Sunday, 22 January 2017

भोजसहित लोहनीलाई कुर्सी

काठमाडौं, १० माघ । चक्रीय प्रणालीअनुसार माघ ११ गतेदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष बन्न लागेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीको निवासमा भीडभाड सुरु भइसकेको छ ।

राष्ट्रिय अध्यक्ष पद हस्तान्तरणका लागि पशुपति शमशेर राणाले शुक्रबार लोहनीलगायत केही सिनियर नेतालाई बोलाएर रात्री भोज दिएका छन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।

चक्रीय प्रणाली भनिए पनि राप्रपाभित्र यसअघि पद हस्तान्तरण सहज रुपमा हुन सकेको थिएन । तर यसपटक राणाले लोहनीलाई बोलाएरै रात्री भोज दिनुलाई रहस्यमय मानिएको छ ।

आगामी माघ ६ गतेदेखि हुन लागेको एकता महाधिवेशनको पूर्वसन्ध्यामा नवराज सुवेदी, हरिबहादुर बस्नेत, सुनिल थापा, बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान, बालाराम घर्ती मगरलगायतका नेताहरूको बैठकले लोहनीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

सिनियर नेताहरूको यो आग्रहपछि लोहनीले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरिसकेका छन् । तर राणा आफै उम्मेदवार बन्ने हुन् या लोहनीलाई समर्थन गर्ने हुन् ? त्यसको टुंगो लागिसकेको छैन ।

रात्री भोजको संकेत हेर्दा राणाले पनि लोहनीलाई नै समर्थन गर्ने सम्भावना देखिएको एक केन्द्रीय सदस्यले बताए । वर्तमान अध्यक्ष कमल थापाले पनि छिट्टै अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै छन् ।

No comments:

Post a Comment