Tuesday, 31 January 2017

स्वस्थानी व्रतकथा, भाग – १९ (७ वर्षे गोमाको ७० वर्षका शिव शर्मासँग विवाह)


कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! भिक्षुकको श्राप पाई अति मलीन मुख लगाएर गोमा खिन्न भई बसिरहेकी थिई । उता गङ्गास्नान, हरिहरको पूजा र सुवर्ण, अन्न, वस्त्रादि दान गर्न गएका मातापिता आई पुगेर रोइरहेकी छोरीलाई देखी ‘तँलाई के भयो ? किन रोएर बसिरहेकी ?’ भनी बाबामहतारीले सोधनी गर्दा गोमा भन्छिन् — ‘हे बाबाआमा ! तपाईहरू गङ्गास्नान गर्न गएका बेला म पूजाका निम्ति अक्षता केलाइरहेकी थिएँ, त्यसबेला एक भिक्षुक आई बलेंसीबाट अलख जगाए । तब मैले ‘अक्षता केलाउँदैछु, एक छिन पर्खनुहोस्’ भनी अक्षता केलाई सकेपछि भिक्षा लिई सिकुवामा आई ‘हे भिक्षुक ! भिक्षा लिनुहोस्’ भनें । ती भिक्षुकले मलाई ‘यति बेलासम्म पर्खाएर भिक्षा दिन आईस् ? म त्यो भिक्षा लिन्न, दिने भए तेरा बाबाले पूजा गर्ने तैंले केलाएका अक्षता भिक्षामा दे’ भने । मैले पनि ‘लिने भए, यही भिक्षा लेऊ, अक्षता त दिने होइन’ भन्दा ती भिक्षुकले रिसाएर भने — ‘हे पापिनी ! तैंले अहङ्कार गरी मलाई भिक्षा दिईनस्, तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासित तेरो बिहे होस्, तेरा बाबामहतारीले कष्टसाथ गणेशको सेवाबाट पाएको सारा सम्पत्ति नष्ट होस्, तँलाई नाना थरीका दुःख आई लागून्, अनि तेरा बाबाआमासित चाँडै तेरो वियोग होस्’ भनी यति चार थोक श्राप दिई जान्छु भनी डमरु बजाई अलप भए । यति भनेर गोमा बलिन्द्र आँसुका धारा बगाउँदै डाँको छोडी रुन लागिन् ।

No comments:

Post a Comment