मधेस आन्दोलनको १० बर्ष पुरा भएको छ । काठमाडौंमा तत्कालिन फोरम नेपालका संयोजक उपेन्द्र यादब लगायतका नेताहरु अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै प्रतिलिपी जलाएपछि लहानबाट आन्दोलन सुरु भएको थियो । लहानमा मझौराका विद्यार्थी रमेश महतोको हत्या भएपछि मधेसभर आन्दोलन फैलिएको थियो । उक्त आन्दोलनबाट तत्कालिन स्वर्गिय गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार झुकेर मधेसी मोर्चासँग सम्झौता गरे । तर हालसम्म ति मागहरु पुरा हुन सकेका छैन् ।
हुन त १० बर्षमा मधेसको राजनीतिमा धेरै उतारचढाब आयो । तरपनि मधेसको मुद्दा पुरा नभएपनि मधेसवासी चिन्तित छन् । मधेस आन्दोनलपछि पहिलो संविधान सभाको चुनाव भयो । संविधान बनेनन् । त्यसपछि दोस्रो संविधानसभाको चुनाव भयो, जसले संविधान जारी त गर्यो तर मधेस विरोधी । जुन संविधान हालसम्म कार्यान्वयण हुन सकेका छैन् । अहिले सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकार छ । उनले मधेसी दलसँग त समर्थन पाए, मधेसको मुद्दा सम्बोधन हुनेगरी संविधान संशोधन गर्ने प्रतिवद्धता पनि जनाए तर हालसम्म केहि गर्न सकेका छैन् । हो दिएको हो त धोका मात्र ।
सलाम छ– सहिद रमेश महतोलाई । जसले अदम्य साहस देखाए, ज्यानको कुर्वानी दिए र मधेसलाई अधिकार लिन बाटो देखाए । रमेश महतो सहिद भएपछि आगो झै मधेसभर फैलिएको आन्दोलन अझै जारी छ । हालसम्म मधेसमा सवा सयभन्दा बढी सहिद भइसका छन् । मधेसका सबै महान सहिदप्रति हार्दिक श्रद्धासुमन ।
०६३ माघ ५ मा यसरी सहिद भए रमेश
अन्तरिम संविधान मधेस विरोधी रहेको भन्दै तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादबले ०६३ माघ ३ गते राजधानीको माइतिघर मण्डलामा आगो लगाएर जलाए । तत्कालीन सरकारले अन्तरिम संविधानको प्रतिलिपी जलाएको आरोपमा उपेन्द्रसहित २८ नेतालाई तत्कालै पक्राउ गर्यो । उपेन्द्रसहितका नेतालाई छुटाउन मधेसभर आन्दोलन सुरु भयो । कतै सडक जाम त कतै टायर बालेर प्रदर्शन । लहानमा पनि राजमार्ग अवरुद्ध पारियो ।
उपेन्द्र पक्राउ परेको पर्सी पल्ट अर्थात् माघ ५ मा लहानमा राजमार्ग अवरुद्ध पार्न बढी यूवा तथा विद्यार्थी सक्रिय थिए । नेतृत्व गरिरहेका थिए तत्कालिन फोरम नेपालका केन्द्रिय सदस्य कृष्णबहादुर यादब । सोही बेला तत्कालिन प्रचण्ड नेतृत्वको नेकपा माओवादीका नेताहरु गाडी चढेर पूर्वबाट पश्चिमतर्फ जान लागेका थिए । आन्दोलनकारीले गाडी रोक्यो । सोही क्रममा गाडीबाटै माओवादी लडाकुले गोली चलाए । मझौरा घर भई लहानमा अध्ययनरत विद्यार्थी रमेश महतो ढल्यो । यो खबर मधेसभर आगो झै झैलियो र आन्दोलन झन उग्र रुप लियो ।
लहानमा रोकिराखेका करिब दर्जनौं सवारी साधनमा आगो झोसियो । एकै छिनमा लहानको मुहार फेरियो । सधै सेतो आकास देखिने लहान दिउँसै अन्ध्यारो भयो । मानिसहरु नाक मुख छोपेर मात्र सडकमा निस्किरहेको देखिन्थ्यो । दर्जनौं गाडी मात्र जलेन्, आधा दर्जन लहानका सरकारी कार्यालयमा समेत आगजनी गरे आक्रोसित आन्दोलनकारीहरु । राजमार्गको करिब एक किलोमिटर क्षेत्रमा जहीँ तहीँ टायर दिनभर बलिरह्यो । जसले गर्दा लहानको आकाश धुँवाले कालो देखिन थालेको थियो ।
लहानबाट फैलिएको विद्रोह मधेसभरी फैलिए । लहानमा झण्डै पाँच जना सहिद भए । मधेसका अन्य जिल्ला गरी कूल ५४ जना सहिद भए । लहानमा माओवादी लडाकुको गोली खाएर विद्यार्थी समेत महतो सहिद भए भने मधेसका अन्य जिल्लामा झडपका क्रममा सुरक्षाकर्मीको गोलीबाट सहिद भएका थिए । आन्दोलन झन झन उग्र रुप लिन थाले, पछि तत्कालीन प्रधानमन्त्रीले माघ १७ गते अर्थात १२ दिनपछि पहिलो सम्बोधन गरे । तर वार्ताबाट समाधान गर्ने बताएपनि संघीयताबारे चर्चा नै नगरेकोले मधेसीले स्वीकारेनन् । आन्दोलन जारी गर्यो ।
आन्दोलन नरोकिएपछि बाध्य भएर तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइराला माघ २४ गते फेरी दोस्रो सम्बोधन गरे । उनले दोस्रो सम्बोधनमा संघीय राज्य प्रणाली र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी विषयमा अन्तरिम संविधान संसोधन गरेर आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका थिए । उनको सम्बोधन मधेसीले स्वीकारे र १९ दिन पछि त्यो आन्दोलन फिर्ता लिएको थियो ।
के पाए मधेसी जनताले ?
मधेसीको भावना अनुसार अन्तरिम संविधानले राज्य संन्त्रमा सम्मान सहभागिता, पहिचान र समानुपातिक निर्वाचान प्रणाली र संघीयता नस्वीकारेपछि मधेस आन्दोलन सुरु भयो । हाल पनि जारी छ । तर मधेसवादी दलकै नेताहरुका कारण हालसम्म मधेसका सबै माग पुरा हुने अवस्था छैन् । मधेसी मोर्चा आन्दोलनको नाममा त ठुलै सिँढी नचढेको भने होइन् । तर स्वार्थमा डुबेपछि मधेस आन्दोलनले सबै उपलब्धि हासिल भएन् । त्यसैले त मधेसी नेता गाली सुन्न बाध्य छन् ।
नयाँ संविधानमा के पायो मधेस ?
मधेसबादी दलको विरोधका बाबजुद पनि स्वर्गिय सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गर्यो । संविधान जारी भएको डेढ बर्ष वित्न लाग्दा पनि मधेसले स्वीकारेका छैन् । उनकै सरकारले पहिलो पटक संविधान संशोधन समेत गरिसक्यो । अहिले वर्तमान प्रचण्ड नेतृत्वको सरकार फेरी संविधान संशोधन गर्न तयारीमा जुटेका छन् । तर न त संविधान संशोधन हुने छाँटकाट देखिएको छ, न त संविधान संशोधन भएपनि मधेसीले मान्ने अवस्था छ । मधेसवादी दलले आफूहरुसँग छलफल नै नगरी संशोधन प्रस्ताव ल्याएकोले संविधान संशोधन गर्नुको अर्थ नै नभएको बताउँछन् ।
हुन त प्रचण्ड नेतृत्वको सरकारले सँसदमा जुन संशोधनको प्रस्ताव गरेको छ, त्यसमा पनि नेकपा एमाले सहमत छैन् । एमाले अध्यक्ष ओलीले सिधै भन्दै आएका छन् कुनै पनि हालतमा संविधान संशोधन गर्न दिन्नँ । यदि एमालेले संविधान संशोधन गर्न सहमत नभए काँग्रेस, माओवादी केन्द्र र अन्य साना दल सहमत भएर पनि संविधान संशाधन हुने छैन् । एमाले आफूलाई मधेस विरोधी नभएको दावी गरेपनि हर्कत भने त्यसको ठिक विपरित देखाउँछ । यसले देश झन द्धन्द्धमा धकेलिने निश्चित छ । मधेससँग विभेद गरी देशको विकास सम्भव छैन् । एमालेले मधेस नीति बदनुपर्छ । होइन् भने मधेसले पनि आउने दिनमा एमालेको साथ छाड्नेछ ।
मधेसको एजेण्डा एउटै, तर पार्टी किन धेरै ?
मधेस आन्दोलनबाट जन्मेका मधेसवादी दलहरु पटक पटक फुटेपछि कमजोर बनेको छ । मधेसको मुद्दा एउटै भएपनि मधेसमा धेरै दल हुँदा मधेसी जनता चिन्तित छन् । मधेसवादी दल फुटेर होइन् जुटेर अबको चुनावमा जानुपर्छ भन्ने मधेसी जनता चाहन्छन् । मधेस आन्दोलनका अगुवा कृष्णबहादुर यादब दुई दिन अगाडी लहानमा पत्रकार सम्मेलन गरी नै सबै मधेसवादी दलका नेताहरुलाई एक हुन आग्रह गरे । मधेसवादी दलहरु एक नभएसम्म मधेसको माग पुरा नहुने उनको कथन छ । उनको मात्र होइन्, हरेक मधेसीको चाहना छ त्यही छ । त्यसैले मधेसी जनताको भावना मधेसवादी दलहरुले बुझ्न जरुरी छ । मधेसमा पनि हिड्न कठिन हुन्छ । जसरी अहिले एमालेलाई कठिन भइरहेको छ । मधेस आन्दोलनको १० बर्ष वितेपछि मधेसको माग पुरा नहुनु विडम्बना हो । यो हरेक दोष मधेसवादी दलमाथि त परेकै छ । यदि अब पनि एक हुन नसके अगामी बाटो हिड्न अति गाहे हुनेछ । जसको फाइदा अगामी निर्वाचनमा अन्य मधेस विरोधीहरुले नै लिने सम्भावना छ । त्यसैले मधेसवादी दलका नेताहरु मधेसी जनताको भावना बुझेर अगामी बाटो तय गरोस् ।
सीके राउतको मुद्दा बलियो हुने सम्भावना
मधेसको मुद्दा सम्बोधन गर्न जसरी अहिले मुख्य दलहरु हिच्कीचाइरहेका छन्, यसले झन द्धन्द्ध बढाउँछ । मधेसवादी दलमाथि जनताको विश्वास टुटिसकेको भन्दा फरक पर्दैन् । अब मधेसी जनता डा. सीके राउतलाई अपनाउन थालेका छन् । राउतको अलग मधेस देशको मुद्दा बलियो हुँदै गएको छ । तर मधेसी पनि अलग देश बनाउन भने पूर्ण इच्छा जाहेर गरिसकेका छैन् । तर मधेसको मुद्दा यदि सम्बोधन नभए जनता बाध्य भएर डा. सीके राउतको मुद्दा अगाडी बढाउँछ । र एक दिन मधेस देश अलग बन्न सक्छ । त्यसैले मधेस विरोधी नीति बोकेका हरेक दलले सोच्ने दिन आइसकेको छ । अब उनीहरुकै हातमा छ, नेपालभित्रै मधेसलाई पूर्ण अधिकार दिएर सँगै राख्ने कि मधेस अलग देश बनाउन दिने । यो कुराको हेक्का होस् मुख्य राजनीतिक दलहरुलाई ।
No comments:
Post a Comment