँट्दैनन् भन्नेमा एकोहोरियो ।
देशमा द्वन्द्वका कारण दैनिक सेना, प्रहरी, राष्ट्र सेवक, माओवादी लडाका, निहत्था नागरिकको ज्यान अनाहकमा गइरहेको थियो । मानिसको ज्यान बचाउनु भनेको सिद्धान्तभन्दा माथिको कुरा हो । यस्तो रक्तपात रोकेर देशलाई सही बाटोमा हिंडाउनु चानचुने कुरा थिएन । नेपाली कांग्रेससँग मेरो सम्बन्ध सुमधुर थियो । एमालेबाट लखेटिए पनि प्राय: अधिकांश नेतालाई चिन्थें र मेरा कुरा धेरैलाई सहज लाग्थ्यो । सशस्त्र युद्धरत नेकपा माओवादीसँग पनि विभिन्न सूत्रमार्फत सम्बन्धको तार जोड्न सक्ने प्रबल सम्भावना थियो । भारतसँग कुरा गरेर माओवादीसँग वार्ता गर्न सकिन्थ्यो । राजाले राजनीतिक निकासका लागि भूमिका खेल्न आग्रह गरिरहँदा झट्ट मेरो मानसपटलमा यस्तै परिदृश्यहरूले फन्को मारे ।
देशको मूल समस्या सल्टाउने वातावरण बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढेर आयो । माओवादीका शीर्षस्थ नेताहरू प्रचण्डले त्यही बेला वार्ता सिधै मालिकसँग मात्रै गर्ने भनेर राजासँगै कुरा गर्न चाहेको वक्तव्यहरू सार्वजनिक गरेका थिए । यी सबै परिस्थितिमा राजाको प्रस्तावमा आशाका सञ्जीवनीहरू केलाएँ । म यस्ता अवसरलाई मुलुकको हितका लागि उपयोग गर्नुपर्छ भन्ठानेर राजाको मन्त्रिपरिषद्मा सामेल हुन मनमनै तयार बन्दै गएँ । मेरो अन्तस्करणले सिद्धान्तभन्दा माथि उठेर राष्ट्रिय समस्याको समाधान खोज्न अर्हायो ।
धर्ती फनफनी घुम्यो
राजाले व्यक्त गरेका प्रतिबद्धता पूरा गरेनन् भने देश के होला ? मनमा कताकता चिसो नपसेको होइन । हाकाहाकी वचन दिएपछि राजाजस्तो संस्थागत व्यक्तित्वले कसरी गलत कुरा गर्न सक्लान् भन्ने तर्कको भारले मनको उदासपनलाई जित्यो । फेरि मेरो सानैदेखि आमनेसामने भएर गरेका कुरामा बढी विश्वास गर्ने बानी हो । नानीदेखि लागेको बानीले जीवनमा धेरै गोता पनि खानुपर्यो । तर, राजाका सामन्ने विगतका धोका बिर्सेछु । राजाबाट त धोका नहोला भन्ने विश्वासमा ‘हुन्छ’ भन्दिएँ । देशको रक्तपात हटाएर चुनाव गरेपछि कुनै न कुनै पार्टीले आफूलाई भूमिका देलान् भन्ने सोच्दै राजाको कार्यालयबाट बाहिरिएँ । कसैले नसम्झिए पनि द्वन्द्व हटाएर शान्ति स्थापना गर्न सकियो भने सामान्य नागरिक भई शान्तिको सास फेरेर चयनले बसौंला भन्ने मनको लड्डु चपाएर पुलकित हुँदै राजासमक्ष बिदा मागेर निस्किएँ ।
बाहिर राजाको दर्शनभेट पाउन अघिदेखि दरबारियाहरू बसिरहेकै थिए । “कुरा के भयो ?” म निस्कनासाथ परिचित दानबहादुरले सोधे । “खासै केही भएन, गज्याङमज्याङ कुरा भयो । विषयवस्तु निकै गम्भीर रहेछ,” मैले उत्तर फर्काएँ र दानबहादुरलाई उल्टै सोधें, “तपाईंलाई चाहिं किन बोलाइएको रहेछ ?” उनले राजालाई भेटेकै थिएनन् । स्वचालित उत्तर दिए, “थाहा छैन । खै किन बोलाएको हो ।” दरबार परिसरभित्रकै पार्किङतिर गाडी चढ्न लम्किरहेको थिएँ । हातमा फाइल बोकेर दरबारका मुख्य सचिव पशुपतिभक्त महर्जन अत्तालिएको भावमा दौडेर मेरो छेउमा आइपुगे । सोधे, “हजुर कुरा भयो होइन, सरकारसँग ?” “भयो,” मैले छोटो उत्तर दिएँ । “भोलि ७ बजे घोषणा हुन्छ । हजुर भोलि ठीक १० बजे यहाँ आइपुग्नुुहोला,” उनले भने । “घोषणा हुन्छ” शब्द सुनेर म झसङ्ग भएँ । अनि सोधें, “के घोषणा हुन्छ ?” “क्याबिनेट,” पशुपतिभक्तले भने । म फेरि झस्किएँ ।
राजासँग कुरा गरेर यहाँसम्म आइपुग्दा म के बुझिरहेको थिएँ भने यो भेटघाट सुझाव, सल्लाहका लागि मात्रै हो । धेरै मानिससाग सल्लाह लिएपछि मात्र राजाले मन्त्रिपरिषद्मा क–कसलाई समेट्ने, कस्तो बनाउनेजस्ता कुराबारे पुन: छलफल चलाउनेछन् । अनि मात्रै मन्त्रिपरिषद् गठन गर्नेछन् । तर पशुपतिभक्तले मन्त्रिपरिषद् नै घोषणा हुने बताएपछि म आश्चर्यमा परें । “मन्त्री को–को हुन्छन् ?” मैले सोधें । “होइन भित्र अघि देख्नुभएन ती सबै मन्त्री हुन्,” पशुपतिभक्तले जसै जसै एकपछि अर्को रहस्य खोल्दै गए । मेरो सोचाइ, बुझाइ बालुवाको भवनझैं उसै ढल्दै गयो । उभिएको धर्ती फनफनी घुमेजस्तै भयो । मुख पनि बिगारेछु । मेरो अनुहार हेर्दै पशुपतिभक्तले सोधे, “किन हजुरसँग कुरा मिलेन र ?”
मिल्यो भनूँ कि मिलेन भनूँ बडो दोधारमा परें । राजाको दर्शनभेट पाउन भित्र बसेका व्यग्र अनुहारहरू सम्झनासाथ मेरो मन विरक्तियो । केही बेर मौन रहें । पशुपतिभक्त राजाको कार्यालयतिर थोरै अघि बढे । केही अघि बढेका उनका पाइला फेरि मतिर फर्किए । “हजुर, के जाहेर गरुँ ?” नजिकै आएर पुन: सोधे । म मौन बसेकाले कुरा मिलेन भन्ने ठम्याईमा उनी अघि बढेका रहेछन् । के सोचेर हो कुन्नि, फेरि म भएतिर फर्किए ।
दुई तीन सेकेन्डमै एउटा निर्णयमा पुग्नुपर्ने कठिन स्थिति आयो, मलाई । अग्निपरीक्षाजस्तै भयो । छिनमै तासका पत्ताझैं मनका पत्ता पल्टिन थाले– पार्टीले निकालेको छ । फर्किएर एमालेमै जाने कुरा भएन । फेरि यहाँसम्म आइपुगियो । राजासँग हुन्छ भनिसकेको छु । अब हुँदैन भनौं भने राजा पनि बाङ्गा हुने । पार्टी त उसै बाङ्गो भईसकेको हो, आफूचाहिं नाङ्गो ? बाँच्ने ठाउँ पनि नहोलाजस्तो लाग्न थाल्यो । दुवैतिरबाट लखेटिने धर्मसंकटको स्थिति आउने चित्र मनभित्र दौडियो । मन्त्रिपरिषद्मा रहने सदस्य जस्तासुकै भए पनि अघि आफूसँग व्यक्त गरेका वाचामा राजा अडिग बस्लान् भन्ने भावनाले जित्यो । अनि पशुपतिभक्तलाई भनिदिएँ, “कुरा मिलेकै हो ।” “मलाई पनि त्यस्तै लागेको थियो,” मुसुक्क हाँस्दै उनी त्यहाँबाट बिदा मागेर राजाको कार्यकक्षतिर लम्किए ।
माघ २० गते बिहान ७ बजे राजाको मन्त्रिपरिषद्मा मेरो नाम शिक्षा तथा खेलकुदमन्त्रीमा घोषणा भयो । बिहान १० बजे दरबार पुगें । केही बेरमै राजाले शपथ खुवाए । यसपछि मन्त्रालय गएँ । सडक सुनसान थियो । मानिसहरूमा अब के हुन्छ भन्ने भाव अनुहारमा दौडिरहेको देखिन्थ्यो । मन्त्रालय, विश्वविद्यालयका पदाधिकारीहरू लाम लागेर स्वागतमा खडा भएका थिए । यन्त्रवत् रुपमा सबै कार्यक्रम सञ्चालित भए । मन्त्रिपरिषद् गठन भएको भोलिपल्ट बेलुका मन्त्रिपरिषद्को बैठक बस्ने सूचना आयो । सञ्चार विच्छेद भएकाले सुरक्षा संयन्त्रले खबर ल्याउने लैजाने गथ्र्यो ।
राधाकृष्ण मैनालीको हालै प्रकाशित पुस्तक नलेखिएको इतिहासबाट
SOURCE: RATOPATI
No comments:
Post a Comment