Tuesday, 31 January 2017

कथा : रोमान्स

छोटो मिनी स्कर्टमा ट्याक ट्याक पेन्सिल हिलको आवाज पड्काउँदै निक्कै स्मार्ट सुन्दरी केटी रेस्टुरेन्टको प्राङ्गणमा देखिन्छिन् । हेर्दा लाग्छ धनाढ्य घरानकी छोरी जस्ती । उनको नजर यता उता घुम्दै थियो । लाग्छ उनी आफ्नो ब्वयफ्रेन्डको खोजीमा छिन् । पर्सबाट आइफोन निकाल्छिन् । फोन डायल गर्छिन् । आफ्नै अगाडि बसेको एक बुढो मान्छेको फोनमा घन्टी बज्छ । हजुरबुवाको उमेरको बुढाले हर्षित मुडमा फोन उठाउँछ । हेल्लो सीमा, तिमी कहाँ ? म रेस्टुरेन्टमा ।

कल्पना खरेल
म पनि तिमीलाई घन्टौँदेखि रेस्टुरेन्टमा पर्खिरहेको छु । केही समयदेखि निक्कै पट्यार मानेर कसैको प्रतिक्षामा देखिने बुढाले आफ्नै अगाडि फोनमा कुरा गरिरहेकी तरुनीलाई पहिलाइहाल्यो । मख्ख मुद्रामा बुढाले ठिटीलाई सङ्केत गरेर बोलायो र आफ्नै छेउमै बसाल्यो । लाग्छ त्यो बुढो र तरुनीको पहिलो देखा भेट । दुवै एकै टेबुलको सेरोफेरोमा नजिक हुन्छन् । बुढो र तरुनीको गफ चल्छ । सीमा तिमीलाई फेसबुकमा म्यासेज गरेको थिएँ नि पाँच बजे रेस्टुरेन्टमा भेट्ने भनेर । किन ढिला गरेकी ? हो र ? मैले पछिल्लो म्यासेज ख्यालै गरिनँ । म त तिमीलाई पर्खिंदा पर्खिंदा हैरान भए । यतिकैमा मेनु लिएर वेइटर आयो ।

वेइटरले मेनु दुवैको समक्ष राख्यो । तरुनी मेनु पल्टाउन लागिन् । केटीले वाइन र चिकेन रोस्टको अर्डर गरिन् । बुढाले हुस्कीको अर्डर गरे केही क्षणमा अडर अनुसारको खाने, पेय पदार्थ टेबुलमा आयो । केटीले सभ्य शैलीमा वेइटरलाई थाङ्क्स टक्राइन् । वेइटरले वेलकम फर्कायो । बुढोले पेय पदार्थ सिसाको गिलासमा खनायो । दुवैले चियर्स गरेर अल्कुहलको चुस्की लिन लागे । रिमझिम साँझ मग्न थियो । साँझको शीतल वातावरणले स्पर्स गरिरहेको महसुस हुन्थ्यो । सफा सुन्दर रेस्टुरेन्टमा मन्द डिम लाइटको प्रकाश छरिएको थियो । रेस्टुरेन्ट राजधानी सहरको कोलाजदेखि केही बाहिर थियो ।

रेस्टुरेन्टबाट डाडाकाडा पाखापखेरा हरियाली देखिन्थ्यो । त्यस प्रकृति सुन्दरताको बीच सजिएका रेस्टुरेन्टले आनन्दको अनुभूति दिलाइरहेको थियो । सहरको भिडभाड र तनाबबाट आनन्द रिल्याक्स गर्न आउनेको सङ्ख्या प्रशस्तै देखिन्थ्यो । यता उताको सबै टेबुलमा कपल अर्थात् जोडी मात्र देखिन्थे । सबैजना आआफ्नै सुरमा खानपिन र मिठासपूर्ण गफमा व्यस्त थिए । रेस्टुरेन्ट नै प्रेममय महसुस हुन्थ्यो । फेरि त्यो नमिल्दो जोडीतिर मेरो नजर पुग्यो । बुढो तरुनीसँगै हुस्कीको चुस्कीमा मस्त थियो । बुढो प्रशस्तै पैसावाला । बुढामा पैसा फ्याँको, तमासा देखो भन्ने सिद्धान्त लागु थियो । बुढाको अर्डर अनुसारको सर्बिसमा वेइटर पनि व्यस्त थिए ।

घरपरिवार श्रीमती छोरा, छोरी, नाति, नातिनी सम्पूर्ण बिर्सिएर बुढो तरुनीको यौवनसँग लिप्तिँदै थियो । बुढोलाई पैसा खर्चेर तरुनीको यौनसँगको मोह थियो । सुन्दरी तरुनीलाई पनि बुढाको पैसासँगको मोह थियो । त्यहाँ दुबैको उद्देश्य केवल पाउनु थियो । जतिजति नसामा झुम्दै थिए । उतिउति बुढो तरुनीको यौवनमा लालायित थियो । बुढो तरुनीको मासुम चेहेरामा घोरिएर मस्किरहेको थियो । अरुको नजर छेकेर बुढोको हात तरुनीकै संवेदनशील अङ्गतिर केन्द्रित थियो । दुनियाँ नै पाए जस्तो बुढो तरुनीमै हराइरहेको थियो ।

हाउभाउ देख्दा लाग्छ बुढालाई फेरि बीस वर्षको जवानी आए जस्तो थियो । खानपिन रोमान्स हुँदै थियो । बुढालाई पिसाबले चाप्यो । बाथरुमको खोजीमा बुढाको नजर यताउता चहार्न लाग्यो । बुढाले सोध्यो वेइटरसँग बाबु बाथरुम कहाँ छ ? वेइटरले उतातिर जानु बाजे भन्यो । बुढाले आफ्नो कालो ब्याग युवतीकै छेउमा राख्यो । बुढो रेस्टुरेन्टको दक्षिण तिरबाट बाथरुममा गयो । त्यही मौका छोपी परम्परा आफ्नु संस्कृति र नैतिकता बिर्सिएर आधुनिकता र फेसनको दौडान दौडिरहेकी सुन्दरी बुढालाई कुम्लाएर टाप कसी ।

बुढो बाथरुमबाट आयो । टेबुलमा आउँदा त, न तरुनी, न त ब्यागमा राखेको पैसा । बुढो हिस्स पर्यो । पुर्पुरामा हात राख्यो । आफैँलाई धिक्कार्यो । बुढासँग रेस्टुरेन्टमा खाएको पिएको तिर्ने पैसा पनि रहेन । बुढालाई तरुनीले नङ्ग्याई । रेस्टुरेन्ट काउन्टरमा गएर बुढाले बिलौना गर्यो । आधुनिकता र कलियुगले मानिसहरुलाई पैसा र यौनको भोकमा भौँतारिदिएको छ । साहुले बुढाको हातमा लगाएको घडी फुकाएर आफ्नु लिनुपर्ने रकम असुल गर्यो ।

No comments:

Post a Comment