सीताराम चौधरी
चन्द्रौटा, ५ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले ट्राफिक प्रहरी जनमैत्री भएर काम गर्ने उद्घोष गर्नुभएको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंबाट सरुवा भई साताअघि जिल्ला ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका कार्कीले प्रहरी र नागरिक बीचको सम्बन्ध सुधारलाई महत्वपूर्ण पाटोको रुपमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको हो ।
प्रहरी निरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई सेवामुखी र जनमुखी भएर काम समेत कार्यक्रमकै अवसरमा निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी निरीक्षक कार्कीले नागरिकप्रति उत्तरदायी बन्न आफू मातहतका ट्राफिक प्रहरीलाई निर्देशन समेत दिनुभयो । ट्राफिक लाइनमा आफू नौलो रहेको बताउँदै प्रहरी निरीक्षक कार्कीले सबैसँग समन्वयकारी भूमिका निर्वाह गरी काम गर्ने बताउनुभयो ।
ट्राफिक नियमको उलङ्घन, असीमित गति, अव्यवस्थित पार्किङ, छाडा चौपाया सवारी दुर्घटनाका मुख्य कारण भएको दर्शाउँदै कार्यक्रमका सहभागीले ट्राफिकले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
सहभागीले नागरिकको गुनासो आउन नदिने किसिमको सम्बन्ध विस्तार गर्न अपिल गरेका थिए । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले चन्द्रौटामा अस्थायी ट्राफिक प्रहरी पोष्टलाई व्यवस्थित र स्थायी बनाउन पहल चाल्नुपर्नेमा जोड दिनुभयो ।
चन्द्रौटा–कृष्णनगर औद्योगिक क्षेत्रका कारण बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन अघि सर्नुपर्ने बताउनुभयो । उहाँले व्यापार संघको तर्फबाट आवश्यक सहयोग पु¥याउने समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा शिवगढी ई–रिक्सा व्यवसायी संघका उपाध्यक्ष रामचरण यादवले सरकारको फितलो नीतिका कारण आफूहरुले मार खेप्नुपरेको गुनासो गर्नुभएको थियो । ई–रिक्सालाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरणको सृजना गर्न उहाँले सबैसँग सहयोगको याचना गर्नुभयो ।
अस्थायी प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख एवं सहायक प्रहरी निरीक्षक हरिबहादुर जिसीको संचालन रहेको कार्यक्रममा विभिन्न यातायात व्यवसायी संघका प्रमुख एवं प्रतिनिधि, संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, ई–रिक्सा चालक संघका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment