Tuesday, 31 January 2017
पूर्वराजासँग वार्ता र सहमति गर
११ जनवरी (पुस २७) अलग–अलग समूहहरू एकत्रित भए, राजधानीको रामशाहपथस्थित पृथ्वी नारायण शाहको सालिकमा । राष्ट्र निर्माताप्रति श्रद्धाञ्जलि अर्पण गरेपछि उनीहरूले पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकीकरण दिवसका रुपमा मनाउन र उक्त दिन सार्वजनिक छुट्टी घोषणा गर्न सरकारसँग माग राखे ।
त्यसको ठीक एकदिन पूर्वराजा ज्ञानेन्द्र शाहले एउटा नेपाली नागरिक र पृथ्वीनारायण शाहको वंशजको हैसियतमा सार्वजनिक अपील जारी गरी संकटमा रहेको राष्ट्रिय अस्तित्व बचाउन सबैसंग आग्रह गरेका थिए । अनि एक कदम अगाडि बढेर उनले भने, ‘दश वर्षअघि राजदरबार छोडे पनि मैले मुलुक र जनताप्रतिको आफ्नो दायित्वबाट एकक्षण पनि टाढा भएको अनुभूति गरिनँ ।’
के ज्ञानेन्द्र शाहले १० वर्षअघि प्रतिकूल आन्तरिक र बाह्य परिस्थितिका कारण त्यागेको राजगद्दीमा दावी पेस गरेकै हुन् त ? पृथ्वी जयन्तको एक दिनपछि ‘नयाँ नेपाल’ नाराका सुत्रधार गणतान्त्रिक नेपालका नाममा हतियार उठाएका पुष्पकमल दाहालले सार्वजनिक छुट्टीको सूची समीक्षा गर्न समिति गठन गर्ने घोषणा गरे, प्रधानमन्त्रीका हैसियतमा । पूर्व राजाको प्रतिशोध, निषेध र घृणाको राजनीति त्याग्न गरेको आग्रहको एकसाता नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो छोरीको बिहेमा आमन्त्रण गरिन्, पूर्वराजालाई । उनी शीतलनिवास गए, निम्तो मान्न । त्यो निम्ता मान्न ज्ञानेन्द्र जाँदा उनी वास्तवमा आकर्षणको केन्द्र नै बने । केही नेता उच्च पदस्थले पूर्वराजाबाट टाढै बसे पनि धेरैले सुरक्षा आदेश अवज्ञा गर्दै मोबाइलबाट उनको तस्बिर लिए ।
लेखक : युवराज घिमिरे
सेनापति राजेन्द्र क्षेत्रीले आफ्ना पूर्व परमाधिपतिलाई सलाम चढाए । प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री विमलेन्द्र निधिले पूर्व राजालाई दरबार हत्याकाण्ड छानविन ब्युँताउने धम्की दिइरहेका बेला यो निम्तोमा राजनीतिक पक्ष छैन भन्न सकिन्न । पूर्वराजाका पछिल्ला सन्देश र त्यसमा अन्तरनिहीत राष्ट्रियताका मर्म र यसले उत्पन्न गरेको प्रतिक्रियाबारे राजनीतिक दलहरू अनविज्ञ छैनन् । खासगरी उनीहरूले गुमाएको विश्वसनियताका सन्दर्भमा ।
राष्ट्रपति भण्डारीले निम्तो पाएकोमा पनि निकै सकारात्मक प्रतिक्रियाहरू देखा परे, सामाजिक सञ्जालमा । एमालेका अध्यक्ष केपी ओलीको सुझा र सहमतिबिना निम्तो पठाइएको होला भन्ने अड्कलबाजी छ, सबैतिर । आखिर एमाले राष्ट्रियताको टोपी लगाउने अभ्यासमा छ नै । संविधान संशोधन विधेयकमार्फत सत्ताको नेतृतव गर्ने माओवादी विखण्डनकारी एजेन्डामा लागेको आरोप पनि छ, उसको ।
एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको हालैको बेइजिङ यात्राका क्रममा चिनियाँहरूले जातीयता, धर्म निरपेक्षताको पर्याय बनेको र धर्म परिवर्तनका लागि पैसाको खोलो बगाएर युरोपेली संघ र अमेरिकाले चीनलाई घेर्ने योजना बनाएकाले यो कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएका थिए । चीन वर्तमान सत्ता गठबन्धन र नेपालका राजनीतिक दलसंग सशंकित रहेको प्रमाण हो, त्यो ।
चीन नेपालमा उठेका राष्ट्रियताका एजेन्डासंग प्रसन्न छ । यद्यपि, भारतीय संस्थापन त्यसलाई भारतको विरोधका रुपमा हेर्ने गर्छ । नेपालमा संविधान लागू हुन नसक्नुको मुख्य कारण हो, परिवर्तन पक्षीय शक्तिहरूले राजालगायत परम्परावादी तथा पुरना शक्तिहरूलाई सम्पूर्ण प्रक्रियाबाट बाहिरै राख्नु । पृथ्वीनारायण शाहप्रतिका अपमान र यी शक्तिहरूको बहिस्कार अहिले संविधान र परिवर्तन पक्षीय शक्तिका लागि घाँडो बनेको छ । मुलुकमा राष्ट्रिय स्थायित्व कायम गर्ने हो भने पृथ्वीनारायण शाहलाई राष्ट्रिय हिरो पुनः घोषित गरी राष्ट्रपति भण्डारीले देखाएको सुझाबुझ अनुरुप अब राजनीतिक शक्तिहरूले पूर्वराजासंग वार्ता र सहमति खोज्नु बुद्धिमानी हुनेछ । (अनुवाद : २०७ जनवरी २३ को इण्डियन एक्सप्रेसबाट अनुवादित)
Labels:
Soch
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment