घैंटेको सम्पति यति मात्रै हो त ? त्यसो भए घैंटेको इन्काउण्टरपछि अलपत्र परेको सम्पति यही एक तल्ले घर मात्र हो ? घैंटेको सफाया नहुँदै उनको करोडौंको सम्पति भएको विवरण प्रहरीसँग थियो । तर, त्यसमा कसैले छानविन त के फाइल पल्टाएर समेत हेरिएको छैन । प्रहरीले तयार पारेको विवरण अनुसार कुमार घैंटे डन भनिएकाहरु मध्ये सबैभन्दा धनी थिए । उनको करिब २० करोड भन्दा बढीको सम्पति थियो भनिएको थियो । तर, अहिले त्यो सम्पति कसको नाममा छ त ? न राज्यले खाजेको छ, न उसका आफन्तको हातमा परेको छ ? कति सम्पति थियो घैंटेको ? कुमार घैंटेको नयाँ बसपार्क नजिकै २० आना जग्गा थियो, जसको मूल्य अहिले ७ करोडमाथि छ ।
स्रोतहरूका अनुसार घैंटेको उक्त जग्गा उनकै सबैभन्दा विश्वासिलो पात्र शान्ता महर्जनको नाममा छ । त्यही जग्गामा अहिले ट्रष्ट बनाउने काम भइरहेको छ । त्यस्तै सामाखुशी नजिकै एउटा गुठीको जग्गा पनि घैंटेकै थियो । त्यही जग्गामा घर बनाउने स्केच समेत तयार पारेका थिए । १६ आना जग्गामा ४० लाख तिर्न बाँकी भएको घैंटेले आफू निकट व्यक्तिहरुलाई बताएका थिए । उक्त जग्गा घैंटेकी छोरीको नाममा ल्याउने प्रक्रिया चलिरहेको छ । नावालिकाको लागि भन्दै उक्त जग्गा छोरीलाई दिलाउन अदालतमा प्रक्रिया चलिरहेको स्रोतले जनाएको छ । घैंटेले धादिङको नौविसेमा ढुंगा खानी संचालन गरेका थिए । ७ जना भन्दा बढीको संयुक्त लगानी रहेको त्यो ढुंगा खानीमा एक करोड भन्दा बढी घैंटेको लागानी थियो ।
नौविसेमै घैंटेको एक सय रोपनी जग्गा पनि छ । ‘बगैचा बनाएर राखिएको सय रोपनी जग्गा पनि कस्ले खायो हामीलाई थाहा छैन, खानेले मेरो नाममा छ भन्दैन, कसैले खोज्दैन,’ स्रोतले भन्यो । एउटै रेष्टुरेन्टमा प्रहरीकै हाकिमसँग लगानी गरेका थिए लाजिम्पाटस्थित फ्राइडे रेष्टुरेन्टमा घैंटेको लगानी थियो । तर, त्यसमा उसलाई प्रहरीका अधिकृतहरुले समेत साथ दिएका थिए । दुई करोडको लगानी रहेको फ्राइडेमा रोकेश कार्कीको लागानी भएको देखाइएको थियो । तर, त्यसमा प्रहरीका उच्च अधिकृतहरुको समेत लगानी भएको स्रोतको दाबी छ । गजुरमुखी ठेक्का कम्पनिमा घैंटेको लगानी थियो ।
‘क’ श्रेणीको ठेक्का कम्पनीमा नुवाकोटका कांग्रेस सभापति जगदिशनर सिंह केसी, फरार सूचीमा रहेका समिर बस्नेत, घैंटेका विश्वास पात्र शान्ता मर्हजन र प्रितम थापाको लगानी थियो । स्रोतका अनुसार दिपक गौतमको नाममा रहेको कम्पनी घैंटेको समूहले गौतमलाई सेयर दिएर साइड लगाएका थिए । तर, पछि फेरि १२ करोड लोन तिरेर दिपक गौतमले अहिले आफ्नै बनाएको स्रोतको दाबी छ । डोजर र टिप्पर पनि गायब कुमार घैंटको नाममा एनआईसी, इन्भेष्टमेन्ट र स्ट्यान्डर्डचार्टड बैंकमा खाता छ । जसमध्ये इन्भेष्टमेन्ट बैंकमा केही नगद हुन सक्ने स्रोतले बतायो । त्यसबोहक घैंटेले सञ्चालन गरिरहेको एउटा डोजर, दुईवटा टिप्पर र एउटा गाडी गायब भएको छ । ‘सबै गाडीहरु घैंटेले कस्को नाममा राखेको थियो भन्ने केही सीमित प्रहरी अधिकृतहरुलाई समेत जानकारीमा छ । तर त्यसलाई किन बाहिर ल्याउन खोजिएन हामीले बुझ्न सकेका छैनौं,’ स्रोतले भन्यो । प्रहरीले घैंटेको इन्काउण्टर लगतै विश्वासपात्र शान्ता महर्जनलाई पक्राउ गरेको थियो ।
स्रोतका अनुसार डोजर, टिप्पर, नौविसेको सय रोपनी जग्गा, नयाँ बसपार्कको २० आना, ढुंगाखानी लगायत गरेर २५ करोड भन्दा बढीको सम्पति थियो । प्रहरी इन्काउटरपछि हङकङबाट आएकी कान्छी श्रीमतीले घैंटेको सम्पतिमा चासो दिएकी थिइन् । तर, उनी घरको सामान समेत फुटाएर खाली हात फर्किएकी थिइन् । चरीको क्रसरदेखि लाखौंको गाडी गायब घैंटे प्रहरी कारबाहीमा मारिने दोस्रो पात्र थिए । त्यसअघि ७१ साल साउन २१ गते धादिङका दिनेश अधिकारी ‘चरी’को देह लिला समाप्त भएको थियो । तर, उनीसँग भएको भनिएका करोडौंका सम्पतिहरु पनि कहाँ छ थाहा छैन । चरीका दाजु ध्रुव अधिकारी भन्छन्, ‘हामीले पनि सुनेको भाइको कराडौंको सम्पति थियो रे ? थुप्रै ठाउँमा उसको लगानी पनि थियो भन्थे । तर, अहिले ति सम्पति र लगानीहरु कसले पचायो हामीलाई थाहा छैन ।’ उनका अनुसार चरीको धादिङकै खानीखोल क्षेत्रमा रहेको क्रसरमा एक करोड भन्दा बढीको लगानी थियो । ६५ सालमा खोलिएको त्यो क्रसर दिपक खतिवडाको नाममा थियो ।
प्रहरीले पाँच वर्षअघि निकालेको सम्पति विवरणमा समेत धादिङको क्रसरमा चरीको लगानी छ भनिएको थियो । तर, अहिलेसम्म क्रसरमा भएको लगानीका बारेमा कसैले चासो दिएको छैन । त्यो क्रसर बाहेक अरु कुन-कुन ठाउँमा उसको लगानी थियो भन्ने परिवार पनि थाहा छैन । दाइ ध्रुव अधिकारीका अनुसार मारिनु अघि चरीले बा १० च ५९९३ नंम्बरको भाक्सवागन गाडी चढ्दै आएका थिए । जुन राजन श्रेष्ठको नाम थियो । चरि मारिएसंगै त्यो गाडी पनि गायब भएको छ । फिल्म निर्माता रोज राणाले पनि चरीको ३० लाख खाइदिएको दाइको दाबी छ । रोजले केही वर्षअघि फिल्म बनाउन भन्दै ३० लाख लिएका थिए । चरी मारिएपछि रोजले ‘जय परशुराम’ नामको फिल्म त्यही पैसामा बनाएको ध्रुवको दाबी छ ।
प्रहरीले निकालेको विवरण अनुसार चरीसँग ७ देखि १० करोड बराबरको सम्पती देखिएको थियो । आफ्नो नाममा सम्पति नराख्दा खोज्न सकिएनः एसएसपी खनाल घैंटेको इन्काउण्टर लगतै प्रहरीले उसको सम्पति पनि खोजी गर्ने बताएको थियो । तर, त्यो पार लाग्न सकेन । प्रहरी कारबाहीमा मारिएका गुण्डाहरुको सम्पति उनीहरुकै नाममा नहुँदा अनुसन्धान गर्न समस्या देखिएको महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल बताउँछन् । मारिएका डनहरुको विवरण हामीसँग छैनः सम्पति शुद्धीकरण विभाग अवैध तथा आपरापधक धन्दाबाट आर्जन गरेको सम्पति छानविन गर्ने सम्पति शुद्धीकरण विभागसँग पनि प्रहरी कारबाहीमा मारिएका चरी र घैंटेको सम्पति विवरण छैन ।
विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार दिपक मनाङ्गे, चक्रे मिलन, गणेश लामा, परशुराम बस्नेतसहित पाँच जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर, चरी र घैंटेविरुद्ध कुनै पनि उजुरी नपरेको र प्रहरीले विवरण नदिँदा विभागले छानविन गर्न नसकेको महानिर्देशक सिटौला बताउँछन् । ‘गुण्डाहरुले स्रोत नखुलेको पैसा बैंकमा राखेको छ भने बैंकले सूचना दिनु पर्छ, अरु सम्पतिबारे प्रहरी अथवा कुनै माध्यमबाट विभागमा सूचना, उजुरी आउनुपर्छ तर, त्यस्तो केही पनि नआएपछि हामीले उनीहरुको सम्पति कसले खायो, खोज्न पनि सकेनौं,’ महानिर्देशक सिटौलाले अनलाइनखबरसँग भने । -अनलाइन खबर बाट
No comments:
Post a Comment