बाँके, माघ १३ – छोटा पहिरनमा गीत गाउँदै दर्शक नचाउन सिपालु गायिका ज्योती मगरले बाँकेको खजुरामा बिहीबार पुरानै पारामा प्रस्तुति दिइन् । सबैभन्दा अन्तिममा प्रस्तुति दिन मञ्चमा आएकी ज्योती दर्शकको अपेक्षाझै छोटा पहिरनमा नै देखिइन् ।
ज्योतीले बेलुकाको समयमा खजुरा महोत्सवमा सहभागी सयौँ युवालाई आफूसँगै नचाइन् । उनले जिम्वाल बाको आँगनीमा, उही मुलाको सिन्की, मायालाई बैना भो, ढाडे बिरालो, सुर्खेत बुलबुल ताल, पिरतीमा दम छ लगायतका गीत प्रस्तुत गरेर दर्शकलाई नचाउन सफल भइन् । पहिरन र हाउभाउले दर्शकलाई उत्तेजित बनाउँदै आएकी ज्योतिले गीत गाइरहँदा धेरैजसो दर्शक भने मोवाइलमा ज्योतीले गीत गाएको दृष्य खिचिरहेका देखिन्थे ।
ज्योतिभन्दा पहिले प्रस्तुति दिएका हाँस्य कलाकार कमल गाउँलेले पनि दर्शकलाई आफ्नो प्रस्तुतिले हसाउन सफल भएका थिए । यसैगरी नृत्याङ्गना श्रृष्टी शाहीले केही गीतमा आफ्नो प्रस्तुति राखिन् । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ माघ १० गतेदेखि बाँकेको खजुरामा सञ्चालन भएको कृषि, पर्यटन प्रवद्र्धन साँस्कृतिक एवं ऐतिहासिक महोत्सवमा बिहीबार दश हजार बढी दर्शकले मेला अवलोकन गरेको महोत्सव समितिले जनाएको छ । महोत्सव माघ २१ गतेसम्म चल्नेछ ।
No comments:
Post a Comment