काठमाडौं। जगदम्बा हस्पिटालिटीले काठमाडौंको नक्सालमा वातावरणीय मूल्याङ्कन रिपोर्ट (इआईए) पास नगरी होटल निर्माण गरिरहेको पाइएको छ।
होटेल निर्माणका क्रममा केहि दिन अघि नक्सालस्थित भगवती बहालबाट प्रहरी प्रधान कार्यालय जाने बाटोको सडक भासिएपछि सोमवार व्यवस्थापिका संसदको शुसासन समितिले स्थलगत निरिक्षण गरेको थियो। निरिक्षणमा होटेल निर्माण गर्दा इआईए रिपोर्टसमेत पास नगरी होटेल निर्माण गरेको पाइएपछि सांसदहरुले आक्रोस पोखेका छन्।
समितिका सभापति मोहनसिंह राठौरले काठमाडौं महानगरपालिकाका इन्जिनियरसँगको मिलेमतोमा इआइए रिपोर्टविना भवन निर्माण हुन लागेको भन्दै बदमासी गर्नै सवै निकायलाई कारवाहीको दायरामा ल्याइने बताए। उनले सडक छेउमा भवन बनाउँदा वेसमेन्ट र साइड वाल तथा सडकका लागि सम्भावित क्षतिको अनुसन्धान नगरी काम गरेको बताए।
सांसद अकवाल महमद साहले पर्याप्त जग्गा नभएको स्थानमा पाँचतारे होटेल निर्माण गर्न दिने निकायलाई कारवाही गर्नुपर्ने बताए। ‘यति सानो ठाउँमा कसरी पाँचतारे होटेल बन्छ’ साहले प्रश्न गरे। महानगरपालिकाले कसरी भवन निर्माणको स्विकृति दियो, जिम्मेवार अधिकारीलाई छानविनको दायरामा ल्याउनुपर्छ, उनले भने।
त्यस्तै सांसद मिलन राजवंशीले नेपाल प्रहरीको प्रधान कार्यालय रहेको स्थानमा सुरक्षाका हिसावले पनि होटेल बनाउन उपयुक्त नहुने बताइन्।
सांसद ध्यानगोविन्द रञ्जितले कम्पनी र महानगरको मिलेमतोमा नक्सापास गरि वरिपरिका जनतालाई दुख दिएको तथा कानुनको धज्जी उडाएको बताए। कागजी कुरा मिलाएर स्थानीय जनतालाई दुख दिने काम भएको भन्दै संसदीय समितिमा यस विषयमा बहस हुनुपर्ने बताए।
होटेलले महानगरपालीकासंग १४ मिटरको वेसमेन्ट खन्ने स्वीकृति लिए पनि सडक भत्किएपछि १० मिटरको गहिराइवाट वेसमेन्ट हाल्न सुरु गरेको छ। कम्पनीले दुईतल्ले बेसमेन्टका लागि स्वीकृत लिएको भए पनि अब एक तल्लामा डवल पार्किङ सिस्टम बनाउन लागिएको शंकर समूहका कर्पोरेट विजनेस डभलपमेन्ट भाइस प्रेसिडेन्ट सुशील श्रेष्ठले बताए।
काठमाडौं महानगरपालिकाका इन्जिनियर रवीन्द्रकुमार पौडेलले कम्पनीले माटोको प्रोटेक्सन प्लान नगरिकन काम अगाडि बढाएका कारण समस्या आएको बताए। पौडेलले कम्पनीले महानगरपालिकासंग होटेल निर्माणको डिपिसी हुँदासम्मको लागिमात्र स्वीकृत लिएकाले थप संरचना बनाउन फेरी महानगरसँग स्वीकृति लिनुपर्ने बताए।
छिमेकी घरका लागि १० करोडको बीमा
होटेल निर्माणका क्रममा छिमेकी घरका कुनै पनि भौतिक संरचनामा क्षति भए वा भत्किए त्यसका लागि १० करोडको बीमा गरिएको जानकारी कम्पनीले दिएको छ। ‘भौतिक संरचना भत्किनेमा हामी सचेत छौं’ श्रेष्ठले भने ‘अहिले नै हामीले एक तलाको बेसमेन्ट घटाइसकेका छौ, यसवाट पनि सम्भावित क्षति कम भएको छ।’
तीनहप्ताभित्र एकतर्फि सवारी
कम्पनीले भत्किएको सडक निर्माणमा तिब्रता दिएको दावी गरेको छ। १० मिटर तलदेखि कम्पनीले पिल्लर सहितको सडकको छेउ निर्माणको कामलाई ४० प्रतिशत सकेको श्रेष्ठले जानकारी दिए। उनले अबको तीन सातभित्र सडकलाई एकतर्फि रुपमा सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको जानकारी दिए।
दुईतर्फी सवारी सञ्चालन हुने सडकमध्ये आधा भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ। अहिले त्यो सडक भै चल्ने सवारीसाधनलाई डाइभर्ट गरिएको छ।
पाँच रोपनी जग्गामा कम्पनीले १६ तलाको होटल निर्माण गर्ने प्रस्ताव गरेको छ।
bizmanduबाट
No comments:
Post a Comment