काठमाडौ । भारतको ४८ औँ धनी व्यक्तिका रुपमा रहका पतंजलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलो स्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका छन् । पुर्ख्यौली गाउँ स्याङ्जाको काफलडाँडा भएका बालकृष्ण भारतीय योगगुरु रामदेवका सबैभन्दा निकट विश्वासपात्र तथा भारतमा दैनिक उपभोग्य सामाग्रीको उत्पादन र विक्री वितरणमा कीर्तिमान बनाइरहेको पतंजलि आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक हुन् । भारतबाहिर पतजंलि योगपीठले आफ्नो पहिलो कारखाना नेपालको बारा जिल्लामा आगामी नोभेम्बरमा उद्घाटन गर्दैछ ।
अन्तर्राष्ट्रिय पत्रिका फोर्बसले सार्वजनिक गरेको धनाढ्यहरुको सूचीमा करिब साढे दुई खर्ब रुपैयाँ सम्पत्ति भएका आचार्य बालकृष्ण भारतका ४८ औँ धनी व्यक्ति भएको जनाएको थियो । उसका अनुसार तीव्र रुपमा दैनिक उपभोग्य सामाग्रीको विस्तार गरिरहेको १० वर्षअघि स्थापित पंतजलि आयुर्वेद लिमिटेडको ९७ प्रतिशत स्वामित्व बालकृष्णसँग छ । उनी आफ्नो मस्तिष्क नै कम्प्युटर भएको बताउँछन्।
झण्डै ११ हजार मानिसहरु काम गर्ने पंतजलि आयुर्वेदको नीति, उत्पादन, विस्तार र योजना उनले हेर्दै आएका छन् । बाबा रामदेव र आफूले पतंजलिबाट कुनै तलब लिने नगरेको उनले जनाए ।
नेपालको स्याङ्जास्थित काँफलडाँडाको पुर्खयौली गाउँमा हुर्किएका उनी ५ कक्षा पढेपछि भारत पसेका थिए । आफ्ना पिताले भारतमा चौकीदारीसहित विभिन्न मजदुरी गरेको उल्लेख गर्दै आचार्य बालकृष्णले सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकुलमा अध्ययन गर्दादेखि योगगुरु रामदेवसँग गहिरो मित्रता बसेको बताए । आफ्ना आमाबुबा र आफन्त अहिले पनि स्याङ्जामै बसिरहेको र परिवारले सामान्य खेतीपाती गरी जीवनयापन गरिरहेको उनले बताए
No comments:
Post a Comment