Sunday, 5 February 2017
यसकारण चोरिएको थियो अस्पतालबाट शिशु
वीरगञ्ज, २४ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा जन्मिएको २ घण्टापछि चोरी भएको नवजात शिशु सकुशल भेटिएको छ । पर्साको बेल्वा गाविस–९ मिलन चौकस्थित एक घरमा लुकाई छिपाई राखिएको अवस्थामा सो नवजात शिशु सकुशल भेटिएको हो ।
पर्साको बेल्वा–९ मिलनचौकस्थित बिन्देश्वर साह कानुको घरमा उनकै छोरी २२ वर्षीय लालसादेवी साहले चोरी गरेर लुकाइ राखेको अवस्थामा प्रहरीले शिशु फेला पारेको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पशुपति उपाध्यायले बताए । राजधानी दैनिकले समाचार छापेको छ ।
विवाह भएको ५ वर्षसम्म पनि बच्चा नजन्मिएपछि उनले बच्चा चोरेको प्रहरीले जनाएको छ । प्रहरीले बच्चा चोरी गर्ने लालसा देवीलाई पनि पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
प्रहरीले सकुशल फेला पारेको नवजात शिशुलाई आइतबार नै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेकी शिशुकी आमा वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशा देवीलाई जिम्मा लगाएको छ । अहिले बच्चाको पनि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताको आइसियु कक्षमा राखेर उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सक एवं नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चितरञ्जन साहले बच्चाको अवस्था आफूहरुले अपेक्षा गरेभन्दा राम्रो रहेकोले रिकभर गर्ने सकिने जनाए ।
आशादेवीले चौथो सन्तानका रुपमा जन्माएको नवजात शिशु ( छोरो ) शुक्रबार मध्यान्ह साढे १२ बजेतिर चोरी भएको थियो । विवाह भएको पाँच वर्षसम्म पनि सन्तान नजन्मिएपछि उनी मानसिकरुपमा विक्षिप्त थिइन् ।
बच्चाको रहर पूरा गर्न उनी १ महिनादेखि मौका कुरेर बसेकी थिइन् । ‘मौका मिलेपछि नवजात शिशुका अभिभावकलाई झुक्याई चोरी गरेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता चक्रराज जोशीले भने ।
प्रहरीले अनुसन्धानका लागि अस्पतालका कर्मचारीहरु सहित एक दर्जनलाई नियन्त्रणमा लिएको थियो । ती सबैलाई निर्दोष भन्दै छाडिएको छ ।
यता हराएको बच्चा पाएपछि मुकेश पासवानको परिवारमा भने खुसियाली छाएको छ ।
Labels:
Nepal News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment