Monday, 30 January 2017

कफी पिउँदैमा माया बस्छ र ?

‘ओहो पाँच मिसकल आइसकेछ ।’

बेलुकी फेसबुक चलाउँदा मोबाइल ‘भाइब्रेट’ गर्छ भनेर ‘साइलेन्ट मोड’मा राखेको, ‘अन’ गर्न नै बिर्सिएछ । ‘मिसकल’मात्र होइन, एउटा ‘म्यासेज’समेत आएको रहेछ । साहिना झसङ्ग भई, घरबाट पैसा पठाउने बेला भएकोले लाग्यो ‘मम्मी’को नै ‘कल’ होला । घरबेटीलाई पैसा बुझाउने समय भएको थियो । कलेजमा पनि भर्ना गर्ने ढिला भएकाले ‘लेट फि’ तिनुपर्ने समय भइसकेको थियो । महिनामा एकपटक घरबाट पैसा आउँथ्यो । उताबाट पठाउँदा धेरै पठाएजस्तो लागे पनि सबै कुरामा पैसा छुट्याउँदा महिनाको अन्तिममा सधैँ अभाव नै हुन्थ्यो ।

आज ‘मम्मी’को भाषण सुनिने भयो । ‘छोरी मान्छे भएर सबेरै उठ्ने, पूजा पाठ गर्ने, चोखो पानी राख्ने पो गर्नुपर्छ । घाम झुल्किने समयसम्म सुतिराख्ने ?’ भनेर ‘मोबाइल’बाट नै गाली गर्न छाडनु हुन्नथ्यो ।

‘बिहे गर्ने उमेर भइसक्यो, के गरेर खाली यो केटीले ?’ मेरी आमालाई बिहे गरेपछि अरूको घर कसरी ‘खाली’ भन्ने चिन्ता लाग्थ्यो । मलाई लाग्यो– यस्तै गालीले आजको दिन सुरुवात हुने भयो ।

घर छँदा त आमाले बिहानै ढोका ढकढक गर्न आउनुहुन्थ्यो । बिरानो सहरमा १० बजेसम्म सुत्दासमेत कसलाई मतलब हुन्छ र ? मनमा विभिन्न भावना खेलाउँदै मोबाइलको ‘लक’ खोली साहिनाले ।

‘लक’ खोल्नासाथ ऊ झसङ्ग भई । सुयोग नाममा ‘सेभ’ गरिएको नम्बरबाट आएको म्यासेजमा लेखिएको थियो ‘सि यू सुन ।’ छाँगाबाट खसेजस्तै भयो उसको मन । एका–एक आफैंलाई ‘केयरलेस’ भन्न मन लाग्यो । कलेजको ‘असाइन्मेन्ट’ र परीक्षाको तनावले भरिएको दिमाखले कसैलाई दिएको समय नै बिर्सिइछ ।

पढाइको अलावा साइनाको रूची लेखनमा थियो । फुर्सदको समयमा लेख लेख्ने गर्थी । केही लेख छापिएका पनि थिए, केहीले भने ‘लेखनशैली ठिकै छ, प्रयास जारी राख’ भनेर रिप्लाइ गर्थे । त्यसले पनि उसलाई सान्त्वना नै दिन्थ्यो । त्यही यात्रामा भेटिएको एकजना पात्र थियो ऊ । लेख पठाउने क्रममा चिनजान भएको र समय–समयमा उसलाई कल गरेर लेख्न उक्साउने पात्र थियो । के लेख्दैछौ, पढाइसँगै लेखाइ पनि अगाडि बढाउँदै जाउ, धेरै पुस्तक पढ ।

यस्तै–यस्तै सल्लाह सुझाव दिन्थ्यो उसले । सायद जीवनको गोरेटोमा बाबाआमा पछिको बढी हौसला दिने व्यक्ति ऊ नै हो जस्तो लाग्थ्यो साहिनालाई ।  लामो समयको चिनजानपश्चात सुयोगले साहिनालाई साथै कफी पिउने समय मागेको थियो । अरू दिन व्यस्त हुने हुँदा शनिबारको समय छुट्याएकी थिई उसले ।

९ बजेको समय एक हप्ता अघि नै तय भएको थियो । तर त्यही दिन नै बिर्सिन पुगी उसले । ९ बजे बल्ल निद्राबाट ब्यूँझिएकी थिई ।  उसले छिटो–छिटो मुख धोई र कपड़ा फेरी । एकपटक आफूलाई ऐनामा हेरी । ठिकै लाग्यो । कसैलाई ‘इम्प्रेस’ पार्ने मानसिकता भए पो गाजल लगाउनु ! उसले सोची । त्यसमाथि तोकिएको समयभन्दा ढिलो पुग्ने निश्चित भइसकेको थियो । कोठाबाट निस्किँदा नै साँढे ९ भइसकेको थियो ।

कतै आँखा नडुलाई ऊ सरासर कोठाबाट निस्किई र एक फोन गरी ।

उताबाट सिधै प्रश्न आयो, ‘कहाँ आइ पुग्यौ ?’ ‘म भर्खर कोठाबाट निस्किएकी’, साहिनाले जवाफ फर्काई ।

म पनि आउँदै छु भनेर भने पछि बल्ल साहिनाको मन ढुक्क भयो ।  उसले भनेको थियो, ‘एउटा प्रोगाम भएकोले लेट भो ।’ पढाइको अलावा बाहिरी ज्ञान त्यति नभएकी साहिनाको मनमा विविध प्रश्न आउन थाले । सुयोग पत्रकार थियो ।

पत्रकारहरू तप्रश्न सोध्न खप्पिस हुन्छन् । सुयोगको अगाडि ‘फन्टुस’ बन्छु कि भन्ने चिन्ता थियो । साहिनाले स्कुल पढ्दा पत्रकार बन्ने सपना नबोकेकी होइन तर पनि उसले त्यो विषय पढ्न सकिन । एसएलसीमा राम्रो प्रतिशत अंक ल्याएपछि परिवारले विज्ञान विषय नै पढ्न बाध्य बनाएका थिए ।

परिवारको इज्जत बचाउन आफ्नो इच्छाविपरीतको विषय पढन धेरै जना बाध्य हुन्छन् । त्यसकै सिकार भएकी थिई ऊ ।  सोच्दा–सोच्दै कफीसप आइपुगेछ । बाहिर कोही थिएन । ऊ सरासर भित्र गई । बिहानीको समय भएकोले होला, कफीसपमा खासै चहलपहल थिएन ।

दुईवटा टेबल ‘बुक्ड’ थिए । एउटा टेबलमा रहेको मानिस उसको नै पर्खाइमा थियो । उसले टाढैबाट नमस्ते गरी र नजिक पुगुन्जेलसम्म दुई हात जोडिरही । उसले पनि नमस्ते गर्यो ।  ‘बस न’ भनेपछि ऊ बसी । कुराकानीको सुरुवात सुयोगबाट नै भयो ।

‘के छ नयाँ नौलो खबर ?’ सामान्य प्रश्नको उत्तर उसले सजिलै दिई ‘ठिक छ ।’

‘तपाइँको के छ ?’ भनेर सोध्न मन त थियो साहिनालाई । तर किनकिन उसको बोली रोकियो ।

सुयोगको लागि यो कुनै नौलो भेट थिएन, केवल मुहारमात्र नयाँ थियो । पत्रकारितामा लागेका मानिसहरू सामान्यतया भेटघाट र कफी पिउने बानीलाई दैनिकीकै रूपमा लिने गर्छन् भन्ने साहिनालाई थाहा थियो ।

  ‘के लेख्दैछौ आजाभोलि, अस्तिको तिम्रो लेख त धेरै राम्रो थियो नि !’ प्रश्न सोध्दै गर्दा टेबलमा कफी आइपुग्यो ।

‘पढाइको प्रेसरले लेख्नेतर्फ सोचेकै छैन । २ हप्ता अगाडि सुरुवात गरेको एउटा स्टोरी समापन गरेकै छैन ।’ सुयोगको मोबाइलमा घन्टी बज्यो ।

उसले उठाएर भन्यो, ‘हजुर म अफिसबाहिर छु, अबको आधी घण्टामा आइपुग्छु ।’ ‘कति व्यस्त हुन्छन् है पत्रकार’, भनेर भन्न मन लागेको थियो साहिनालाई तर उसले मनभित्रै दबाई, कहिलेकाहीँ आउदै गरेको हाच्छ्यूँ दबाएजस्तै गरी ।

कफीको चुस्कीसँगै उसको पढाइको बारेमा केही प्रश्न सोध्यो सुयोगले, सामान्य इन्टरभ्यूजस्तै । साहिनालाई भने प्रश्न सोध्ने आँट नै आएन । उसको अगाडि लज्जित भई, लज्जावती झारजस्तै । साथीभाइसँग प्यारप्यार बोलेजस्तो सहज माहोल उसले भेटिन ।  आँट नै गरेर एउटा प्रश्न भने सोधी, ‘हजूरको जागिर कस्तो चल्दै छ त ?’

‘के हुन्थ्यो हामी पत्रकारको जिन्दगी, देश र जनताका समस्या लेख्दै ठिक्क छ । घरमा आमा बिरामी हुनुहुन्छ, अफिसमा छुट्टी नपाएर जान पनि भ्याएको छैन ।’ सामान्य तरिकाले प्रश्नको जवाफ दियो । यत्तिकैमा कपको कफी रित्तियो । ‘विचरा’ भन्न मन लाग्यो साहिनालाई तर उसले के नै गर्ने सक्थी र ? पीडाका बाबजुद पनि दिनहुँ खटिनुपर्ने बाध्यताले बेरेको छ जागीर । यस्तै सामान्य कुराकानीमा नै उनीहरूको छुट्टिने समय भइसकेको थियो ।

‘अब हामी लागौं’ भनेर सुयोग रिसेप्सनतिर लम्कियो । छुट्ने समयमा सुयोग बोल्यो, ‘राम्रोसँग बस, आफनो ख्याल गर । पढाइसँगै लेखनलाई पनि निरन्तरता दिँदै गर ।’ बाटोभर साहिनाको मनमा विविध कुरा खेले । सोचेभन्दा फरक थियो सुयोग र उसको बोल्ने शैली ।

कोठामा पुगेर आफ्नो नियमित काममा लागी ।  शनिबार भएकाले कोठा सफा गर्ने, कपडा धुने, नुहाउने काम थियो । बेलुकीपख फेसबुक खोली, सुयोगको म्यासेज आयो ।

‘नाइस टु मिट यू ।’ ‘तिमी कति लजालु’ उसको प्रश्न थियो । हाँसेर टारी साहिनाले । ‘अब हामी फेरी कहिले कफी पिउने ?’ सुयोगको प्रश्न थियो । ‘आज भर्खर पिएको, कति हतार’, उसले भनी ।  ‘एकै भेटमा तिमीसँग माया बस्यो,’ ‘इमो’ खोल्नेबित्तिकै साहिनाले सन्देश देखी ।

सुयोगले कल्पनाभन्दा धेरै बाहिरको कुरा गरेको थियो परीक्षामा ‘आउट कोइसन’आएजस्तै । के सँगै कफी पिउँदैमा माया बस्छ र ?  कल्पनाबाहिरको प्रश्नले उत्तर दिन कठिन बनाउँ र त्यसलाई छोडेर अरू प्रश्नको उत्तर लेख्न ध्यान जान्छ ।

उसलाई आज त्यस्तै भयो । साहिनाले बढी बोल्न उचित ठानिन र ‘इमो’ बन्द गरी । तर धेरै समयसम्म उसलाई त्यही प्रश्नले पछ्याइरह्यो– ‘के सँगै कफी पिउँदैमा माया बस्छ र ?’

No comments:

Post a Comment