त्यतिबेलादेखि उनी अहिलेसम्म भारतमा नै फसेका छन् । उनले बीबीसीसँग आफ्नो जीवनका केही प्रसंगमाथि कुराकानी गरेका छन् ।
मेरो नाम वांग छी हो, उमेर ७७ वर्ष । म चीनको शियानयांग शहरमा जन्मिएको थिएँ तर ५४ वर्षदेखि भारतमा नै छु, अब भन्नुहोस् म कहाँको हुँ ? म मर्नुभन्दा पहिले एक पटकका लागि मात्र भएपनि चीन जान चाहन्छु । चीन फर्कन मैले प्रधानमन्त्रीलाई चिठ्ठी लेखिनँ कि अड्डा अदालत धाइनँ, केही गरेपनि काम लागेन ।
मेरो कथा कुनै उपन्यास वा फिल्मभन्दा केही कम छैन । जतिजति मेरो उमेर बढिरहेको छ, त्यति मलाई चीनमा बितेको आफ्नो बालापन याद आइरहेको छ तर त्यो पनि निकै धमिलो ।
चीनमा बाल्यकाल, भारतमा जवानीः
म एक गरिब परिवारमा जन्मिएँ । मेरा बुवा किसान थिए । हाम्रो परिवार आजकालको चीनियाँ परिवारजस्तो सानो थिएनँ । हामी पाँच दाजुभाइ थियौं र हाम्रा दुई बहिनी थिएँ । म माहिलो छोरो थिएँ । अब त म चीनमा बिताएको दिन बिर्सन थालेको छु । यो बाइक चढेको तस्बिर सन् १९५९ को हो तब म शांसी प्रान्तीय सरकारको खेलकूद विभागमा काम गर्दथें । मसँगै एक स्थानीय कर्मचारीकी छोरी हुन् जसको नाम अब मलाई याद छैन । यति नै बेला मैले गाडी चलाउन पनि सिकें ।
मैले निकै मेहनतले प्राविधिक तालिम गरें र सन् १९६० मा चीनियाँ सेनामा भर्ती भएँ । सेनाको पोशाक लगाएर म निकै खुसी भएको थिएँ र यो तस्बिर जुन तपाईंले देखिरहनुभएको छ त्यो त्यतिबेला नै खिचिएको हो । जब म सेनामा भर्ना भएँ त्यतिबेला नै मेरो बुवाको मृत्यु भयो तर परिवारले यो कुरा मसँग लुकाए ता कि मलाई पीडा नहोस् । परिवारबाट टाढा बस्न मलाई निकै नराम्रो लाग्थ्यो तर मलाई के थाहा म सधैंको लागि परिवारबाट टाढा रहनेछु ।
यो कुरा सन् १९६३ को हो, मेरो भाग्य अचानक सधैंको लागि परिवर्तन भयो । मैले बाटो बिराएँ, पहाडको जंगलको बाटो हिँड्दै म भारतको तवांग इलाकामा पुगें जो अरुणाचल प्रदेशमा छ । त्यहाँ मैले भारतीय रेड क्रसको जीप भेटें जसले मलाई भारतीय सेनामा पुर्याइदिए । भारतीय अधिकारीहरुका अनुसार म गलत ढङ्गले भारतमा छिरेको हुँ ।
जेल र नयाँ जिन्दगीः
म सेनामा भर्ना भएको दुई वर्षभित्र अक्टोबर सन् १९६२ मा भारत र चीनबिच लडाईं सुरु भयो । म सीमामा तैनाथ थिएँ पक्राउ परेपछि मलाई युद्धबन्दी बनाइयो । पहिला दिसपुर आर्मी क्याम्प र पछि दिल्ली पठाइयो । म तीन वर्षसम्म मेरठ र अजमेरको जेलमा बस्दै सोचिरहे अब मेरो भविष्य के होला ? त्यसपछि मलाई पंजाबको नाभा जेलमा पठाइयो, त्यतिबेला मलाई थाहा थिएन कि अब यहि देशमा मेरो वर्तमान र भविष्य दुबै छ । जिन्दगीमा के गर्ने भनेर म सोच्ने गर्दथें । यता बस्दा कुटाकुट, त्यता जाँदा के हुन्छ थाहा तैन । यस्तो समस्या मैले कहिले सम्म सहूँ ?’
विदेशी जमिन, भिन्न भाषा र दुश्मनको देशको सैनिक भएका कारण जति समस्या हुनु थियो त्यो सबै मैले सहें । चन्दीगढ हाई कोर्टमा मेरो मुद्दा चल्यो र मलाई रिहा गरियो । सन् १९६९ मा मलाई छोडियो । मलाई चीन किन पठाइएन मैले त्यो कुरा बुझिनँ । मैले आफ्नो परिवारलाई याद नगरेको कुनै दिन छैन । अब मेरो घर यहि हो, मैले बिस्तारै थोरै हिन्दी पनि सिकें । यत्तिका वर्ष बित्यो तब चीन जानका लागि आवश्यक ‘एक्जिट भिसा’ को प्रतिक्षा रोकिएको छैन । मैले चपस्टिक किनेको छु । मलाई चीनियाँ खानको एकदम याद आउँछ तर यहाँ कसरी पाउने ? आजसम्म मैले हातले भात र दाल खान सकेको छैन ।
त्यतिबेला तिरोडीको कम्पनी रोडमा मारवाडी सेठ इन्दरचन्द जैनको गहुँ पिस्ने पसल थियो । पुलिसले मलाई त्यहाँ सुम्पिए । त्यहाँका सेठले नै मलाई राजबहादुर नाम दिए । मैले एक हप्तामा नै काम सिकें र त्यहाँको झुपडीमा बस्न थालें । म निकै मेहनत र इमान्दारीले काम गर्ने गर्दथें । ५० किलोमिटर साइकल चलाएर बालाघाटसम्म जान्थें । मैले गाई पनि पालें र दुध बेचेर आफ्नो गुजारा गरें । मेरो धेरै खर्च थिएनँ, पैसा बचाएर मैले आफ्नो पसल खोलें । थुप्रै पटक मेरो पुलिससँग झगडा पनि भयो । उनीहरुले मलाई निर्घात कुटे तर म घुस दिन तयार थिइनँ ।
परिवार यो पनि हो र परिवार त्यो पनि
म आमालाई लगातार चिठ्ठी लेख्थें तर त्यो फिर्ता आउँथ्यो, आमासम्म पुग्दैनथ्यो । मेरो यादमा आमा कति रुनुहुन्छ होला भन्ने म सोच्ने गर्दथें र म पनि रुन्थें । थुप्रै वर्षपछि एयरमेलबाट पठाइएको एउटा चिठ्ठी आमासम्म पुग्यो, त्यसको जवाफ पनि आयो । त्यसमा लेखिएको थियो, ‘म जिउँदो छु भन्ने खबर सुनेर आमाको आधा रोग निको भएको छ ।’ मेरो अनुरोधमा अर्को पटक आमाको तस्बिर पनि आयो । आमासँग सन् २००२ मा मोबाइलमा कुराकानी पनि भयो । मर्नुभन्दा पहिले एक पटक मलाई हेर्ने रहर छ भन्नुहुन्थ्यो तर मैले आमाको त्यो रहर पूरा गर्न सकिनँ । मेरो तस्बिर हेर्दा हेर्दै सन् २००६ मा आमाले सधैंको लागि आँखा चिम्लिनुभयो ।
म गाउँमा एक्लै बसिरहेको थिएँ त्यसकारण मलाई विवाहको लागि दबाब आउन थाल्यो । एक इसाइ महिला मलाई राम्री लाग्थ्यो तर धर्म बिचमा आयो । अन्त्यमा सन् १९७५ मा सुशीलासँग मेरो विवाह भयो । विवाह निकै जबरजस्ती गराइएको थियो । यो विवाह न मेरो लागि सजिलो थियो न निकै गरिब परिवारकी सुशिलाको लागि । मानिसहरुले उनलाई सम्झाए–बुझाए । हामी एक–अर्कासँग कुरा गर्न पाउँदैनथ्यौं । केही महिना हामीले कुनै प्रकारको सम्झौता गर्यौं र केही समयपछि हामीलाई एक–अर्काको बानी लाग्यो । म चीन जाने कुराले सुशिला निकै डराउँछिन् । यदि म गएँ भने म कहिल्यै फर्केर आउँदिन भन्ने उनी सोच्थिन् ।
आज म आफ्ना दुई छोरी, छोरा, बुहारी, नाती र नातीनीसँग यो ठूलो परिवारमा बसिरहेको छु । उनीहरु नै मेरो जीवनका सहारा हुन् । मेरा बच्चाहरुले मलाई निकै माया गर्छन् । दुबै बच्चाले मलाई सधैं घेर्ने गर्दछन् । तर यो बुढेसकालमा एउटा मात्र इच्छा छ – चीनमा आफ्नो परिवारलाई एक पटक भेटुँ । म यी बच्चालाई छोडेर कहाँ जाऔंला । मेरो परिवार यहिँ छ ।
म अब ७७ वर्षको भएँ र मेरो दाइ चिर्युआन ८२ वर्षका । बीबीसीको मद्दतले पहिलो पटक मैले मोबाइल फोनमा आफ्नो दाइसँग कुरा गरें । उनी मभन्दा तीन हजार किलोमिटर टाढा बसेको छु तर म उनलाई देख्न र सुन्न सकिरहेको थिएँ मात्र छुन सकिरहेको थिइनँ । ५४ वर्षपछि मैले आफ्नो दाइलाई देखें मैले उनलाई चिन्न पनि सकिनँ । यतिका वर्षपछि मैले मन्ड्यारिनमा कुरा गरें । म आफ्नो भाषामा कुरा गर्न यहाँ कोही पनि छैनन् । म पटक–पटक रोइरहेको थिएँ ।
दाइले पटक पटक सोधिरहेका थिए – कहिले आउँछौ ? तिमीलाई भेट्नका लागि मात्र जिउँदो छु भनिरहेका थिए । चीनले यति धेरै प्रगती गरिसकेको छ कि यो देखेर म दङ्ग पर्छु भनेर सुनाइरहेका थिए । अब हाम्रो घरमा गाडी छन् र ट्र्याक्टरले खेती हुन्छ । म अहिले नै उडेर जाउँजस्तो हुन्छ ।
सन् २००९ मा मेरो भतिजो भारत घुम्न आएका थिए जसको मद्दतले मैले चीनियाँ पासपोर्ट पाएँ । अब मसँग चीनियाँ पासपोर्ट छ तर अधिकारीका अनुसार मलाई भारत बाहिर जान एक्जिट भिसा चाहिन्छ किनभने म यहाँ आएको भिसा छैन ।
Rato Pati
No comments:
Post a Comment