नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले हिन्दी भाषा कहिल्यै पनि नेपालको राष्ट्रिय भाषा हुन नसक्ने बताउदै उनले यहाँका मौलिक भाषा मास्ने षड्यन्त्रस्वरुप हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजिएको बताएका छन् । उनले तीन तहको निर्वाचन सम्पन्न गरेपछि बन्ने नयाँ संसद्ले मात्रै संविधान संशोधन गर्नसक्ने बताए।
एमाले चितवनले यहाँ आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रस्तावित संविधान संशोधन विधेयक राष्ट्रको हितमा नभएको प्रष्ट पारे । आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्था नै सङ्कटमा पर्ने चर्चा गर्दै उनले देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डतालाई कसैले कमजोर पार्न नहुने बताए ।
आयु लम्ब्याउनेतर्फ मात्रै सरकार उद्धत रहेको आरोप लगाउदै वरिष्ठ नेता खनालले निर्वाचन र संविधान कार्यान्वयन गर्नेतर्फ वर्तमान सरकार उदासिन देखिएको आरोप लगाए । उनले कुनै पनि हालतमा संविधान संशोधन विधेयक पारित हुन नदिने बताउँदै संविधान कार्यान्वयनतर्फ सबै दल लाग्नुको विकल्प नभएको धारणा व्यक्त गरे ।
वरिष्ठ नेता खनालले एमालेको नीति, उद्देश्य र योजना नेपालको माटो सुहाउँदो भएको बताउँदै “अब देशलाई समृद्धितर्फ लैजानुपर्छ र त्यसको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भने ।” सो अवसरमा वरिष्ठ नेता खनालले एमाले पार्टीमा प्रवेश गर्नेहरुलाई अबिर र माला लगाई स्वागत गरेका थिए ।
No comments:
Post a Comment