– सन्तोष यादब
सिरहा, ९ माघ । एक नेताकी आमाको निधन भएको १३ पूण्यतिथीको अवसरमा आयोजित शोकसभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हेलिकप्टर लिएर आज सिरहा पुगे । उनले चोहर्वास्थित सेना क्याम्पमा हेलिकप्टर ल्याण्ड गरेपछि स्वागत गर्नेहरुको लर्को लाग्यो । प्रचण्डसँग कानूनमन्त्री अजयशंकर नायक, पूर्वशिक्षा मन्त्री गिरीराजमणी पोखरेल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायत थिए ।
उनलाई स्वागत गर्न सिरहाका सिडिओ श्रीकृष्ण श्रेष्ठ, एसपी शेखर कोइराला, एलडिओ सुरेश राउत लगायतका दर्जनौं सरकारी कार्यालयका प्रमुख पुगेका थिए । प्रचण्ड आउनु अगाडी नै सिरहाका सिडिओ श्रेष्ठ लगायतका दर्जनौं सरकारी कार्यालय प्रमुखले आआफ्नो सरकारी सुविधाको गाडी लिएर चोहर्वा सेना क्याम्प पुगिसकेका थिए ।
प्रचण्डले हेलिकप्टर र कार्यालय प्रमुखहरुले सरकारी गाडी चढेर सरकारी रकम तथा स्रोतसाधनको दुरुपयोग गरेको उनकै पार्टीका नेताहरु बताएका छन् ।
शान्ति नचाहेनहरुले संविधान संशोधन भाड्न खोज्यो: प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शान्ति नचाहेकाहरुले संविधान संशोधन प्रक्रियालाई भाड्न खोजेको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले एमालेलाई लक्षित गरी यस्तो आरोप लगाएका हुन् । पूर्वमन्त्री तथा नेता विश्वनाथ साहकी आमा सागरदेवी साहको १३ औं पूण्य तिथीको अवसरमा सिरहाको गोलबजारमा आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले भने, ‘संविधान संशोधन गर्न सहमतीको प्रयास जारी राखेका छौं ।’
उनले हिमाल, पहाड र मधेसलाई जोड्न सबैको सर्वस्वीकार्य संविधान बनाउनुको विकल्प नरहेको बताए । उनले मधेसमा अहिले देश विखण्डित गर्ने स्वरहरु सुनिन थालेको बताउँदै देश विरुद्ध भड्काउनेहरुलाई जनताले नै तह लगाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘मधेशलाई बर्बाद गर्न चाहने र विखण्डित गर्न चाहने सबै मधेशका बैरीहरु हुन् । तिनीहरुको प्रतिवाद सबै मधेसीले गर्नुपर्छ ।’ देशलाई विभाजित गरेर होइन्, देशलाई एकीकृत पारेर मात्र हामीले विकास र पहिचानका मुद्दालाई दरिलो पाराले उठाउन सक्ने उनले थपे ।
प्रचण्डद्धारा शालिक अनावरण
प्रधानमन्त्री प्रचण्डले कर्जन्हाको वस्तीपुरमा द्वन्द्वकालिन अवस्थामा शहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरुको शालिक अनावरण गरे । उनले माओवादी कार्यकर्ताहरु रामशरण नायक, हजारी यादव, दिलीप यादव र रामप्रसाद यादवको शालिक अनावरण गरेका हुन् ।
पर्यटकीय क्षेत्रको मर्मत तथा संरक्षण कार्यको शिलान्यास
प्रधानमन्त्री प्रचण्डले गोलबजार नगरपालिका ३ जमदहस्थित तेतरिया पर्यटकीय स्थल कुम्भीखाँडी दह क्षेत्रको मर्मत तथा संरक्षण कार्यको शिलान्यास समेत गरेका छन् । उक्त पर्यटकीय स्थलको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्षमा सरकारले दुई करोड ३५ लाख बजेट विनियोजन गरेको जिल्ला नेता हरिनारायण चौधरीले बताए ।
No comments:
Post a Comment