कर्णको जन्म दैवीय र रहस्यमय छ। उनी सूर्यका छोरा थिए। जन्मँदै कवच–कुन्डल भिरेका थिए। उनी कुन्तीका प्रथम सन्तान थिए, तर उनी जन्मँदा कुन्तीको बिहे भएको थिएन। दुर्वासा ऋषिले कुन्तीलाई इच्छित पुत्र प्राप्तिको वरदान दिएका थिए। त्यस वरदानको परीक्षाको वय–सुलभ प्रयासमा कुन्ती माता हुन पुगेकी थिइन्, कुमारी माता।
यो तारुणय्मा भर्खर टेकेकी कन्याको यौन कौतुहलको स्वाभाविक कथा प्रतित हुन्छ।
कुमारी कुन्तीले भय र लज्जाका कारण नवजात कर्णलाई नजिकको खोलामा बगाइन्। सन्तानविहीन कुनै दम्पतीले नवजात कर्णलाई फेला पारे। स्नेहपूर्वक पालन–पोषण गरे। कवच–कुन्डलका साथ जन्मिएका कर्ण हेर्दै तेजिला थिए। कर्णलाई पालन–पोषण गर्ने माता–पिताले क्षत्रियोचित पाराले उनको नाम संस्कार गरे। न्वारानको नाउँ ‘बसुषेण’ थियो। शिक्षा–दीक्षा पनि त्यस्तै भयो। महाभारतकारले कर्णको व्यक्तिगत गुण–सम्पदाको बखानमा उदारता देखाएका छन्। प्रथमत कर्ण आदिपर्वमा प्रकट हुन्छन्। त्यस प्रकाट्यको वर्णनमा व्यास लेख्छन्– ‘सूर्येन्दुज्वलनोयमः’ थिए कर्ण। त्यतिले नपुगेर थप्छन्– ‘असंख्येयगुणः श्रीमान्’ थिए कर्ण।
भर्खरै पाण्डव–कौरवको शिक्षा–दीक्षा सम्पन्न भएको थियो। रंगशालामा अर्जुनले धनुर्विद्याको चमत्कार देखाएका थिए। दर्शक थप्पडी बजाउँदै थिए। त्यस्तैमा हठात् कर्ण त्यहाँ पुगे। अर्जुनले देखाएका सारा चमत्कार कर्णले देखाए। सबै छक्क परे। राजकूलका तन्नेरीहरूको प्रतिस्पर्धामा कर्ण जोशिएर मिस्सिन गएका थिए। कर्णलाई त्यस रंगशालामा आमन्त्रित गरिएको थिएन। आफूखुसी पुगेका थिए। महाभारतकारले यस घटनाका माध्यमबाट कर्णको व्यक्तित्वको मूल तत्व उद्घाटन गरेका छन्। त्यो तत्व यशेषणा थियो।
द्रोणचार्यले अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धरको उपाधि दिएका थिए। एकलव्यको वाण हान्ने कौशल देखेर एक समय अर्जुन खिन्न भएका थिए। अर्जुनको खिन्नताको उपचारका लागि गुरु द्रोणले एकलव्यको बूढीऔंला कटाउनुपर्यो। अर्जुन कसैलाई पनि आफूभन्दा श्रेष्ठ धनुर्धर देख्न चाहँदैन थिए। कर्ण पनि अर्जुनभन्दा भिन्न थिएनन्। यसैले निम्तो नपाए पनि कर्ण रंगशाला पुगेका थिए। कर्ण आफूलाई अर्जुनभन्दा श्रेष्ठ धनुर्धर सिद्ध गर्न चाहन्थे।
बाल्यकालदेखि नै राजकुमार दुर्योधन पाण्डवसँग शत्रुता राख्थे। अर्जुनको प्रतिबल युवक देखेर उनको हर्षको सीमा रहेन। चमत्कार मात्र देखाउन नपुगेर कर्णले अर्जुनलाई द्वन्द्व युद्धका निमित्त चुनौति दिए। त्यहाँ एउटा प्रश्न उठ्यो। कर्णको कुल–घरानको परिचय मागियो। कर्णका धर्मपिता अधिरथ ठिक त्यसैबेला रंगशालामा प्रवेश गरे। अधिरथ दम्पतीले उनलाई हुर्काएका थिए। त्यो कुरो खुल्यो। असमान कुलका मानिसबीच द्वन्द्व युद्ध सम्भव छैन भनेर गुरुजनले निर्णय दिए। कर्णले केही बोल्ने ठाउँ भएन। तर, दुर्योधन चुप लागेनन्। दुर्योधन जोडदार रूपमा कर्णको बचाउमा अगाडि आए। उनलाई अंगदेशका राजाका रूपमा तत्काल अभिषेक गरे। त्यति भएर पनि द्वन्द्व युद्ध हुने कुरा भएन। जातिय पर्खाल ढलेन।
दुर्योधनबाट राज्य र सम्मान पाएपछि कर्ण उनीप्रति आजीवन कृतज्ञ रहे। हाम्रो समाजमा अहिलेसम्म नुनको सोझो गर्नुपर्छ भन्ने छँदैछ। महाभारतमा नुनको सोझो गर्ने प्रवृत्ति विशेष बलियो देखिन्छ। भीष्म र द्रोणजस्ता महापुरुष पनि नुनको सोझो गर्न दुर्योधनपट्टि लाग्नुपरेको बयान बारम्बार दिन्छन्। कर्णले त अझ राज्य नै प्राप्त गरेका थिए। भीष्म र द्रोणले महाभारतको युद्ध कौरवपट्टिबाट लडे। तर, उनीहरू विभक्त मानसिकताका साथ लड्दै थिए। उनीहरूको पाण्डवप्रति सहानुभूति थियो। दुर्योधनलाई भीष्म र द्रोणप्रति विश्वास थिएन। उनी कर्णप्रति विश्वस्त थिए।
रंगशालामा त्यस दिनको अपमानपछि कर्णको जीवनको एउटै सोचाइ रह्यो– अर्जुनलाई पराजित गर्ने। पछि त कर्णले अर्जुनको मृत्युलाई आफ्नो जीवनको अभीष्ट बनाए। अर्जुनको सोच पनि फरक थिएन। माता कुन्तीले रंगशालामा नै कर्णलाई चिनिसकेकी थिइन्। उनका सहोदर दुई छोरा उनका आँखासामु एकअर्काका ‘खुनका प्यासा’ भएका थिए। त्यो दृश्य देखेर कुन्ती मुर्छा परिन् भन्छन् कवि। माता कुन्ती लाचार थिइन्। कुन्तीको जीवन यसै पनि वैधव्य र वनवासको दुःखको शृखंला थियो। अतिरिक्त लोकोपवादको सामना गर्ने क्षमता उनमा शेष थिएन। उनलाई सबभन्दा बढी डर त पाँच समर्थ छोराहरूको थियो होला।
बाल्यावस्थादेखि कौरव र पाण्डवबीच वैमनस्य चर्किंदै गएको थियो। पाण्डव संख्यामा पाँच मात्र थिए, कौरवहरू सय थिए। गुण र पराक्रमका दृष्टिले भने पाँच पाण्डव कौरवका सयभन्दा भारी थिए। त्योभन्दा ठूलो कुरो युधिष्ठिर प्रजाका बीचमा दिनानुदिन लोकप्रिय हुँदै गएका थिए। पारिवारिक उत्तराधिकारका हिसाबले भोलि राजा को हुने भन्ने प्रश्नमा विवाद उठेको थियो। युधिष्ठिरका पिता पाण्डु हस्तिनापुरका राजा थिए। उनका दाजु धृतराष्ट्रलाई अन्धो भएको हुँदा राजा हुनबाट रोकिएको थियो। राजा पाण्डुका जेठा छोराका नाताले युधिष्ठिरको हक ज्यादा थियो। तर, यो दुर्योधनलाई मान्य थिएन। अन्धोपनको निहुँ देखाएर मेरा बुबासँग अन्याय भएको छ भन्ने दुर्योधनको मानसिकता थियो। राजसिंहासनको यस्तो खोसाखोसमा महावीर कर्ण अवतरित भएका थिए।
धृतराष्ट्रको राजसभामा कर्णको प्रवेशअघि दुर्योधन आफूलाई कमजोर महसुस गर्थे। भीष्म, द्रोण र विदुर पाण्डवपट्टि देखिन्थे। मामा शकुनी र भाइ दुशासनको पराक्रम उल्लेखनीय थिएन। यी दुईबाहेक दुर्योधनलाई अरूको भर थिएन। कर्णको आगमनले दुर्योधनको आत्मविश्वास चुलिएको थियो। कर्ण पनि मानौं दुर्योधनका माध्यमबाट बाँच्न थाले। दुर्योधनको खुसी नै उनको खुसी थियो। दुर्योधनको जित नै उनको जित थियो। दुर्योधनको हार नै उनको हार थियो। कर्ण र दुर्योधनको यो सम्बन्ध आधुनिक मनोविज्ञान अध्ययनको निमित्त एक रोचक विषय हुन्छ। सामान्यतः मानिस आफ्नो पूर्णतामा बाँच्न सक्दैन। मनमा एकसाथ हजारौं ख्वाइस हुन्छ। अनि एक चरणमा पुगेर आफ्ना सँगसँगै अरूद्वारा बाँच्न थाल्छ। कर्ण युवराज दुर्योधनका माध्यमबाट बाँच्न थालेका थिए।
कर्णका निमित्त सबभन्दा ठूलो उनको अस्मिताको समस्या थियो। कर्ण जन्मदेखि मृत्युसम्म लगातार एउटै प्रश्न सोध्दै थिए– ‘म को हुँ?’ यो आत्मचेत मनुष्यको प्रश्न हो। यसै प्रश्नले कर्णलाई सधैं समकालीन बनाएको छ। कविले कर्णलाई जन्मेदेखि नै कवच–कुण्डलसहितको सुन्दर देह–यष्टि दिएका थिए। यो साधारण बालक होइन भनेर जोसुकै भन्न सक्थ्यो। तर, सामाजिक हिसाबले उनी सुत–पुत्र थिए। पाल्ने÷पोषण गर्ने माता–पिता सुत थिए। यस जातले राजा–महाराजा र सर्वसाधारण समेतको रथ हाकेर जीविका चलाउँथ्यो। यो एक हेय जाति थियो। पालनकर्ता आमा–बाबुको व्यवहारबाट कर्णलाई कुनै शिकायत थिएन। उनी सुत–समाजसँग प्रसन्न थिए। यस समाजमा बसेर आफूले मनग्य सुख पाएको उनले कृष्णलाई सुनाएका छन्। आफ्नी पत्नी र सुसारेहरूले सबै किसिमको सुख दिएको उल्लेख गरेका छन्। कर्णले सुखको वर्णनमा कामसुखको समेत उल्लेख गरेका छन्। तर, त्यही पनि जातीय विभेदले अपमानित हुँदा उनी विह्वल हुन्थे। जन्म दिएर तत्काल फ्याँक्ने आमाको निष्ठुरता बिर्सन सक्दैन थिए। त्यही सम्झेर छट्पटिन्थे।
कर्णको रंगशाला प्रवेशलाई कविले सूक्ष्म रूपमा चित्रण गरेका छन्। कवि भन्छन्– ‘कर्णले गुरुद्वय द्रोणचार्य र कृपाचार्य लगायत सबैलाई प्रणाम गरे।’ फेरि कवि थप्छन्– ‘द्रोणचार्य र कृपाचार्यप्रति गरिएको उनको अभिवादनमा आदरभाव भने थिएन।’ सत्यवतीनन्दन व्यासले कर्णको अवज्ञालाई सार्थक ठानेको देखिन्छ। द्रोणले सञ्चालन गरेको गुरुकुलमा जाति र जन्मलाई लिएर भेदभाव थियो। द्रोणले उनलाई उदारतापूर्वक कहिल्यै लिएनन्। यसैले कर्ण अवज्ञाशील भए। त्यस समयको शस्त्रास्त्रार्थमा ब्रह्मास्त्रको विशेष महिमा थियो। जोसुकै महाराथीसँग ब्रह्मास्त्र हुँदैनथ्यो। अर्जुनसँग थियो। कर्ण पनि ब्रह्मास्त्र हासिल गर्न चाहन्थे। तर, अज्ञात कुलशीलका व्यक्तिलाई ब्रह्मास्त्र दिन सकिँदैन भन्ने द्रोणचार्यको अडान थियो। कर्ण यसले रुष्ट थिए।
पछि कर्णले मौका छोपेर परशुरामलाई गुरु बनाए। कर्णले आफ्नो सेवाद्वारा परशुरामलाई प्रसन्न गराएका थिए। त्यहाँ पनि उनको जन्मको कुरा आएको थियो। कर्णले परशुरामलाई आफू ब्राह्मणपुत्र हुँ भनी चिनाए। परशुराम अरू वर्णलाई ब्रह्मास्त्र दिन तयार थिएनन्। अरू जातलाई हेय दृष्टिले हेर्थे। परशुरामलाई झुक्याएर कर्णले ब्रह्मास्त्र प्राप्त गरे। तर, एक दिन परिबन्दले कर्णको जातको रहस्य खुल्यो। परशुरामले धोखा पाएको अनुभव गरे। परशुरामले कर्णलाई विकट सराप दिए। उनले भने– ‘अन्तकालमा तँलाई यो ब्रह्मास्त्रको विद्या काम लाग्ने छैन।’
तर, यो अन्तकाल भनेको के हो? यो बुझ्न गाह्रो थियो। कर्ण आफ्नो अन्त्यसम्म भनिरहन्छन्– ‘परशुरामबाट प्राप्त गरेको सबै विद्या मलाई अझै याद छ। मेरो अन्तकाल भनेको कहिले हो? कसले भन्न सक्छ?’
कर्णले तिनताक नै अर्को श्राप पाएका थिए। उनले धोखावश कुनै ब्राह्मणको बाछोलाई मारे। कर्णले जानाजानी यो काम गरेका थिएनन्। तर, बाछोका स्वामी ब्राह्मण कुपित भए। युद्धमा एक दिन तिम्रो रथ भासिने छ, त्यसै बेला तिमी मारिने छौ भनेर ती ब्राह्मणले श्राप दिए। कुरुक्षेत्रको युद्धमा आखिरी घडीमा कर्णको रथ साँच्चै नै भासियो। ब्राह्मणको श्राप कर्णको मृत्युको कारण भयो।
हस्तिनापुरमा रंगशालाको प्रतियोगिताको त्यो दिन कर्णको अपमानको प्रारम्भ मात्र थियो। उनले त्यस्ता अपमान आजीवन खपिरहनुप¥यो। द्रौपदी स्वयम्वर उनको अपमानको पराकाष्ठा थियो। महाराज द्रुपदले आफ्नी छोरी आर्याव्रतका श्रेष्ठतम धनुर्धारीलाई दिने अठोट गरेका थिए। द्रौपदीे अनिन्द्य सौन्दर्य र ऐश्वर्यकी स्वामिनी थिइन्। महाराज द्रुपदसँग वैवाहिक सम्बन्ध जोड्न पाउनु थप राजनीतिक उपलब्धि थियो। स्वयम्वरमा आफू मात्र सफल हुन्छु भन्नेमा कर्ण विश्वस्त थिए। त्यहाँ त्यस्तै परिदृश्य देखिएको थियो। त्यतिञ्जेल वारणाव्रतको आगलागीमा पाण्डवहरू मरिसके भन्ने प्रवाद थियो। अर्जुनको अत्तोपत्तो थिएन। स्वयम्वरमा कर्णको टक्करको अर्को धनुर्धर थिएन। पहिले केही राजाहरूले लक्ष्य भेदको कोशिस गरे। स्वयम्वरमा राखिएको धनुषसम्म उठाउन कोही सफल भएका थिएनन्। कर्णका पालोमा उनले सहज रूपमा त्यो धनु उठाए। अब उनले शिरका उपर घुमिरहेको माछाको आँखा तारो हान्नुपर्ने थियो। त्यस्तै गर्न कर्ण तत्पर भए। द्रौपदीले यो देखिन्। सिंगो सभाले सुन्ने गरी उनले भनिन्– ‘कर्ण सुत पुत्र हुन्। यस स्वयम्वरमा उनको स्थान छैन। म सुत पुत्रसँग कदापि बिहे गर्दिन’– र्जगाद नाहं वरयाम सूतम्।’ कर्ण हतप्रभ भए। उनका हातबाट धनुष छुट्यो।
कर्णले स्वयम्वरको धनुष उठाउँदा पाण्डवहरू दर्शकदिर्घामा थिए। उनीहरूले आपसमा खासखुस गरे। कर्णले निश्चय लक्ष्यभेद गर्छन् भन्ने स्वयम् अर्जुनको अनुमान थियो। तर, द्रौपदीको हस्तक्षेपले कर्णको प्रयास लक्ष्यमा पुगेन। भाग्यमानी अर्जुनले द्रौपदीलाई जिते। कर्णलाई पनि एकपटक फेरि अर्जुनले जिते। आमा कुन्तीको माया अर्जुनको एकलौटी भएको थियो। द्रौपदी पनि अर्जुनकै पोल्टोमा पुगिन्।
जीवनमा डेगैपिच्छे अपमान र सराप पाएका कर्णको व्यक्तित्व कुण्ठाग्रस्त हुँदै गयो। उनको हीनत्वबोध चर्किरह्यो। हीनताबोधले ग्रस्त व्यक्ति मौका पाउनासाथ आफ्नो प्रशंसा गर्छ। कर्ण सधैं यस्तै गर्थे। महाभारतमा कर्णको आत्मप्रशंसाको बारम्बार निन्दा भएको छ। कुरुक्षेत्रको युद्धभन्दा ठीक अघि भीष्मले कर्णलाई महारथी मान्नबाट इन्कार गरेका थिए। आत्मप्रशंसामा लिप्त व्यक्ति महारथी बन्न सक्दैन भन्ने भीष्मको संकेत छ। होइन भने, व्यासले कर्णको वीरताको उल्लेख बारम्बार गरेका छन्। यत्रतत्र भनिन्छ– भगदत्तलाई हराए, जरासन्धलाई पछारे।
तर, यस्तो सूचनाबाट पाठकको चित्त बुझ्दैन। राजा विराटको गौ–हरणमा अर्जुनले एक्लै भीष्म, द्रोण र कर्णलाई लडाइँमा उछिनेको देखाइन्छ। पाण्डव वनबासमा रहँदा गन्धर्वराजले कर्ण लगायत दुर्योधनलाई हराएका थिए। पाण्डव दुर्योधनको उद्धार गर्छन्। लगत्तैपछि भीष्मले कर्णको वीरताको उपहास गर्छन्। त्यस उपहासको पृष्ठभूमिमा कर्ण दिग्विजयका निमित्त हिँडछन्। युधिष्ठिरको राजसुय यज्ञमा पाण्डवहरूले दिग्विजय गरेका थिए। भीम, अर्जुन, नहकुल र सहदेवले मिलेर त्यो दिग्विजय गरेका थिए। ती चार भाइ बराबर कर्णले एक्लै दिग्विजय गरे। कर्णको प्रेरणाले दुर्योधनले पनि एक महान यज्ञ गरे। कर्णले दुर्योधनलाई आश्वसन दिएका थिए, चार भाइ पाण्डवले गरेको विजय म एक्लै गर्छु– ‘.. पाण्डव .चतुर्भिर्बलशालिभिः।’ नभन्दै उनले त्यस्तै गरे।
पाण्डवको दिग्विजयमा नेपाली पाठकका निमित्त अर्को रोचक प्रसंग छ। कर्णले नेपाललाई पनि जितेका थिए भनेर वन पर्वमा किटेरै लेखेको छ– ‘नेपालविषये ये च राजानस्तानवाजयत्….।’ कृष्ण द्वैपायन व्यासले लेखेको यो पंक्ति हाम्रा राष्ट्रवादी नेताहरूका निमित्त विशेष महत्वको विषय हुनुपर्ने हो। तर, त्यस्तो भएको छैन।
…
सभापर्वमा द्रौपदीको चीरहरणको प्रसंग चर्चित र मार्मिक छ। द्रौपदीले त्यस सभालाई ओजस्वी शब्दमा ललकार्छिन्। ‘सभा सभा रहेको छैन,’ द्रौपदीले चिच्याएर भनिन्। तर, द्रौपदीको चित्कारले कर्णलाई कुनै असर पारेन। कर्ण अमर्यादित र अशिष्ट पाराले बोल्न थाल्छन्। द्रौपदीलाई उनले वेश्यासँग तुलना गर्छन्। द्रौपदीलाई उनले वासनाकी मूर्तिका रूपमा चित्रित गर्छन्। उनी लगभग भन्छन्– ‘तँलाई पाँच जना पोइ भएर पुगेन। ल अब कौरवकी स्वास्नी भएर सय भाइसँग एक साथ मोज गर।’
अभिमानी द्रौपदीका लागि यहाँभन्दा गहिरो चोट हुन सक्दैनथ्यो। पाँच पतिकी पत्नी हुनु द्रौपदीको आफ्नो वरण थिएन। कर्णले त्यस तथ्यलाई संवेदनापूर्वक बुभ्mनुपथ्र्यो। कर्ण स्वयम् कुलघरानको भेदभावबाट पीडित थिए। तर, उनले एउटी महिलाको पीडा बुझ्न सकेनन्।
द्रौपदीको यस्तो असभ्य अपमानका पछाडि कर्णको बाल्यकालीन संस्कार जिम्मेदार हुन सक्छ। उनी तल्लो वर्गको एक सुत परिवारमा हुर्केका थिए। उनलाई दरबारिया भाषा आउँदैन थियो कि! बोलीबचनमा उनी अधौत, कर्कश र रुक्ष गाउँले थिए जस्तो छ। उनको मपाईवाद पनि त्यसबाट उत्पन्न भएको हुन सक्छ।
चीरहरण प्रसंगमा कर्णले तत्काल द्रौपदीको प्रशंसा पनि गरेका छन्। राजा धृतराष्ट्रले द्रौपदीको प्रश्नले निरुत्तर भएको सभाको भावनाको सम्मान गर्छन्। उनले द्रौपदीलाई मनोनुकूल वरदान माग्न अनुरोध गर्छन्। द्रौपदीले संयमका साथ युधिष्ठिरलगायत पाण्डवहरूको दास–मोचनको वरदान माग्छिन्। धृतराष्ट्र द्रौपदीले मागेको सबै वरदान दिन तत्पर थिए। तर, द्रौपदी भन्छिन्– ‘मैले बढ्ता लोभ गर्नु हुदैन। मलाई थप वरदान चाहिएन।’ स्वाभिमानी द्रौपदीको उत्तर सुनेर कर्ण प्रभावित हुन्छन्। भावोच्छवासमा आए जस्तो गरी बोल्छन्– ‘या नः श्रुता मनुष्येषु स्त्रियो रूपेण सम्मताः….।’
चीरहरण प्रसंगमा कर्ण द्रौपदीप्रति परस्पर विरोधी भावना प्रकट गर्छन्। कर्ण–द्रौपदी दुवैमा प्रच्छन्न राग–अनुराग थियो कि भन्ने संकेत महाभारतमा अन्यत्र पनि गरिएको छ। दुर्योधनले एकपटक कर्णलाई यो आक्षेप लगाएका छन्। दुर्योधन भन्छन्– ‘द्रौपदीप्रतिको आसक्तिले तिमी पाण्डवप्रति दयालु भएको त होइन?’ द्रौपदी र कर्णको पारस्परिक आकर्षण समृद्ध लोक–गाथाको विषय भएको छ।
दानशीलताको दृष्टिले कर्ण किम्वदन्ती भएका छन। दसैंमा आशिर्वाद दिँदा अझै पनि ‘दानी सूर्यसुते’ भनिन्छ। उनको दानशीलता र उदारता अन्ततः उनको पराजयको कारण रहेको छ। श्रेष्ठतम् त्रासदीहरूका नायकसँग कर्णको यो स्वभाव तुलनीय छ। त्रासदीका नायकहरू आफ्ना सद्गुणका कारण विपत्तिमा पर्छन्। परित्यक्त शिशु कर्ण ग्रिक पूराकथाका राजा एडिपससँग तुलनीय छ। कर्णको उदारताले शेक्सपियरका त्रासदीहरू, विशेष गरेर राजा लियरको सम्झना गराउँछ। ह्याम्लेटको विवेकशील स्वभावले उनी मर्छन्। उनले बुबाको हत्याका बारेमा शंका गर्ने थुप्रै ठाउँ छ। तर, गरौं–नगरौंको दुबिधामा उनले केही निर्णय गर्न सक्दैनन्। म्याकवेथ अदम्य विवेकहीन महत्वाकांक्षाले पतनोमुख हुन्छ। राम्रो गुणले पनि अति भएपछि विनाशतिर लैजान्छ। शास्त्रले भनेको छ– ‘अतिःसर्वत्र वर्जयेत’।
कर्णमा यस्तो अतिवाद किन छ? लाग्छ, उनी अहोरात्र हीनताबोधसँग युद्धरत थिए। उनी आफूलाई प्रमाणित गर्न चाहन्थे– लौ हेर म कस्तो छु? म के छु? हीनत्वबोधले ग्रस्त कतिपय मानिस रातदिन सत्ताभिलाषामा डुबेर हिटलर वा स्टालिन बन्छन्। चर्चिल पनि पृथक थिएनन् भनेर उनका मनोवेत्ताले लेखेका छन्। बिपी कोइरालाले आफ्नो आत्मकथामा चन्द्रशमशेरको यस्तै चित्रण गर्नुभएको छ। बिपीका अनुज गिरिजाप्रसाद कोइरालाको यस्तै स्वभाव थियो। कर्णको स्वभावमा पनि यस्तो झल्को देखिन्छ। कर्ण सतत आत्मरतिमा मस्त छन्। कर्ण राजपुत्र थिएनन्। दुर्योधन र युधिष्ठिरसँग त्यो सौभाग्य थियो। कर्ण दानवीरता र वचनबद्धताको क्षेत्रमा यावत् राजपुत्रहरूलाई पछार्न चाहन्थे। र, पछारे पनि।
भीष्म, द्रोण र कर्णजस्ता सहयोगी भएर पनि दुर्योधन महाभारतको युद्ध हारे। यो हार दुर्योधनको दुर्भाग्य मात्र थिएन। यी तीनैवटै सेनापति आफ्ना वचनका बन्दी थिए। उनीहरूलाई दुर्योधनको जित–हारसँग मतलब थिएन। उनीहरू आफ्नो ‘प्रतिष्ठा’ बचाउन सर्वोपरि प्रतिबद्ध थिए। भीष्म र द्रोणलाई त्यही पनि माफ गर्न सकिन्छ, तर कर्णका लागि पनि दुर्योधनको विजय गौण थियो। अर्जुनलाई मारेर आप्mनो ग्रन्थिजन्य अंहकारको तुष्टी गर्नु प्रमुख थियो। युद्धका क्रममा उनले अर्जुनबाहेक अरू चार पाण्डवलाई जित्दै–छोड्दै गरे। पक्राउ परेका युधिष्ठिरलाई भाग्ने मौका दिए। पाण्डवपट्टि कृष्णको आदेशमा युधिष्ठिरसमेत झुठ बोल्न तयार थिए। दुर्योधन पक्षको यो अवस्था थिएन। भीष्म र द्रौणले दुर्योधनको जानकारीमा पाण्डवलाई जीवन–दान दिएका थिए। दुर्योधनलाई अन्जान राखेर कर्णले पनि लगभग त्यस्तै गरे।
तर पनि कर्णको चरित्र उदात्त छ। उनलाई महाकाव्यको धीरोदात्त नायकका ठाउँमा सजिलै राख्न सकिन्छ। इन्द्रले ब्राह्मणको रूप धारण गरेर कवच–कुन्डल माग गरे। त्यसको अघिल्लो दिन सूर्यले सम्झाएका थिए– ‘यस कवच–कुन्डलसँग तिम्रो जीवन र मृत्य गाँसिएको छ। कवच–कुन्डल छँदासम्म तिमी अजेय छौं। इन्द्र पुराना छली हुन्। तिमी उनका छलमा नपर्नु।’ सूर्य कर्णका पिता थिए। उनी पुत्र–स्नेहका साथ बोल्दै थिए। पिता सूर्यले दुर्योधनको सम्झना पनि गराए। दुर्योधनलाई जिताउन पनि यो कवच–कुन्डल नदेऊ भने। कर्णले भने– ‘म दान दिनबाट विमुख हुन सक्दिन। दान जोसुकैलाई दिन्छु। त्यस मानिसको ध्येय हेर्दिन।’ शरीरमा कवच–कुन्डल रहँदासम्म कर्ण अजेय थिए। तर, त्यस अजेयतामा उनको मानवीय गौरव हुने थिएन। कदाचित कर्ण दैवीय शक्तिका साथ शत्रुको सामना गर्न चाहँदैन थिए।
भीष्म र कर्ण दुवैको जन्म दैवीय छ। तर, दुवैको जीवनशैली विपरित छ। भीष्मको मानवेतर व्यक्तित्व छ। मनुष्य भएर जन्मिएर पनि उनी देवता बन्ने प्रयासमा छन्। कर्ण भीष्मका भन्दा विपरित छन्। तद्नुसार सूर्यपुत्र कर्ण कवच–कुन्डल परित्याग गरेर सर्वसाधारण मनुष्यको लहरमा राजीखुसी उभिन्छन्। उनी मनुष्यका रूपमा नै आत्मोपलब्ध हुन्छन्।
…
जन्म दिएको दिनदेखि कुरुक्षेत्रको अघिल्लो दिनसम्म कुन्तीले कर्णलाई कहिल्यै खोजिनन्। युद्धको सारा तयारी भइसकेको थियो। अनि कुन्तीले कर्णलाई सम्झिन्। त्यो पनि भयार्त मनले। कुन्तीले एकालाप गर्छिन् र भन्छिन्– ‘भीष्म र द्रोणबाट त्यस्तो डर भएन। उनीहरू पाण्डवप्रति सहृदय छन्। तर यस कर्णले के गर्ने हो?’ कविले कुन्तीको मनमा कर्णका प्रति आमाको मायाको भेल देखाएका छैनन्। राजमहिषीका रूपमा युद्धको हिसाब–किताब गरेर कुन्ती कर्णकहाँ पुग्छिन्। स्नेहासिक्त भाषा बोल्छिन्, तर नियत राजनीतिक छ। कर्ण त्यस्तै बुझ्छन्। कर्णले उनलाई आमा भनेर सम्बोधन गर्दैनन्। राजपुत्री अथवा क्षत्रीया भनेर सम्बोधन गर्छन्। तर कुनै पनि याचकलाई कर्णले खाली हात फर्काउने गरेको छैन। वार्तालापको अन्तमा कर्ण भन्छन्– ‘तिमी खाली हात फर्कन्नौं। यति वचन दिन्छु, तिम्रा पाँच पुत्र कायम रहन्छन्। मैले अर्जुनबाहेक तिम्रा कुनै छोरालाई मार्ने छैन। कि त मैले अर्जुनलाई मार्नेछु कि त अर्जुनले मलाई मार्लान्। म मरे कुरै सिद्धिहाल्यो। अर्जुन मरे पनि छोराका रूपमा म तिमीसँग मिसिन आउँछु। तिम्रा पाँच छोरा कायम रहनेछन्।’
‘तिम्रा पाँच छोरा कायम रहनेछन्’— कर्णको यस्तो वचनदान उनको व्यक्तित्वको ग्रन्थीको परिचय हो। मनोविज्ञानको भाषामा भन्दा कर्ण मातृ–ग्रन्थीका शिकार छन्। सिगमण्ड फ्रायडले पाश्चात्य मनोविज्ञानमा एडिपस ग्रन्थीलाई अमर बनाएका छन्। कर्णलाई पिता सूर्यसँग कुनै गुनासो छैन। उनलाई जे थियो आमासँग थियो। बालकको लालनपालनमा आमा प्रमुख छ। परित्यक्त कर्ण जन्मदात्रीको स्नेह–स्पर्शबाट वञ्चित रहे। माताले सुमसुम्याइनन्। दुग्धपान गराइनन्। कुन्तीको समस्त लाडप्यार र पुलपुल्याई काखे अर्जुनमा केन्द्रित रह्यो। कर्णको अवचेतनले अर्जुनलाई द्वेषको एक मात्र तारो बनायो। कर्ण मातृ–ग्रन्थिका उदाहरण छन्।
माता कुन्तीले छोरा कर्णलाई अनेक प्रलोभन दिइन्– ‘कर्ण र अर्जुन एक ठाउँमा उभिएको खण्डमा अजेय रहन्छौ, दुई दाजुभाइले सिंगो पृथ्वी जित्न सक्छौं।’ अर्जुनले त्यत्रो दिग्विजय गरेको थियो। अब दुई दाजुभाइ एक भएपछि झन् के होला? कृष्ण र बलरामको अर्को जोडी बन्छ। महाराज कर्ण नै बन्ने हो, कुन्तीले यो पनि भनिन्। तत्कालीन समाजमा ‘कानीन’ छोराको हक मान्य थियो। कुनै पत्नीले कौमार्यमा जन्माएको छोरालाई कानीन भनिन्थ्यो। विवाह उपरान्त त्यस छोरामा पतिको हक लाग्थ्यो। तत्कालीन समाजको नियम–कानुन कर्णलाई पनि थाहा थियो। आफू कुन्तिको छोरा भएको पनि उनले यसअघि नै बुझिसकेका थिए। युद्धको पूर्वसन्ध्यामा यस्ता कुराको के अर्थ? कर्ण भन्छन्– ‘मलाई दुनियाँले धिक्कार्ने छ, दुर्योधनलाई ठूलो धोखा हुन्छ। म त्यस्तो काम कदापि गर्दिन। तर तिमीलाई खाली हात पठाउँदिन्। तिमी जाऊ। म दुर्योधनलाई छोड्न सक्दिन। अर्जुनलाई मारेर म तिम्रो छोरा भएको घोषणा गर्छु। म मरे भने केही कुरै भएन। यसै पनि उसै पनि तिम्रा पाँच छोरा कायम नै रहने भए।’
अर्जुनबाहेक चार छोराको जीवनदान लिएर कुन्ती फर्किन्छन्। यसै वरदानका बन्धनमा परेर कर्णले युधिष्ठिर र अरू भाइलाई कुरुक्षेत्रमा भाग्न दिएका थिए। कर्णले युधिष्ठिरलाई बन्दी बनाउन सक्थे, तर बनाएनन्। कुन्तीले कर्णको मातृत्वको रहस्य युधिष्ठिरलाई बताउँदा आफूले कर्णसँग लिएको वचन बुझाउँदा यस तथ्यको भावुक उल्लेख गरेकी छन्।
खासमा अघिल्लो दिन नै कृष्णले कर्णलाई फकाउने कोशिस गरिसकेका थिए। कृष्ण विफल भएपछि कुन्ती तात्तिएकी थिइन्। भदा कृष्णमा फुपू कुन्तीका तुलनामा ज्यादा वाक्चातुर्य थियो। कुन्तीप्रति कर्णका मनमा केही पूर्वाग्रह पनि थियो। कर्णका मनमा कृष्णप्रति कुनै पूर्वाग्रह थिएन।
कृष्ण पाण्डव र कौरवमा सन्धि गराउन आएका थिए। उनको मौखिक प्रतिबद्धता यही थियो। दुर्योधनको दुराग्रहले सन्धि भएन। युधिष्ठिरको अधिकारसम्पन्न राजदूतका रूपमा कृष्णले पाँचवटा मात्र गाउँ पाए आफ्नो पक्षले मान्ने प्रस्ताव राखेका थिए। तर, दुर्योधन तयार थिएनन्। पाँचवटा गाउँको के कुरा, सियोको टुप्पो जति जमीन पनि युधिष्ठिरले पाउँदैनन् भन्ने दुर्योधनको हठ थियो। कर्णले केही भन्ने कुरा थिएन। दुर्योधनको हरेक निर्णय उनलाई स्वीकार थियो। कृष्ण प्राणपणले पाण्डवलाई विजयी गराउन प्रयत्नशील थिए। दुर्योधनलाई विजयी गराउन कर्णको यस्तै प्रतिज्ञा थियो। दुवैको परिस्थितिमा फरक थियो। कृष्ण जे चाहन्थे, युधिष्ठिर त्यसै गर्थे। यता दुर्योधन जे चाहन्थे, कर्ण त्यही गर्थे। त्यति भएर पनि त्यस दिन हस्तिनापुरको राजसभाबाट फर्कंदा कृष्णले एउटा प्रयास गरे। कृष्णले कर्णलाई केही कुरा छ भनी साथमा बोलाए। दुवै कृष्णको रथमा चढे। बाटोमा कृष्णले कर्णलाई आकाश–पाताल देखाए। कृष्णका मुखबाट कर्णले पुनः आफ्नो जन्मवृत्तान्त सुने।
कृष्णका दुई÷तीनवटा भनाइ थिए– १) कर्णको वास्तविक परिचय अब खुल्नु आवश्यक छ। २) कर्ण कुन्तीका जेठा छोरा हुन् भन्ने थाहा हुनासाथ पाँच पाण्डव र द्रौपदीले सहर्ष उनको अग्रता र श्रेष्ठता स्वीकार गर्छन्। ३) कर्ण पाण्डवमा मिसिनासाथ युद्धको सम्भावना रहँदैन। युद्ध नै भयो भने पनि अर्जुन र कर्णको संयुक्त शक्तिका अगाडि कसैको केही लाग्दैन। पाण्डवले आफ्नो राज्य फिर्ता पाउँछन्। ४) कर्ण त्यस राज्यका अधिपति हुन्छन्, भाइहरू र द्रौपदीसमेतले कर्णको मनोनुकूल सेवा गर्नेछन्। द्रौपदी कर्णकी अंकशायनी हुन्छिन् भन्न समेत कृष्ण चुकेनन्। कृष्णले कर्णको भावी राजसभाको मनोहारी वर्णन गरे।
कर्ण भने टसमस भएनन्। उल्टो उनले कृष्णलाई सम्झाए, चेताए। कर्णले अनुरोध गरे– ‘कृपया यो कुरा युधिष्ठिरलाई थाहा नदिनु होला। युधिष्ठिरले यो तथ्य थाहा पाए भने अविलम्ब मेरा समिप आउने छन्। उनी धर्मनिष्ठ छन्। आफ्नो सारा प्राप्य मलाई बुझाउनेछन्। मैले त्यो राज्य सरक्क दुर्योधनलाई टक्रयाउँछु। युधिष्ठिरको दुरगति उस्तै रहनेछ। यस्तो नहोस्। आजका मितिमा मुलुकमा युधिष्ठिरभन्दा उपयुक्त राजा अर्को छैन। म जहाँ छु, जे छु, जे कारणले छु, त्यो आफ्नो ठाउँमा छ। तर, राजाका रूपमा युधिष्ठिर आदर्श हुन्। उनलाई मेरो जेष्ठत्वको परिचय दिएर राज्यबाट वञ्चित गराउने काम नगराउनुहोस्। मैले भने यो ज्यान–जीवन महाराज सुयोधनलाई अर्पित गरेको छु। यो यस्तै रहन दिनुस्।’
महाभारतमा कृष्णको देवत्वमा विवाद छ। शिशुपाल र दुर्योधनले मौकामा कृष्णको देवत्वको उपहास गरेका छन्। कतिपय मनिषीहरू कृष्णमा देवत्व देख्थे। सञ्जयले धृतराष्ट्रलाई गीता सुनाउने क्रममा कृष्णको महिमा बताएका थिए– ‘यत्र योगेश्वर कृष्ण….’ भन्ने श्लोक सुनाएका थिए। कृष्ण जहाँ छन् त्यसैको विजय हुन्छ भन्ने धेरैको मान्यता थियो। राज्य भोगका विषयमा कर्णको उत्तर सुनेर परमेश्वर कृष्ण चकित भए होला।
तर, कर्णको कुरा सिद्धिएको थिएन। उनले कुरा थप्दै गए। कर्णले भने– ‘तपाईंको देवत्व समेत मलाई थाहा छ। तपाईं जता लाग्नुहुन्छ त्यतै विजय हुन्छ। कृष्ण र अर्जुनको जोडीलाई कसैले हराउन सक्दैन। म त मर्ने मात्र हो, मलाई मर्न दिनुस्। मैले देखिसकेको छु, महाभारतका युद्धका माध्यमबाट दैवले महाविनाशको आयोजन गरेको छ। हामी सबै त्यस महाविनाशको यज्ञमा चढ्ने चरु हौं। मलाई कुनै गुनासो छैन। म आफ्नो नियतिको साक्षात्कार गर्छु। दैवले आफ्नो काम गरोस्।’ कर्णले कुरुक्षेत्रको महासमरको अद्भूत रूपक प्रस्तुत गर्छन्। कृष्ष्णको नेतृत्वमा रहेको युधिष्ठिरको विजय अनिवार्य देख्छन्– ‘नेता यस्य हृषीकेशो..’ अर्थात्, युधिष्ठिर जित्छ भन्छन्। अन्तमा उनी भन्छन्– ‘क्षत्रीयहरूले युद्धमा मर्न पाउनु उनीहरूको सौभाग्य हुन्छ।’
महाभारतमा कृष्ण–अर्जुनलाई नारायण र नरको स्वरूपका रूपमा ठाउँ–ठाउँमा पेस गरिएको छ। व्याख्याका अनुसार महाभारतमा ईश्वर र मनुष्यको संयुक्त प्रयासबाट नवयुग सृजना गर्ने आह्वान छ। गीतामा दैवीय र आसुरी सम्पदाको वर्णन छ। दैवीय सम्पदा भएका महाभारतका पात्रले परमात्मासँगको सहकार्य स्वीकार गर्छन्। आसुरी सम्पदाका पात्रले सबथोक आफैं गर्छु भनेर घमण्ड गर्छन्। कृष्ण–कर्ण संवादबाट एउटा कुरा स्पष्ट हुन्छ– कर्णमा त्यस्तो किसिमको अहंकार छैन। त्यस दृष्टिले उनी दैवीय सम्पदाले विभूषित छन्। त्यति हुँदाहुँदै उनी दुर्योधनका साथ थिए। त्यो उनको नियति थियो।
कर्णले कृष्णसँग कुरा गर्दा आफ्नो एउटा सपना सुनाउँछन्। त्यो सामान्य सपना थिएन। यो दिव्य अन्तरदृष्टि थियो। भगवान सूर्यले कुनै समय यस्तै सपनामा उनको पितृत्वको रहस्य बताएका थिए। यसपटकको सपनामा उनले महाभारतको परिणति देखेका थिए। आधुनिक मनोविज्ञानले सपनालाई आत्मज्ञानको माध्यमका रूपमा लिएको छ। महाभारतकालमा त सपनाको झन् महत्व थियो होला। त्यस सपनाले समेत उनलाई आत्मोपलब्ध गराएको थियो। आत्मोपलब्धिको धरातलमा उभिएर उनले कृष्णलाई निरुत्तर बनाए। दुवै एकअर्काप्रति सम्मान व्यक्त गर्दै छुट्टिए। त्यसपछि उनीहरूको भेट बस् युद्धको मैदानमा भयो।
कुरुक्षेत्रको युद्धमा कर्णको वीरताको चरमोत्कर्ष देखिन्छ। दिग्विजयको प्रसंग वा नारद–वृत्तान्तमा गरिएको वीरता कर्ण पर्वमा चरितार्थ छ। भीष्मको सेनापति रहँदासम्म कर्णले युद्धमा भाग लिएनन्। कर्णले भाग लिएपछि मात्र युद्धले तीव्रता प्राप्त गर्यो। भीष्मको सेनापतित्वका दस दिनमा कुनै उल्लेखनीय वीर मारिएका थिएनन्। त्यसपछि राजा द्रुपद, राजा विराटबाहेक अभिमन्यु र घटोत्कच मारिन्छन्। अभिमन्युलाई निशस्त्र अवस्थामा छ महारथीले घेरेर मारेका थिए। कर्ण–घटोत्कच संग्राम कृष्णको अभियोजना थियो। कर्णसँग एक महाशक्ति थियो। कर्णले अर्जुनको हत्याका निमित्त त्यस महाशक्तिलाई सुरक्षित राखेका थिए। तर कर्णको केही लागेन। कृष्णको योजनाअनुसार त्यस घटोत्कचका उपर त्यस शक्तिको प्रयोग भयो।
युधिष्ठिरको पराजय र पलायनको प्रसंग कर्ण पर्वको एक महत्वपूर्ण अध्याय हो। कर्णले युधिष्ठिरबाहेक सहदेव–नहकुललाई पनि फन्दामा पारेका थिए। कतिपय संस्करणमा भीम पनि कर्णबाट पराजित भएको सविस्तार वर्णन छ। युधिष्ठिर नराम्ररी घाइते हुन्छन्। कर्णले सबैले देख्ने–सुन्ने गरी उनलाई जीवनदान दिन्छन्। अपमानित भएर युधिष्ठिर आफ्नो शिविरतिर भाग्छन्। कर्णले युधिष्ठिरलाई यसरी भाग्न दिएको रहस्य त्यतिबेला खुल्दैन। दुर्योधनले चित्त दुखाउँछन्। पछि कुन्तीले युधिष्ठिरलाई कर्णको बचनदान बताउँछिन्। युधिष्ठिरको पलायनले एकातिर कर्णको वीरता देखाएको छ, अर्कातिर अर्जुन र युधिष्ठिरको आपसी सम्बन्धको तनावको संकेत गरेको छ। अर्जुन र युधिष्ठिरको भनाभन हुन्छ। अर्जुनले युधिष्ठिरलाई लाछीसम्म भन्छन्। अर्जुनले द्रौपदीलाई जितेका थिए, तर युधिष्ठिरसँग द्रौपदीको भोगाधिकार थियो। अर्जुनले द्रौपदीसम्मलाई उड्कन्छन्।
कर्णका जीवनका आखिरी घडीहरूमा उनको व्यक्तित्वको आलोक चरमोत्कर्षमा पुग्छ। कर्णको रथका पाङ्ग्रा पृथ्वीमा भासिन्छन्। अबुझ ब्राह्मणले दिएको श्राप चरितार्थ हुन्छ। सारथि शल्यले कुनै मद्दत गर्दैनन्। कर्ण आफैं रथबाट ओर्लन्छन्। कृष्णले अर्जुनलाई भन्छन्– ‘लौ यही मौका हो। यसको हातमा हतियार रहँदासम्म यसलाई मार्न सकिँदैन। यसलाई अहिले नै मारिहाल।’ यो आह्वान युद्धको नियमविपरित थियो। तर, कृष्णको त जन्म नै मानौं यावत् नियम र मर्यादालाई तोड्न भएको थियो।
कृष्णको उत्तेजनात्मक आह्वान अगाडि अर्जुनको केही लागेन। कृष्ण कर्णको अपराध गनाउन थाले। त्यतिबेला तिम्रो धर्म कहाँ गएको थियो भनेर पाण्डवप्रतिको अन्याय गनाउन थाले। अर्जुन ताते। उनले पाङ्ग्रा उकास्दै गरेका कर्णलाई प्रहार गर्न धनुष उठाए। कर्ण कराए– ‘म हतियारविहीन छु। मलाई मौका देऊ। मैले मौका पाऊँ।’ अभिमन्युका मामा कृष्णले पिता अर्जुनलाई छोराको सम्झना गराएका थिए– ‘….कव ते धर्मस्तदा गतः।’ छोराको दारुण हत्याको सम्झनाका गराइएका अर्जुनले बाण छोडे। कर्ण मरणान्त भएर भुइँमा लडे।
कर्णका मृत्युका साथ महाभारतको लडाइँ एकप्रकारले सिद्धिएको थियो। कर्णको मातृग्रन्थीले आफ्नो काम गर्यो। कुन्तीका छोरा पाँचका पाँच नै रहे। छ भएनन्।
…
कुन्तीबाट चारवटा छोरा जन्मिएका थिए। पञ्च–पाण्डव भनिएका दुई नहकुल र सहदेव पाण्डुकी कान्छी महारानी माद्रीका छोरा थिए। यी दुई कान्छा पाण्डवलाई जेठा चार जनाको गुण–सम्पदालाई थप उज्यालो बनाउन कविले रचेका थिए। कर्ण, युधिष्ठिर, भीम र अर्जुनको चरित्र निर्माणमा व्यासले कुनै कसर छाडेका छैनन्। यी चारै भाइको चारथरीका आफ्नै विशेषता छन्। कर्ण सर्वाधिक आकर्षक छन्, त्यस्तै अन्तरविरोधका आगार समेत छन्। युधिष्ठिरलाई धर्मतत्वका उपर मनन–चिन्तन गर्नबाट कहिल्यै फुर्सद छैन। भीम इन्द्रियप्रधान प्राणी छन्। उनको अर्को नाम बृकोदर हो। विराट राजाकहाँ गुप्तवासमा बस्दा उनी भान्से भएका थिए। उनी कामलाई केन्द्रीय पुरुषार्थ मान्दछन्। धनुर्वेद अर्जुनको व्यसन थियो। वर्तमान युगमा सचिन तेन्दुलकरले क्रिकेट, वेकहमले फुटबल, टाइगर उड्सले गल्फ यस्तै व्यसनका रूपमा नै खेल्छन्। अर्जुनलाई स्त्री–संसर्गमा उस्तै रुचि थियो। इन्द्रले उनलाई स्त्री–संसर्ग विशारद् हुने शिक्षा दिलाएका थिए। व्यासले कर्णलाई यी तीन भाइभन्दा पृथक रंग र रेखाले कोरेका छन्। कर्ण यशका भोका थिए। ममताको अप्राप्तिको कुण्ठा यशेषणामा परिणत भएको थियो। पुरुषलाई स्त्री–स्पर्शले कोमल बनाउँछ। आमाद्वारा परित्यक्त कर्णले द्रौपदीबाहेक अर्की महिलाको अनुहार देखेको चर्चा महाभारतमा छैन। यसैले होला, बाँकी दुनियाँका बारेमा उनको एउटा सोच थियो, कुन्तीका छोराप्रति अर्को भाव थियो। कुन्तीका प्रिय छोरा र द्रौपदीका प्रिय पति अर्जुनलाई कर्णले माफ गरेनन्।
उर्दूमा एउटा लोकोक्ति छ– मर्जी खुदा का, खेल नसीब का, इज्जत इन्सान का।’ महाभारत युद्ध पनि खुदाको मर्जीका हिसाबले भएको थियो, यो ठीकै छ। नसीबको खेलले कौरव हारे, त्यो पनि केही भन्नु छैन। तर, कौरव पक्षका प्रत्येक नायक आ–आफ्नो इज्जत बचाउन सफल भए। दैवीय अभियोजनाको साक्षात्कार गरेर ‘इज्जत इन्सान का’ भन्ने मान्यता अनुकूल कर्ण स–सम्मान र सगर्व कत्तल भए।
जस्तै प्रतिभाशाली भए पनि जन्म र परिवारको परिचयले मानिसलाई छोड्दैन। यस पृष्ठभूमिमा भारतका अम्बेडकरले दलितको पीडालाई मुखर गरेका थिए। रामास्वामी नायकर र लोहियाले शुद्रलाई संगठित गरेर बाहुनवादको वर्चस्वलाई चुनौती दिए। तर, आजको नेपाल वा भारतमा पनि दलित र पिछडा विद्यार्थीका साथ न्याय हुन सकेको छैन। केही समयअघि भारतमा रोहित चक्रवर्ती वेमुला नामका एक दलित विधार्थीले आत्महत्या गरेका थिए। हैदरावाद विश्वविद्यालयमा पिएचडी विद्यार्थी रोहितलाई छात्रवृत्ति प्रशासनले भेदभाव नीति लिएर रोकेको थियो। हतोत्साहित भएर रोहितले आत्महत्या गर्नुपरेको थियो। आत्महत्या गर्दाको टिप्पणीमा उनले लेखेका थिए– ‘मेरो जन्म नै मेरो दुर्भाग्य हो।’ रोहित बेमुलाको मृत्युलेखमा एकलव्य र कर्णको दुर्भाग्यको प्रतिध्वनी छ।
जातीय उत्पीडनको कथा कर्णको जीवनको केन्द्रीय सन्देश कदाचित् होइन। महाभारत युगमा जाति उत्पीडनलाई पूर्वजन्मको उल्लेख गरेर उडाइन्थ्यो। भनिन्छ, त्रेतायुगमा कर्ण सुग्रीव थिए। रामले सुग्रीवलाई सघाएका थिए। सुग्रीव पनि कर्णजस्तै सूर्यपुत्र थिए। सुग्रीवलाई सहायता गर्दा रामले उतिबेला इन्द्रपुत्र बालीलाई अन्याय गरे। द्वापर युगमा कृष्णका रूपमा त्यो पैंचो तिरे। कर्ण मरे।
सन्देश अर्कै छ। कर्ण र अर्जुन सहोदर दाजुभाइ थिए। अर्जुनले अन्जानमा नै दाजु कर्णको हत्या गरे। अन्तिम घडीमा कर्ण अन्जान रहन गएका थिएनन्। तर, त्यसरी चेत खुलुञ्जेल कर्णको फर्कने बाटो रहन गएको थिएन। समकालीन विश्वमा पनि यस्तै दाजुभाइ चेतविहीन भएर लड्दैछन्। धर्मले भन्छ– ‘मनुष्य एउटै ईश्वरका सन्तान हुन्, आपसमा नलड। यस्तै पृष्ठभूमिमा महाभारतको अन्त्यमा व्यासले विलाप गर्छन्– ‘… न च कश्चित् श्रृणोति मे।’
No comments:
Post a Comment