Monday, 30 January 2017
बच्चाहरुमा रुघा र फ्लू : जान्नुपर्ने केही कुरा (घरेलु उपचारसहित)
बच्चाहरुलाई वर्षमा ८ देखि १० पटकसम्म सताउन सक्छ। नाकबाट सिँगान बग्ने, नाकबन्द हुने, खोकी लाग्ने, हाछ्युँ आइरहने, घाँटी दुख्ने, स्वर बस्ने, कान दुख्ने, जिउ दुख्ने जस्ता लक्षणले बालबालिकालाई ग्रसित बनाउँछ। रुघा लागेका बिरामीले खोक्दा वा हाछ्युँ गर्दा रुघा लगाउने जीवाणू हावामा फाल्छन्। एक सयभन्दा बढी जातका यी जीवाणू हावामा नदेखिने थोपाका रुपमा तैरिरहेका हुन्छन्। स्वस्थ मानिसले सास फेर्दा यी जीवाणू सरेर रुघाका लक्षणहरु देखा पर्छन्। रुमाल, लुगा लगायत बिरामीले प्रयोग गर्ने सामानबाट पनि यी जीवाणूहरु छिटै सर्छन्।
बच्चाहरुमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले रुघाले बच्चालाई छिट्टै समात्ने, पटकपटक लाग्ने र लामो अवधिसम्म लाग्ने हुन्छ। जाडो याममा शरीरको तापक्रम कम भएपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। यस्तो बेला जीवाणूहरु बढी सक्रिय हुने भएकाले जाडो महिनामा बच्चालाई रुघाले नछोडेको जस्तो देखिन्छ। बच्चाहरुलाई स्वास्थ्य संस्थामा जँचाउन लैजाने प्रमुख कारणमध्ये एउटा रुघाखोकी पनि हो।
रुघा के कारणले हुन्छ
राइनो भाइरस नामक जीवाणूद्वारा श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा संक्रमण भएर रुघा लाग्छ। साना नानीहरुलाई एकपटक रुघा लाग्दा १० देखि १५ दिनसम्म रुघाको लक्षण देखिन्छ। सयभन्दा बढी जातका यी जीवाणूले संक्रमण गर्न सक्ने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता थोरै समयका लागि मात्र रहने भएकाले बालबालिकालाई रुघाले छिटोछिटो सताएको वा निको नभएको जस्तो देखिन्छ। सयौं थरिका जीवाणूले रुघा लगाउने भएकाले रुघा विरुद्ध प्रभावकारी खोप बनाउन पनि सम्भव छैन।
रुघाका लक्षण
सुरुका दुई–तीन दिन घाँटी दुख्छ र निको हुन्छ।
त्यसपछि नाकबाट सिँगान बग्न सुरु हुन्छ।
नाक बन्द भएर घ्यार्घ्यार् हुनुका साथै सास फेर्न गाह्रो हुन्छ।
नाक बन्द भएपछि मुखबाट सास फेर्नुपर्ने हुनाले बच्चाहरुले दूध खान गाह्रो मान्छन्।
बच्चाहरु निस्सासिने र झिँझो मान्न थाल्छन्।
सुरुमा पानी जस्तो सिँगान आउँछ र केही दिनपछि बाक्लो हुँदै जान्छ।
सय डिग्रीको हाराहारीमा ज्वरो आइरहे पनि बिहान, दिउँसो हावामा ज्वरो कम हुन्छ।
सुतेको बेला ज्वरो बढे जस्तो हुन्छ।
रुघा लागेको चार–पाँच दिनपछि खोकी सुरु हुन्छ।
राति जाडोमा नाक बन्द हुने र खोकी पनि बढ्छ।
धेरै खोक्दा साना नानीहरुलाई बान्ता आउँछ।
रुघाखोकी जटिल भएमा कान दुख्ने र पाक्ने, टाउको दुख्ने र निमोनिया हुनसक्छ।
किशोर किशोरीलाई पिनास हुने सम्भावना हुन्छ।
लामो समय धेरै ज्वरो आएमा वा कडा लक्षण देखिएमा यो रोग फ्लू वा ब्याक्टेरियाको संक्रमण हुन सक्छ।
के रुघा र फ्लू एउटै हो
रुघा र फ्लू एउटै होइन। फ्लू इन्फ्लुइन्जा भाइरसबाट हुने श्वासप्रश्वास प्रणालीको संक्रमण हो। फ्लूका लक्षण रुघाकै जस्तै देखिए पनि रुघाका भन्दा कडा हुन्छन्। यसले ज्यानै पनि लिन सक्छ। हनहनी ज्वरो आउनुका साथै जिउ दुख्ने र टाउको दुख्ने भएकाले बच्चाहरु सुस्त र सिकिस्त देखिन्छन्। घाँटी दुख्ने हुनाले खाना खान र दूध पिउन गाह्रो हुन्छ। बच्चाहरुमा जलवियोजनका लक्षणहरु देखिन थाल्दछ। फ्लूमा नाक टालिने, सिँगान बग्ने लक्षण कम देखिए पनि खोकी बढी मात्रामा लाग्छ। निमोनियाको लक्षणहरु देखिन सक्छ। स्वाइन फ्लू र बर्ड फ्लूजस्ता रोगहरु लागेमा माथि भनिएका लक्षणहरुसँगै बान्ता हुने र पातलो दिसा आउने हुन सक्छ।
डा. गणेन्द्रभक्त राय
रुघा र फ्लूको घरेलु उपचार
रुघाको निश्चित उपचार छैन। शरीर आफैँले जीवाणूलाई नियन्त्रणमा लिएपछि यो रोग बिसेक हुन्छ। त्यसर्थ शरीरले रोगसँग लड्न सहयोग पुग्ने उपाय अपनाउँदा रुघा लागेका बच्चाहरुलाई सजिलो हुन्छ।
फ्लूका लागि ओसिल्टामिभिर र जानामिभिर जस्ता औषधिहरु प्रचलित छन्। यसको प्रयोग सुरुवाती चरणमै गर्दा प्रभावकारी साबित भएका छन्। नेपालमा रुघा, खोकीका लागि भनेर औषधि पसलमा किन्न मिल्ने प्रसस्त औषधि पाइन्छ। तर, यस्ता औषधिहरु प्रभावकारी हुँदैनन् र साना नानीहरुका लागि हानीकारक हुन सक्छ। यस्ता औषधि पाँच वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न नहुने विश्वव्यापी मान्यता छ।
रुघा–खोकी र फ्लू नियन्त्रणका लागि निम्न उपाय अपनाउनुहोस्ः
आरामः रुघा–खोकी लाग्दा बच्चाहरुले कमजोरी महसुस गर्छन्। यो बेला आराम गर्नु प्रभावकारी र आवश्यक उपाय मानिन्छ। थप एउटा तकिया राखी टाउको थोरै उठाएर बालबालिकालाई सुताउँदा सिँगान बाहिर निस्की सास फेर्न सजिलो हुन्छ।
कोठा खुल्ला र न्यानोः खुला कोठामा बच्चाहरुलाई राख्दा सास फेर्न सजिलो हुन्छ। कोठा खुला हुनुका साथै न्यायो पनि हुनुपर्छ। बच्चाहरुलाई धुलो र धुवाँबाट भने जोगाउनु पर्छ।
ज्वरोको उपचारः तीन महिनाभन्दा कम उमेरका नानीहरुलाई ज्वरो आउनु खतरा भएकाले तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ। ठूला बच्चाहरुलाई पारासिटामोल नामक झोल औषधि प्रत्येक चारदेखि ६ घण्टामा दिन सकिन्छ। मनतातो पानीपट्टि शरीरमा लगाउने र लुगा खुकुलो लगाइदिँदा पनि ज्वारे घट्न सक्छ। ज्वरो दुई दिनमा कम नभएमा चिकित्सकसँग सल्लाह लिनुपर्छ। ज्वरो नापेर यसको रेर्कड राख्दा रोगको प्रकृतिबारे जान्न सकिन्छ। ज्वरो आए पनि, नआए पनि दिनमा चार पटक तापक्रम जाँच्नु राम्रो हो।
प्रसस्त झोल पदार्थ खुवाउनेः मनतातो पानी, आमाको दूध, सुप, दालको रसजस्ता झोलिलो पदार्थले तागत दिने मात्र नभई सास फेर्न र खोकीका लागि पनि लाभदायक हुन्छ। झोल पदार्थ धेरै खुवाउँदा पिसाव प्रसस्त आई ज्वरो पनि कम हुन्छ। मन तातो, नरम र झोलिलो खाना थोरैथोरै गरेर धेरै पटक दिनाले बिरामीलाई आहार पुग्छ।
खोकीको उपचारः बजारमा पाइने खोकी निको पार्ने औषधि त्यति प्रभावकारी हुँदैनन्। यसले ससाना नानीहरुलाई प्रतिकूल प्रभाव पार्न सक्छ। दिनमा दुई पटक शुद्ध मह खुवाउँदा खोकी केही कम हुन्छ। दुईदेखि पाँच वर्षसम्मका नानीहरुका लागि आधा चम्चा, ६ देखि १२ वर्षसम्मका लागि एक चम्चा र ठूला बच्चाका लागि दुई चम्चाको दरले मह खुवाउनुपर्छ। शिशुहरुलाई भने मह दिनु हुँदैन।
नुन–पानीः केही थोपा नुनपानी नाकमा हालेर सफा गरिदिँदा रुघा लागेका बच्चाले धेरै आराम अनुभव गर्दछन्। खाना र दूध सजिलै खान्छन् भने घ्यारघ्यार पनि कम हुन्छ। नुनपानीले नाकको भित्री भागसम्म सिँगान जम्न दिँदैन र जमेको फोहोरलाई सफा गर्न सहयोग पुर्याउँछ। नाक सफा गर्न कपास वा नरम कपडालाई बत्ती जस्तो बनाई प्रयोग गर्न सकिन्छ। नाकको नली सुन्निएको छ भने नुनपानीले कम गर्छ र सिँगान बग्न पनि सजिलो बनाउँछ। मनतातो नुनपानी पिउन दिँदा बच्चाको घाँटी दुखाइमा राहत पुग्छ।
सरसफाइः फोहर लुगा, रुमाल र टिस्यु पेपरलाई सही तरिकाले व्यवस्थापन गर्दा अरुलाई रुघा–खोकी सर्दैन। बच्चालाई सफा लुगा लगाइदिनुका साथै, कोठालाई पनि धुलो–धुँवाबाट मुक्त गरेर सफा राख्नु पर्दछ।
चिकित्सकलाई कहिले भेट्ने
रुघा–खोकी लामो समय निको भएन, ज्वरो कम भएन भने बाहिर आफैँले औषधि किनेर खुवाउनु भन्दा चिकित्सकको सल्लाह लिनु बच्चाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। निम्नअवस्थामा चिकित्सकलाई भेटेर सल्लाह लिनु उपयुक्त हुन्छ।
क) धेरै ज्वरो (१०३ डिग्री वा बढी) आएमा र सिटामोलको सही मात्राले १ – २ घण्टाभन्दा बढी समय ज्वरो कम नभएमा।
ख) नाक सफा राख्दा पनि छिटोछिटो सास फेरेमा र घ्यारघ्यार गरेमा। दुई महिना मुनिका शिशुहरुले एक मिनेटमा ६० भन्दा बढी, एक वर्षसम्मका नानीहरुले ५० भन्दा बढी र पाँच वर्ष मुनिकाले ४० भन्दा बढी पल्ट सास फेरेमा यस्तो अवस्थालाई अधिक सासदर भनिन्छ। यो निमोनियाको लक्षण हुन सक्छ।
ग) दूध वा खानेकुरा पटक्कै नखाएमा र धेरै सुस्त भएमा। यस्तो बेलामा बच्चाहरु धेरै रुने वा धेरै सुत्ने हुन सक्छ।
घ) धेरै ज्वरो आएमा पाँच वर्ष मुनिका बच्चाहरु बेहोस हुन सक्छन्। हात खुट्टा झट्कारेर काम्न सक्छन्। त्यस्तो हुँदा नआत्तिई बच्चालाई खाटमा एकातिर कोल्टो फेराई सुताउनुपर्छ। मुखमा केही हाल्न नदिई कम्पन नरोकुन्जेलसम्म कुर्नुपर्दछ। सामान्यतया पाँच मिनेटभन्दा बढी समयसम्म कम्पन नरहने र बेहोस नहुने हुनाले त्यति समयसम्म धैर्य गर्नुपर्छ। लामो समयसम्म अचेत रहेमा बच्चालाई तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लानुपर्छ।
ङ) जटिल रुघा र फ्लूमा बच्चाहरुको कान पाक्ने, घाँटी दुखेर निल्न गाह्रो हुने र सास फेर्न गाह्रो हुने समस्या आउँछ। यस्तो भएमा चिकित्सकसँग भेट्नु पर्दछ।
रुघा–खोकी र फ्लू सामान्यतया जटिल अवस्थामा नपुग्दै निको हुन सक्छ। हतारिएर एन्टिबायोटिक जस्ता कडा औषधिको प्रयोग आवश्यक हुँदैन। त्यसै कारण रुघाको एउटै मात्र उपचार धैर्यपूर्वक स्याहारसुसार गर्नु हो। फ्लूका लागि भने चिकित्सकहरुको सल्लाह बमोजिम एन्टिभाइरल औषधिहरु प्रयोग गर्न सकिन्छ। फ्लूका विरुद्ध प्रत्येक वर्ष लगाउनुपर्ने खोप उपलब्ध छ, जसले स्वाइन फ्लू र बर्ड फ्लूबाट पनि जोगिन मद्दत गर्छ।
(डा. राय सिद्धि स्मिृति अस्पताल, भक्तपुरमा बालरोग विशेषज्ञका रुपमा कार्यरत छन्)
Labels:
Health
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment