काठमाडौं, १० माघ । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका राजकुमार कक्षपतिले भर्खरै पार्टी परित्याग गरेका छन् ।
लामो समयसम्म क्रियाशिल रहेको पार्टी विचल्लीत हुँदै गएकाले आफूले त्यहाँ बस्न नसकेर पार्टी परित्याग गरेको अभिव्यक्ति उनले दिएका छन् । पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका कक्षपतिले राष्ट्र र राष्ट्रियताप्रति वफादार पार्टीलाई मात्रै अब जनताले विश्वास गर्ने प्रतिक्रिया दिएका छन् ।
दैनिक नेपालसंग कुरा गर्दै उनले माओबादी भित्रका गलत कुरालाई समर्थन गर्न नसक्दा आफू पार्टी परित्याग गर्न बाध्य भएको बताए । ‘गलत कुरालाई सही मानेर त्यही कुराको पैरवी गर्दै हिड्न सकिनँ’ उनले भने–‘माओबादी केन्द्रले कम्युनिस्टको विश्व दृष्टिकोण र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत गइरहेको छ, जुन भद्रगोल हुँदैछ ।’
माओवादी केन्द्र विघटनको स्थितिबाट गुज्रिरहेको बताउँदै उनले यस्तो क्रियाकलापले पार्टी लोप हुन बेर नलाग्ने समेत बताए ।
लामो समयदेखि रोल्पामा पार्टीमा सक्रिय रहेका कक्षपतिले पार्टीको क्रियाकलाप देखेर वाक्क दिक्क भएर नयाँ निर्णय लिएको बताए । ‘पार्टीले सरकारको नेतृत्व लिएर महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पनि सम्हालेको छ’ उनले भने– ‘तर, माओबादी केन्द्रले बाटो विराएपछि आफू अविचल्लित राष्ट्रबादी पार्टी नेकपा एमालेमा समाहित हुने नयाँ निर्णय गरेको छु ।’
उनले अब नेपाली समाजको आमूल परिवर्तनका साथ राष्ट्रियताको जगेर्नाका लागि नेकपा (एमाले) बाटै नयाँ राजनीतिक जीवनको सुरुवात गर्ने बताए ।
विभिन्न कम्युनिस्ट नेताहरूले नेतृत्वलाई नजिकबाट नियालेको बताउँदै उनले अहिले नेपालको स्वाभिमानको पक्षमा उभिएका केपी शर्मा ओली नेतृत्वले आफूजस्ता पुराना वामपन्थी कार्यकर्ताहरूको मन जितेको बताए ।
उनले अहिलेको सरकारले क्षेत्र नम्बर ५ टुक्र्याएर संसदमा पेश गरेको संविधान संशोधनको प्रस्तावले पनि शान्त तलाउमा ढुंगा हान्ने काम गरेको आरोप लगाए । उनले जिल्लावासीहरूको भावना विपरीत, गलत कदम चाल्नु दुःखद् रहेको बताए ।
कम्युनिस्ट पार्टी सही सिद्धान्त, नीति–विचार, संगठन र व्यवहारको माध्यमबाट मात्रै जनतामा लोकप्रिय हुनसक्ने भन्दै उनले प्रचण्डलाई सच्चिन सुझाव समेत दिएका छन् ।
No comments:
Post a Comment