Tuesday, 17 January 2017

आइसा ताकिया पछी अर्की नायिका विपाशा बासुसंग फिल्म खेल्दै विल्सन बिक्रम राई -

काठमाडौं, माघ ३ | ‘तक्मेबुढा’ नामबाट टेलिफिल्म मेरी बास्सैमा प्रवेश गर्दा पूर्वी नेपालका चम्किला तारा विल्सनविक्रम राईलाई पनि यति लोकप्रिय होला त्यो पात्र भन्ने लागेकै थिएन। तर, समयको गतिलाई पहिल्याउँदै नेपाली हास्य टेलिफिल्ममा नयाँ र पृथक भूमिकामा देखिएका राईले फेरि पछाडि फर्किनु परेन।



उनी नेपाली कला क्षेत्रमा सबैभन्दा लोकप्रियमध्येका एक कलाकारको रुपमा दरिन पुगेका छन्। बलिउड नायिका आयसा टाकियासँग हिन्दी फिल्म खेल्ने पक्का भएको छ। ‘सुटिङ सकेर भर्खरै फर्किएको हुँ,’ राईले शुभदिनसँग भने, ‘अब आगामी मे १७ तारिखबाट विपाशा बासुसँग सुटिङ छ, विपाशा र म एउटै फिल्ममा आउँदैछौँ।’

नेपाली फिल्म क्षेत्रमा विल्सनविक्रम अब नयाँ छैनन्। तर, यसरी आर्जेको लोकप्रियताका पछाडि उनका संघर्षका कथाहरू धेरै छन्। जतिबेला उनी विस्तारै सिकाइमा पाइला अघि बढाउँदै थिए, उनले एउटा कठोर नियति सहनु पर्यो। ९ वर्षे बालकको काख दैवले लुट्यो। आमाको निधनपछि पारिवारिक दायित्व पनि उनकै काँधमा आयो।

सधै हाँसेर बोल्ने विल्सनविक्रमको पहिलो विशेषता हो। खुलेर कुरा गर्ने उनको स्वभावले लाग्छ उनी कुनै कुरा लुकाउँछन् भन्ने लाग्दैन। ‘हो, म एउटा कलाकार हुँ,’ दर्जनौं चलचित्रमा अभिनय गरिसकेको झापाको विर्तामोड नगरपालिकास्थित चारपानेका कलाकार विल्सनविक्रम राई (तक्मेबुढा) हँसिलो शैलीका मुख खोले।

उनी आजभोलि आफ्नै चलचित्रको प्रवर्द्धनमा व्यस्त छन्। माङहिम फिल्मस्-तक्मे प्रोडक्सनको प्रस्तुति रहेको फिल्म रातोघरको प्रचार कार्यमा उनी जुटिरहेका छन्। उनी तक्मेबुढाको चरित्रले चर्चित भए पनि उनलाई सफल कलाकार बन्न धेरै विधाका भूमिकाले सहयोग गरेको छ। उनी पनि यसैमा विश्वास गर्छन्।

‘भिन्न–भिन्न भूमिकामा देखिएको छु,’ उनले थपे, ‘चलचित्र सायदमा १८ वर्षे केटा र जीवनचक्र टेलिफिल्ममा ५० वर्षेको रोलमा, तक्मेबुढाको क्यारेक्टर त सबै दर्शकको आँखामा छँदैछ।’ जसरी हुन्छ दर्शकलाई नयाँपन दिने ध्याउन्नमा आफू रहेको उनी बताउँछन्।

पन्ध्र वर्षे कलाकारिताको यात्राको सुरुवात विल्सनविक्रम राईले राजेश हमाल र करिश्मा मानन्धरको सर्वाधिक सफल चलचित्र ‘साथी’बाट सुरू गरेका हुन्। पहिलो चलचित्रमा उनी बर्नेको चिया बगानको पृष्ठभूमिमा देखिएका छन्।

त्यसपछि उनले प्रतिघात नामको वृत्तचित्र अभिनय गरेका थिए। ‘प्रतिघात दार्जीलिङमा सुटिङ भएको हो,’ उनको सारमा कथा पनि भने, ‘सिआरपीले गंगामायाको छोराको हत्या गरेपछि उनले पाँच जनालाई काटेरै मारेको घटनासँग सम्बन्धित छ।’



सानैदेखि नृत्य गर्न माहिर राईलाई कला क्षेत्रमा आउने ठूलो रहर थियो। ‘चलचित्र हेर्दा हिरोले गरेको अभिनयभन्दा केही राम्रो गर्न सक्छु जस्तो लाग्थ्यो,’ कलाकार राई भन्छन्, ‘त्यही अनुसार अभ्यास पनि गर्थेँ।’

सामाजिक विषयवस्तुमा बन्ने चलचित्रको पात्रको रुपमा अभिनय गर्न रुचाउने उनी बताउँछन्। ‘सम्झना चलचित्रमा मैले तेस्रोलिंगीको भूमिका निभाएको छु,’ उनी भन्छन्, ‘यसले उनीहरूप्रति समाजको धारणा सकारात्मक बनाउन ठूलो मद्दत गर्यो।’

चलचित्र सायदमा विल्सनविक्रमले भर्खंरै एसएलसी परीक्षा दिएका र लागुपदार्थको लतमा फँसेका युवाको चरित्र निभाएका गरेका छन्। उनी भन्छन्, ‘सामाजिक विसंगतिका विरुद्ध यो चलचित्रमा देखाइएको छ।’

उनले चलचित्र सम्झनाको तेस्रोलिंगीको भूमिकामा देखिएपछि धेरैतिरबाट स्याबासी पाएको बताए। ‘एकपटक सुटिङ गरेर फर्किने क्रममा काठमाडौंमा शिक्षा मन्त्रालयको अगाडि तेस्रो लिंगीहरूले घेरेरै धन्यवाद दिएका थिए, त्यसपछि चलचित्रबाट केही गरिएछ जस्तो लाग्यो,’ उनले भने।

राईको कला अभिनयमा मात्र सीमित छैन। उनी गाउन, गीत लेख्न, चलचित्र निर्देशन गर्न र स्टेज प्रस्तुति दिन पनि उत्तिकै माहिर छन्। उनले ‘पाण्डव’ चलचित्रको निर्देशन गरिसकेका छन्। हमजाएगा व्यंग्य गीति एल्वम् पनि बजारमा ल्याइसकेका छन् ।

चलचित्र क्षेत्रका डेढ दसकमा राईले ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, ‘कसले चोर्यो मेरो मन’, ‘मेरो प्यारो माइती घर’, ‘बस नं. १३६’, ‘छ एकान छ’, ‘सायद’, ‘अर्धकट्टी’, ‘वान वे’, ‘सम्झना’, ‘रिदम्’, ‘फेसबुक’, ‘नेपथ्य’ लगायतका चलचित्रमा अभिनय गरेका छन्।

राईले पाँच हजारभन्दा धेरै स्टेज शो गरिसकेका छन्। उनी नेपाली कला क्षेत्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मिथिला शर्माजस्ता कलाकारको आवश्यकता औल्याउँछन्। विल्सनविक्रमले कलाकारितामा पाइला टेक्दैगर्दा ठूला कलाकारको हात समाउनु पर्ने बाध्यता थियो।

‘ठूला कलाकारको मायादया पाएमात्रै यो क्षेत्रमा पाइला राख्न सक्ने स्थिति थियो, तर अहिले त्यो अवस्था छैन,’ उनले थपे, ‘तीब्र प्रतिष्पर्धा त छ, तरपनि हामी आफै अगाडि आउन सक्छौँ।’

प्रविधिको विकाससँगै नेपाली कला क्षेत्रमा धेरै सजिलोसँग प्रवेश पाउन सकिएको उनको टिप्पणी छ। उनले भने, ‘अहिले राम्रो गीत गाउनुस्, युट्युबमा राख्नुस्, रातारात हिट हुन्छ, कुनै चर्चित सेलिब्रेटीको हात समाउनु पनि परेन।’

सफल कलाकार राई नेपाली चलचित्रले उल्लेख्य स्थान नपाउनुमा दर्शकको हात रहेको बताउँछन्। ‘नेपाली दर्शकले यहाँ बनेको फिल्मलाई बलिउड र हलिउडसँग दाँज्नु भएन,’ उनको तर्क छ, ‘हाम्रो ५५ वर्षे इतिहासमा हामी धेरै सफल भइसकेका छौं, तर प्रविधिमा उनीहरु धेरै अगाडि भएर मात्रै अलि अब्बल छन्।’

उनले नेपाली चलचित्रमा सहायक पात्रको भूमिका नहुँदा पनि उत्कृष्टता पाउन नसकेको बताउँछन् । ‘अंग्रेजी  र हिन्दी फिल्ममा सहायक पात्र हटायो भने चलचित्र पूर्ण हुँदैन, नेपाली फिल्ममा हिरोकै रोल हाबी हुन्छ, सहायक पात्र हटाए पनि फिल्म पूर्ण हुन्छ,’ उनी भन्छन्, ‘यस्तो प्रवृत्तिले नै नेपाली सिने जगतमाथि नउठेको हो।’ उनले अझै धेरै काम बाँकी रहेको बताए।

कला क्षेत्रमा लागेका अरुलाई झैं उनलाई पनि धेरै प्रेम प्रस्ताव आउने रहेछ। ‘तर, साधारण रुपमा लिने गरेको छु,’ उनले भने। बिहेको तयारी नगरेको पनि उनले बताए। ‘लगन जुरेपछि होला नि किन हतारिनु,’ धक खोलेर हाँस्दै उनले भने।

राई आफू सबैको साझा कलाकार हुन चाहेको बताउँछन्। ‘मलाई राजनीति दलका झण्डा बोक्नु छैन,’ उनी भन्छन्, ‘साझा कलाकार भएर बाच्न पाउँ।’


No comments:

Post a Comment