Monday, 30 January 2017

तिवारी हत्यामा काठमाडौंका ‘डन’ !


काठमाडौं, १८ माघ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा काठमाडौंका गुन्डा नाईकेहरूको समेत संलग्नता खुलेको छ ।

कुमार घैंटेको हत्यापछि फरार रहेका सिफलका गुन्डा नाइके समिरमान सिंह बस्नेत समेत तिवारी हत्यामा संलग्नता खुलेको उच्च प्रहरी स्रोत बताउँछ । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

गत ४ पुसमा तिवारीको गोली हानी हत्या भएको थियो । डेढ महिना बित्दा पनि हत्यामा संलग्न कसैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बुटवलमा गुन्डागर्दी गर्ने मनोज पुन र बस्नेत मिलेर तिवारीको हत्या भएको हो ।

उनीहरूले अरुलाई पनि तर्साएर पैसा उठाउन हत्या गरेको स्रोत बताउँछ । बस्नेतको संलग्नता खुलेपछि उनलाई पक्राउ गर्न चासो दिइएको छैन ।

बस्नेत राजधानीमा कांग्रेसका नेताहरूको संरक्षणमा बसेर गुन्डागर्दी गर्दै आएका थिए । कुमार घैंटेको निकट रहेका उनी घैंटे डेढ वर्षअघि प्रहरी इन्काउन्टरमा मारिएपछि भागेका हुन् । उनी भारतमा लुक्दै आएको स्रोतले बताउँछ । बुटवलका पुन पनि भारतमै बस्दै आएका छन् ।

भारतमा एकीकृत भई उनीहरूले धम्की र हत्याको धन्दा सुरु गर्न लागेका थिए । त्यसैको सुरुवातका रुपमा तिवारीको हत्या गरेका हुन् ।

हत्यापछि विभिन्न व्यवसायीहरूलाई धम्काएर पैसासमेत असुलिसकेका छन् । उनीहरूलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन ।

एआईजी बिज्ञानराज शर्माको अध्यक्षतामा छानविन समिति गठन भएको थियो । शर्माले पनि छानविनमा चासो दिएका छैनन् ।

No comments:

Post a Comment