घरखेत बगाएपछि विरक्तिएका बलराम अहिले देखतभुली–१ चान्देउमा पर्ने सामुदायिक वनको सोभाडाँडामा आश्रय लिइरहेका छन् । ‘सुरुमा रेडक्रस लगायतका दाताले तत्कालका लागि दिएको राहत प्याकेजबाट पेट पाल्यौं’ सिंहले भने ’पीडित बनेको दशक पुगिसक्दा पनि मलम लगाउन बस्तीमा कोही पनि आएको छैन ।’
विसं २०४६ मा पुख्र्यौली घर बैतडी उदयदेव गाविसबाट शङ्करपुर झरेका उनलाई अहिले जहान परिवारको भोक टार्नै धौ–धौ छ । ‘मुलुकमा राजतन्त्रको अन्त्य हुँदै, लोकतन्त्र गणतन्त्र जनतन्त्र पनि आयो भन्छन्,’ उनले भने – ‘बाढीपीडित बस्तीमा भने खुसियाली हराएको धेरै भइसक्यो ।’
कञ्चनपुरमा बर्खाका बेला महाकाली नदी, दोदा नदी, वनहरालगायत नदी तथा अन्य खहरे खोलामा आउने बाढीले स्थानीयवासी विस्थापित हुन्छन् । पानीको बहाव कम भएसँगै प्रायः स्थानीयवासी घरमा फर्किन्छन । तर दोदा नदीको कटानबाट पूर्ण रुपमा शङ्करपुर र देखतभुली गाविसका केही परिवार पूर्ण रुपमा विस्थापित भएर सामुदायिक वन, सडक किनारा र आफन्तको शरणमा बाँचिरहेका छन् ।
‘पहिले डेढ बिघाको मालिक थिएँ,’ पीडित बलरामले भने ‘अहिले ओत लाग्ने ठाउँ पाउनै गाह्रो छ ।’ विसं २०६५ देखि ६७ साल लगातार तीन वर्ष दोदा नदीमा आयो र बाढीले शङ्करपुर–७ पूरै विलय गरेको थियो । –रासस
No comments:
Post a Comment