Thursday, 26 January 2017

युराेपसम्म पुग्छ माटाेका भाँडा

काठामाडौं, माघ १ गते । भक्तपुरमा बनाइने नेपाली माटोका भाँडाको निर्यात जर्मनी, जापान र दक्षिण कोरियासम्म हुन थालेकाे छ। ती देशबाट नेपाल घुम्न आएका पर्यटकले नेपाली कलात्मक भाँडाहरु लिएर जाने गरेका छन्।

DSC01296

काठमाडौं उपत्यकामा सबैभन्दा बढी माटाेका भाँडाको माग ठिमी, पाटन, काठमाडौंमा हुने रहेको जानकारी व्यवसायीले दिएका छन्। भक्तपुर कमलविनायकका माटोका भाँडाको व्यापार गर्दै आउनुभएका श्याम महर्जनले आफूकहाँ विदेशबाट समेत माटोका भाँडोको माग आउने गरेको बताउनुभयो ।

भक्तपुरका व्यासी, ठिमी, कमलविलायक, च्याम्हासिंह लगायत ठाउँका प्रजापतिहरु पुर्खौंदेखि माटोका भाँडा बनाएर जिविका चलाएका छन्। आफ्नो प्रमुख आर्थिक स्रोतको रुपमा माटोका भाँडा बनाउनु रहेको वताउँदै भक्तपुरको बोलाछेंका राजेश प्रजापति आफ्नो सम्पूर्ण परिवार वर्षौदेखि यही पेशामा आवद्ध रहेको वताउनुभयो। प्रजापतिले यस पेसाबाट आफ्नो पारिवारिकाे आर्थिक व्ययभार बहनसँगै वार्षिक करिब दुई लाख रुपियाँ बचत हुने बताउनुभयो।

भक्तपुरमा माटोको काम गर्ने प्रजापति परिवारमा सवैजना आ आफ्नो क्षमता अनुसार काममा खट्ने गरेका पाइन्छ। जगातिस्थित वाइज ल्याण्ड सेकेण्डरी स्कूलमा अध्ययनरत १५ वर्षीय रिकेश प्रजापति फुर्सदको समयमा आफूले पनि परिवारलाई माटोको भाडाँकुडा वनाउन सहयोग गर्ने गरेको बताउनुहुन्छ। उहाँले भन्नुभयो– “म फुर्सदको समयमा माटोको भाडाकुडामा रंग लगाउने गर्छु ।

आफ्नो घरमा माटोको भाडाबाट मासिक ३० देखि ३५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको रिकेशले वताउनुभयो। भक्तपुरमा माटोका भाडाहरूमा खासगरी दियो, गमला, खुत्रुके, गाग्री, दही जमाउने कतरा, आम्खोरा, घैंटो, धुपौरो, गमला, घडी, हाँडी, सुराई, फूलदानी, विभिन्न देवी देवताका मूर्ति, घ्याम्पोलगायत बनाइने गरेको छ। भक्तपुर घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइमा  माटोका भाडाँकुडाँ तथा यसबाट बनेका विभिन्न प्रकारका सजावटका सामग्रीहरु पर्दछन् ।

DSC01296

भक्तपुरको च्यामासिंहमा माटोका भाँडा छान्दै गर्नुभएकी काठमाडाैं बानेश्वरकी गृहिणी पुजा थापा भन्नुहुन्छ – “माटाका भाडा हेर्दा आकर्षक र सस्तो हुने हुनाले घर, कोठा सजाउन तथा उपहारको लागि पनि राम्रो हुने गरेकाे छ। ”
माटोको भाँडा निमार्णमा संलग्न रहनुभएकी लक्ष्मी प्रजापति स्थानीयस्तरमै उत्पादन हुने कच्चा पदार्थ तथा स्थानीय जनशक्तिको प्रयोग गरी भाडामा सामग्री निर्माण गरिने हुँदा अन्य भाँडाको  दाँजोमा किफायती तथा सस्तो हुने बताउनुहुन्छ ।

माटोका भाँडाको माग विशेषगरी चाडपर्वको समयमा उच्च हुने गरेको स्थानीय व्यापारी कृष्णमान श्रेष्ठ बताउनुहुन्छ। तिहार, छठलगायत पर्वहरुमा उपत्यकालगायत तराईका विभिन्न जिल्लामा यसको माग उच्च रहने गरेको छ । प्लास्टिकका भाँडाहरु आउन थालेपछि भने कतिपय माटाका भाँडाको माग पनि घट्दो छ।


No comments:

Post a Comment