राजनैतिक बिषयमा लेख्दिन बोल्दिन भन्ने बारे जब जब सोच्छु तब तब मुलुकमा बर्गेल्ती प्रपोगाण्डाहरु सामाजिक मिडियामा भाईरल हुन्छन् । अनि स्वाभिमानी नेपालीको हैसियतमा टुलुटुलु हेरेर बस्न सक्दिन र प्रतिकारको आवाज बुलन्द गर्न मन लाग्छ ।
हत्या हिंसा र अराजकताको पक्षमा अनि जनतालाई गुमराहमा पार्न जानेर नजानेर कसैले गरेका गल्तीहरुलाई गम्लङ्ग अंगालो हालेर बचाउन म किमार्थ सक्दिन ।
काम र कुराको तारतम्य नमिलेको हुन सक्छ, समय र संकल्पको संयोजन नभएको हुन सक्छ तर ओलीले देखाएका सपनाहरु जायज थिए । यही कुरा पछि आएर ओलीजम बन्यो ।
पछिल्लो समयमा राष्ट्रवादलाई नयाँ परिभाषा दिएर एमाले ईतरका पनि धेरै जनताको प्रिय बन्न पुगेका एमाले अध्यक्ष केपी ओलीलाई खोक्रो राष्ट्रवाद मलजल गर्ने कारकका रुपमा सामाजिक मिडियामा हल्ला चलाउँदा केही लेख्न मन लाग्यो ।
राष्ट्रवाद के ?
राष्ट्रवादका किताबी परिभाषा भन्दा जनताले बुझ्ने व्यवहारिक परिभाषा तर्फ जानु उचित हुन्छ । राष्ट्र र जनताको स्वाभिमान उँचो हुने गरी बाह्य तथा आन्तरिक शक्तिहरु संगको सन्तुलित र सम्मानजनक सम्बन्ध नै राष्ट्रवाद हो । राष्ट्रवाद खोक्रो या पोटिलो अथबा खँदिलो र पोसिलो हुँदैन, यो त भित्री मनबाट आउने दृढ संकल्प पो हो, आफ्नो राष्ट्र र जनताको उथ्थानको लागि स्वाभिमान र आत्मनिर्भरता तिरको यात्रा हो, स्वतन्त्रता तर्फको यात्रा हो ।
केपी ओलीको राष्ट्रवाद:
ओली राष्ट्रवाद ब्यक्ति पूजा गरिने दर्शन होईन यो त नेपालको संबिधान २०७२ को घोषणा पछि तत्कालीन समयमा भारतले नेपाल प्रति गरेको बिषबमन प्रति आम नागरिकहरुले गरेको प्रतिकार र प्रतिरक्षाको पर्याय थियो । बिधानत: एमालेले ब्यवस्था गरेको आफ्नो राष्ट्रवादको धारणा भन्दा अलग, तर लाखौँ स्वतन्त्र नागरिकको आवाजको स्पिकरको रुपमा केपी ओलीको राष्ट्रवाद उदाएको थियो । यही एउटा कारण थियो बरु भोकै बसिन्छ तर दुष्ट छिमेकी सँग झुकिदैन भनेर तीन करोड जनताले साथ दिएको ।
यद्यपी भीमकाय छिमेकी सँग सधैभरि ढिपी मात्र गरेर पनि पुग्ने थिएन । तर एउटा सार्वभौम राष्ट्रको प्रमुख सधैभरि ठूलो देश प्रति नतमस्तक हुनुहुन्न भनेर दुनियाँलाई देखाउनु चानचुने कुरा थिएन ।
ओली सर्वगुण सम्पन्न ब्यक्ति त होईनन् उनलाई देवत्वकरण गर्न पनि जरुरी छैन, तर नेपालमा ओली जत्तिको अडान र संकल्प भएको मान्छे जन्मिएको छैन, त्यसैले होला ओलीजमको खतरा बढ्यो भनेर आफ्नो राजनैतिक भविष्य अन्धकारमा हुने भयो भन्दै तर्सिनेहरुले ओलीको लोकप्रियता सँग डराईरहेका छन् ।
ओलीको यो राष्ट्रवादले सन् १६८८ को वेलायतको गौरवमय क्रान्तिको झझल्को दिईरहेको थियो । नेपालमा बिना रक्तपात आएको एउटा पुनर्जागरण नै थियो यो ।
पछिल्लो समयमा ओलीलाई समेत सिके राउत जस्तै बिखण्डनकारीको र एकल जातीय राज्यको पृष्ठपोषकको रुपमा आरोप लगाई मधेसलाई एमाले मुक्त पार्ने अभियानमा लागेका बिभिन्न दलहरुलाई यही नारा प्रत्युत्पादक देखिने भएको छ किनकी एमाले नै त्यस्तो शक्ति थियो जसले मधेसमा बिकास र चेतनाको उद्घाटन गरेको थियो । समय र सन्दर्भ अनुसार पार्टीका नेता कार्यकर्ताहरु सुबिधा भोगी र केन्द्रमुखी र विवादास्पद निर्णयका साक्षी भई मधेसमा राजनैतिक गतिबिधि बढाउन नसक्नु एमालेको कमजोरी थियो ।
संघीय संरचनामा मुलुक जाने पक्का पक्की भए पनि बिभिन्न असहमतिका स्वरहरु बढिरहेको सन्दर्भमा सिमांकन र पहिचानका बिषयहरु अझ जटील हुनुमा एमालेको दोष छैन, बरु देश प्रतिरक्षित भएको छ । कुर्सीको रक्षाका लागि बाँडिने पहिचानहरु सँग एमाले सहमत नहुनुको अर्थ एमाले एकल राज्य चाहने पार्टी होईन, ओली त्यसका मतियार होईनन् । मधेसलाई स्वतन्त्र देश घोषणा गर्नुपर्छ भन्ने सिके राउतको कित्तामा केपी ओलीलाई उभ्याउनु आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।
हो, २०७२ असोज ३ मा असहज समयमा प्रधानमन्त्री हुँदा ओलीले गफ गरेकै हुन् : तर चन्द्रमामा पुल र सगरमाथामा रेल कुदाउने गफ गरेका थिएनन्, संसारले बिकासमा छलांग मारिरहँदा उनले यस्तो गरौँ भनेर आफ्ना योजना सुनाएका हुन् । काम र कुराको तारतम्य नमिलेको हुन सक्छ, समय र संकल्पको संयोजन नभएको हुन सक्छ तर उनले देखाएका सपनाहरु जायज थिए । यही कुरा पछि आएर ओलीजम बनेर लोकप्रिय भयो । एक्काईसौँ शताब्दीमा पनि दास र परनिर्भर भएको सपना देखिरहने होईन ।
ओलीका सपनाहरु सुनेर मात्र पनि जनताहरु धैर्य गरिरहेका थिए, चाहेर या नचाहेर अब आउने प्रधानमन्त्रीहरुले ओलीकै पदचाप पछ्याउनुको बिकल्प छैन ।
ओलीजमको पदचाप पछ्याउन अहिले एमालेले आफ्नो भूमिकालाई ज़िम्मेवार बनाउनुपर्ने अवस्था छ, पार्टीको आवरणमा गलत हर्कत गर्नेहरुलाई संरक्षण हैन निषेध गर्न सकोस्, मधेसमा आफ्नो उपस्थिति प्रभावकारी र संयम बनाउन सकोस, मधेसी जनतालाई छुट्टै देश चाहिएको छ भनेर बितन्डा मच्चाउने सिके राउत र मधेसी जनताको नाममा सत्तालिप्सामा रमिरहेका मधेसवादी दलका नेताहरुलाई साईजमा ल्याउन सकोस, गुण्डागर्दी गरेर एमालेको मार्का भिर्नेलाई तह लगाउन सकोस्, एउटा समुदायलाई अपराधी जस्तो बनाएर आफ्नो पहिचान खोज्नु द्वन्दको बिजारोपण गर्नु हो भन्ने कुरा जनताको बिचमा लान ढिला नगरोस, अनि मात्र राष्ट्रवाद , स्वाभिमान र आत्मनिर्भरता बलियो हुदै जानेछ।
अझ भनौँ आर्थिक, सामाजिक र राजनैतिक चरित्र सुधारको खाँचों छ । केपी ओलीको राष्ट्रवादलाई मुलुक बिखण्डन पार्न खोज्नेहरुको कित्तामा राख्न खोज्नु ओलिजम प्रति अन्य शक्तिहरु अतालिएको हुन सक्छ । त्यसैले एमाले अध्यक्ष केपी ओलीले आफूलाई चनाखो बनाउँदै बिगतका गल्ती दोहोर्याउनु हुन्न ।
जात, सम्प्रदाय र क्षेत्र भन्दा राष्ट्र ठूलो हो भन्ने केपी ओली खोक्रो राष्ट्रवादी हुन सक्दैनन् । उनको १४ बर्षे जेल जीवनले औपचारिक शिक्षा नभएपनि बौद्धिक रुपमा कुनै दार्शनिक भन्दा कम छैनन् , बिद्यावारिधीका प्रमाणपत्र बोक्ने डाक्टरहरु ओलिजमबाट डराउनुबाट यो प्रष्ट हुन्छ । कुनै पनि देशका नागरिकले त्यो देशको हरेक क्षेत्रमा पहिले भूमिका पाउनुपर्छ भन्दै अमेरिकामा ट्र्म्पको उदय हुनु राष्ट्रवादकै कारण हो , आज भ्लादिमिर पुटिन संसारकै शक्तिशाली हुनु राष्ट्रवादकै कारण हो , भारतमा मोदीको उदय पनि यही राष्ट्रवादकै कारण हो । यही लाईनमा हिडेका केपी ओलीको अडान आफैमा राष्ट्रवादको नमूना हो , मार्गदर्शन हो, आशा गरौँ सत्ता र शक्ति र गुटको जोडघटाउका लागि उनले यो अडान त्याग्ने छैनन् ।
आफ्नो नागरिकको हक हित छाडेर अंगिकृतहरुको हक र देश टुक्र्याएर छुट्टै देश बनाउछु भन्दै दशगजामा उफ्रिने बिखण्डकारीहरु पक्का राष्ट्रवादी र भारतीय दवाव अनि केही कथित पहिचानवादीहरुको आडमा राज्यलाई बाँड्नु हुन्न, यसरी बाँड्यो भने राष्ट्र नै नरहन सक्छ भनेर अडान लिने केपी ओली कसरी खोक्रो राष्ट्रवादी भए ?
के संबिधान बिभेदकारी नै छ त ?
मधेशवादी दलहरूले हास्यास्पद तरीकाले सरकार बनाउने र बिगार्ने बेला बाहेक संविधान स्वीकारेनन्, यसले के स्पष्ट गर्छ भने उनीहरूको समस्या संविधान नभएर सत्ता थियो, यहि बिकृतिलाई बिरोध गर्ने केपी ओलीलाई मधेस बिरोधी भन्न थाले । मुलुकको कुनै क्षेत्रका जनतालाई विभेद गर्ने कुनै धारा संविधानमा छ भने त्यो संविधान जारी गर्ने सबै लाई टुडिखेलमा ल्याएर सिस्नुपानी लगाए हुन्छ ।
स्वतन्त्र बिश्लेषक केशब प्रसाद भट्टराईका शब्दमा: ”पहिला संविधानको कुन कुन धाराले उनीहरूमाथि विभेद गरेको छ, टुंडिखेलमा बसेर दुवै पक्ष रेडियो र टेलिभिजनमा प्रतक्ष्य प्रशारण समेत हुने गरी सार्वजनिक बहस गरून् । विभेद नहुँदा नहुँदै पनि विभेद छ भनेर भ्रम र रडाको मच्चाउनेलाई राज्यको सुरक्षा अङ्गले नियन्त्रणमा लेओस ।”
को को बाट खतरा छ ओलीलाई ?
नेपाल भारत सम्बन्ध प्रति पछिल्लो समयमा दह्रो अडान राखेका एमाले अध्यक्ष लोकप्रिय भईरहँदा त्यसको आरिस गर्नेमा उनकै पार्टीका समक़क्षी नेताहरु अग्रपङ्तिमा देखिएका छन् । उनीहरुमा केपी ओलीले राजनेता बनेर आफ्नो राजनैतिक भविष्य चौपट पारिदेलान् कि भन्ने ठूलो चिन्ता रहेको कुरा उनी प्रधानमन्त्री भएको बेला सुन्नमा आएका केही सिलसिलाहरुले बताउँछन् ।
त्यस पछिको डर माके अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका बाबुराम भट्टराई र नेपाली काङ्ग्रेसका पहिलो पुस्ताका नेताहरुलाई छ । देश पूरै ओलीमय हुन्छ कि भनेर उनीहरुले बिभिन्न मिडियामा बोलिरहेको देख्न सुन्न पाईएकै छ । ओलीको बिरोध स्वरुप उनलाई एकल जातीय पहिचान बोकेको भन्दै रेडिमेड आरोप लगाईन्छ, जुन कुरा सत्य होईन भनेर एमालेले चिर्न जरुरी छ ।
अहिले सतहमा देखिए अनुसार मधेसी मोर्चाका केही नेताहरु ओलीलाई मधेस बिरोधी प्रमाणित गरेर मधेसमा आफ्नो गुमेको साख फिर्ता गर्ने दाउमा छन् ।
अन्तर्राष्ट्रिय शक्तिहरु मध्ये पछिल्लो समयमा भारतले ओलीलाई अघि बढ्न दिएको छैन यसैका लागि मधेस कार्ड फ्याँकेर मधेसमा उपद्रो मच्चाउने काम भारतले गरिरहेको छ । सिके राउत र मधेसी मोर्चा यही डिजाईनमा उपद्रो मच्चाईरहेका छन् ।
ओलीको अबको बाटो:
राष्ट्रवादको कुनै निश्चित भौतिक आकार हुँदैन तर यो बिशाल हुन्छ । नयाँ ईतिहाँस नलेखेसम्म पुरानो ईतिहाँस सरापेर मात्र हुँदैन । राष्ट्रलाई अहिले सम्म बचाई राख्नेहरुलाई सरापेर मात्रै देश बन्दैन, बरु ‘पिपुल फ़र्स्ट’ अवधारणालाई मूर्त रुप दिदै आन्तरिक राष्ट्रवाद बलियो बनाउँदै स्वावलम्बनको बाटो तर्फ लम्किने भिजन केपी ओलीले बनाउनुपर्छ । साँच्चै भन्ने हो भने नेपालमा स्वाभिमान र आत्मनिर्भरता ल्याउन सक्ने ‘ओलीजम’ चाहिएकै छ ।
एकपटक स्वतन्त्र नागरिकको हैसियतमा ओलीको पपुलिष्ट राष्ट्रवाद हेरेरै मर्ने रहर छ । यसो भन्दा मलाई ओलीको भक्त भनिन्छ भने स्मरण रहोस् यस्ता भक्तहरु धेरै बढिरहेका छन् । देश बनाउने सपना देख्ने नेपाली ट्रम्पको खाँचों देशलाई टड्किएको छ र त्यो सम्भावना केपी ओलीमा मात्रै देखिएको छ ।
जय स्वाभिमान ।
No comments:
Post a Comment