Monday, 23 January 2017

रामेछापको मझुवा घटनाका ३ जना अभियुक्त देखिने पात्र मात्र होः डिआइजी उपाध्याय

रामेछाप, १० माघ । नेपाल प्रहरीका मध्यमाञ्चल प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) पशुपति उपाध्यायले रामेछापको मझुवा गाविसमा भएको हत्या काण्डमा देखिएका ३ जना अभियुक्तहरु देखिने पात्र मात्र भएको बताएका छन् । उनले सो घटना लहरो तान्दा पहरो गर्जिने अवस्था देखिएको बताएका छन् । उनले घटनाको पछाडी ठूलो अपराधिक समुहको संलग्नता रहेको उनले बताए ।

रामेछापको सदरमुकाम मन्थलीमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यायले मझुवाको निगालपानी घटनामा दुई तीनजना अपराधिक समुहका मानिसहरुको मात्र नभएको बताए ।

नेपालमा साना हतियारको प्रयोग सुरक्षा चुनौती बन्दै गएको बताउँदै निगालपानी घटनामा पनि साना हतियारको प्रयोग भएको उनले बताए । उनले शान्ति स्थापना र अपराध अनुसन्धानमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउँदै न्युजलाई भ्युजमा नबदलिदिन आग्रह गरे । उनले नेपाल प्रहरीले देश भरिनै गम्भिर प्रकृतिका पुराना अपराधका घटनाहरुको फाइल खोलेको जानकारी दिँदै रामेछापको सन्दर्भमा पनि सो कार्य भई रहेको बताए । नेपाल प्रहरीलाई अहिले पनि साधन र स्रोत सम्पन्न गर्न नसक्दा अपराध नियन्त्रण र अनुसन्धानको कामममा समस्या भएको उनले बताए । मध्यमाञ्चलका ५ सय ८२ वटा प्रहरी युनिट मध्ये ३ सय वटा युनिटमात्र आप्mनै घरमा बसेको उनले जानकारी दिए । बाँकि प्रहरीका युनिटहरु साँघुरोसँग भाडामा लिएको घर वा अन्य सरकारी कार्यालयमा शरण लिएर बस्नु पर्ने अवस्था रहेको उनले बताए ।

मध्येक्षेत्र प्रहरी केही बढी मधेश र सिमा क्षेत्रमा हुने अपराधिक घटना रोकथाम र त्यस्ता घटनाका अपराधिको खोजिमा लागेकोले पहाडमा त्यति ध्यान दिन नसकेको बताए । तर अब पहाडी क्षेत्रमा भएका अपराधका घटनाको अनुसन्धान र अपराध रोकथाममा पनि त्यतिकै क्रियाशिल हुने उनले बताए ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीले रामेछाप जिल्लाका केही प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नती गर्नुपर्ने तथा केहीस्थानमा तत्काल प्रहरी चौकीहरु स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले त्यसको लागि पहल गरिदिन समेत मध्यमाञ्चल प्रहरी प्रमुखलाई आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरुले जिल्लामा पछिल्लो समय सुरक्षा अवस्थामा सुधार देखिएको भए पनि गम्भिर प्रकृतिका पुराना अपराधका घटनाको अनुसन्धान सफल नहुँदा प्रहरी प्रतिको जनताको विश्वास अझै कायम हुन नसकेको बताए । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिनिधि, जिल्ला प्रहरी प्रमुख कुमोद ढुंगेल, सञ्चारकर्मीहरु तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment