काठमाडौं, १७ माघ । देशको अखण्डता, सार्वभौमिकता, भाषा, संस्कृति अनि ईतिहासमाथि हुने प्रहारलाई कुनै पनि देशले क्षम्य मान्दैन । त्यसैले यस्ता गतिविधि गर्ने जोसुकैलाई राज्यले अपराधको कोटीमा राख्दै कारबाही गर्ने गर्छ । तर, हाम्रो (नेपालको) अवस्था भने फरक छ । यहाँ खुलमखुला देश टुक्र्याउने अभिव्यक्ति दिनेदेखि प्रमाणित ईतिहासलाई बंग्याउनेसम्मका काम गर्नेहरूले उन्मुक्ति पाउँदै आएका छन् । पछिल्लो समय गौतम बुद्धबारे भ्रम सिर्जना गर्ने एक प्रकाशन गृहलाई कारबाही गर्नुको साटो सरकारी संस्थाले त्यत्तिकै उन्मुक्ति दिएको खबर छ ।
प्रसंग, शुभारम्भ पब्लिकेशन प्रा.लिले पाठ्यक्रम विकास केन्द्रबाट पाएको उन्मुक्तिको हो । विद्यालय तथा कलेज स्तरका पाठ्यपुस्तक प्रकाशन गर्दै आइरहेको यो प्रकाशन गृहले प्रकाशन गरेको एक पुस्तकमा गौतम बुद्धबारे अत्यन्तै भ्रामक विषय उल्लेख गरिएको छ । यो प्रकाशनले शैक्षिक वर्ष २०७३/०७४ का लागि तयार पारेको सामाजिक शिक्षा विषयमा भारतीयहरूले लामो समयदेखि गर्दै आएको दावीलाई मलजल गर्नेगरी ‘बुद्ध भारतमा जन्मिएको’ गलत विषय उल्लेख छ । संगीता थेवेद्वारा लेखिएको पुस्तकमा गलत विषय उल्लेख भएको खुलेपछि यसको चर्को आलोचना भएको थियो । तर, कारबाही गर्नुपर्ने सरोकारवाला निकायले अहिलेसम्म भ्रम फैलाउने प्रकाशन गृह तथा यसकी लेखिकामाथि कुनै कारबाही नगरी छाडिदिएपछि शैक्षिक क्षेत्रका जानकारहरू तीनछक परेका छन् ।
पाठ्यक्रम विकास केन्द्रले पाठ्यसामग्रीमा हुने यस्ता त्रुटि रोक्न गल्ती गर्ने संस्था तथा व्यक्तिलाई कारबाही गर्नुपर्ने भएपनि कारबाहीको लागि कुनै जाँगर देखाएको छैन । पाठ्यक्रम विकास केन्द्रले आँखा चिम्लिंदा गलत सन्देशहरू विद्यार्थीमा प्रवाह भइरहेको छ । पटक–पटक यसबारे पाठ्यक्रम विकास केन्द्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जनगुनासो व्यवस्थापन शाखामा उजुरी परे पनि पाठ्यक्रम विकास केन्द्रले अटेरी गर्दै यस्ता कार्यलाई निरुत्साहित गर्नेगरी कारबाही गर्ने जाँगर नचलाएको आम गुनासो रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसबारे कारबाही गर्न निर्देशन दिएपनि पाठ्यक्रम विकास केन्द्रले कडाभन्दा कडा कारबाही गर्नुको साटो स्पष्टीकरण सोधेर औपचारिकता मात्रै निर्वाह गरेको खबर छ । उसले कारबाही गर्न छाडेर सामान्य स्पष्टीकरण सोधेर सचेत गराइएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले यस्तो पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएका हुन् ।
‘पाठ्यक्रम विकास केन्द्रले यस्तो गम्भीर प्रकृतिको गल्ती गर्ने प्रकाशन गृहलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने भएपनि सामान्य स्पष्टीकरण सोधेजस्तो गरेर छाडेको छ,’ पाठ्यक्रम विकास केन्द्र स्रोतले भन्यो, ‘पाठ्यक्रम विकास केन्द्रको यस्तो गैरजिम्मेवार रवैयाले आउँदा दिनमा यस्ता गल्ती गर्नेहरूलाई निरुत्साहित गर्नुको साटो थप उत्साहित बनाएको छ ।’ पाठ्यक्रम विकास केन्द्रले भने शुभारम्भ पब्लिकेशन प्रा.लिले गल्ती स्वीकारी सकेकाले उसलाई सचेत गराएर छाडेको बताएको छ । पाठ्यक्रम विकास केन्द्र स्रोतले यस्तो गम्भीर गल्ती गर्नेलाई कारबाही नगर्नुले यसमा पाठ्यक्रम विकास केन्द्रका उच्च अधिकारीको समेत नियत सफा नभएको बतायो । शैक्षिक पाठ्यक्रममा भएका यस्ता गल्ती/कमजोरी औंल्याएर पाठ्यक्रम विकास केन्द्रले पाठ्य सामाग्री खारेज गरेर, पाठ्यक्रममा सुधार ल्याउनु पर्ने भएपनि यो निकायले यसतर्फ उचित ध्यान नदिंदा पछिल्लो समय यस्ता मनपरी गर्ने प्रवृत्ति ह्वात्तै बढेर गएको साँघु साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment