Monday, 23 January 2017

चन्द्रमाको जन्म सम्बन्धी पौराणिक मान्यता

माघ १०,  काठमाडौं । चन्द्रमा हामी सबैले देखाकै छौं । चन्द्रमाको प्रकासले रातलाई उज्यालो पार्नुका साथै सितलता प्राप्त हुन्छ । उनै सुन्दर र चम्किलो चन्द्रमालाई हिन्दू धर्ममा देवताको स्थान दिइएको छ । पूजनीय चन्द्रदेवको जन्मको कथा पुराणहरूमा फरक फरक रूपमा प्रस्तुत गरिएको छ । वैदिक साहित्यमा चन्द्र अर्थात् सोमको स्थान प्रमुख देवताका रूपमा रहेको छ । अग्नि, इन्द्र, सूर्य लगायतका देवहरू जस्तै सोमको स्तुतिका मन्त्रहरूको रचना ऋषिहरूले गरेका हुन् ।

मत्स्य एवं अग्नि पुराण अनुसार ब्रह्माजीले सृष्टि रचना गर्ने विचार गरेपछि सबभन्दा पहिला संकल्पको माध्यमले मानसपुत्रको रचना गरे । उनीहरूमध्येका एक मानसपुत्र ऋषि अत्रिको विवाह ऋषि कर्दमकी कन्या अनसूयासँग भएको हो । उनीहरूबाट दुर्वासा, दत्तात्रेय र सोम तीन पुत्र उत्पन्न भए । सोम चन्द्रमाकै अर्को नाम हो ।

पद्मपुराणमा चन्द्रको जन्मको अर्को वृत्तान्त पाइन्छ । ब्रह्माले आफ्नो मानसपुत्र अत्रिलाई सृष्टि विस्तार गर्ने आज्ञा दिनुभयो । यसका लागि महर्षि अत्रिले अनुत्तर नामक तप आरम्भ गर्नुभयो । तपस्याकालमा एक दिन महर्षिका नेत्रबाट जलका केही थोपा चुहिए । ती थोपा अत्यन्त चम्किला थिए । दिशाहरूले स्त्रीरूप धरेर पत्रप्राप्तिको कामना गर्दै ती थोपा पिए जुन उनीहरूको पेटमा गर्भ रूपमा स्थापित भयो । तर त्यस चम्किलो गर्भलाई दिशाहरूले राखिरहन सकेनन् र त्यागिदिए । त्यही त्यागिएको गर्भलाई ब्रह्माले पुरुष रूप दिए जो चन्द्रमाको रूपमा प्रख्यात भयो । देवताहरू, ऋषिहरू र गन्धर्वहरूले उनको स्तुति गरे । उनकै तेजबाट पृथिवीमा दिव्य औषधि उत्पन्न भए । ब्रह्माजीले चन्द्रमालाई नक्षत्र, वनस्पति, ब्राह्मण र तपको स्वामी नियुक्त गरे ।

स्कन्द पुराणका अनुसार देवता तथा दैत्यहरूले क्षीरसागर मन्थन गरेपछि त्यहाँबाट चौध रत्न निस्केका थिए । चन्द्रमा तिनै चौध रत्नमध्ये एक हुन् जसलाई लोककल्याणका लागि मन्थनबाट प्राप्त कालकूट विष पिउने भगवान् शंकरले आफ्नो शिरमा राख्नुभएको छ ।

चन्द्रमाको विवाह दक्षप्रजापतिका छोरीहरू २७ नक्षत्रसँग भएको थियो । सत्ताईस नक्षत्रको भोगबाट एक चन्द्रमास पूर्ण हुन्छ ।

साभार:आनन्द अमृत

No comments:

Post a Comment