Tuesday, 17 January 2017

रामकृष्ण ढकालको सम्झनामा यम बुद्ध

काठमाडौं, ४ माघ –  यम बुद्धका नामले नेपाली युवा पुस्ताबीच अत्यन्त लोकप्रिय र्‍यापर अनिल अधिकारीको शव शनिबार लन्डनको साउथह्यारोस्थित उनकै निवासको बाथरुममा भेटियो । अधिकांशले यसलाई उनको आत्महत्या भनेका छन् । तर, प्रहरीको रिपोर्ट तथा अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आउन अझै केही दिन लाग्नेछ । श्रीमतीसँग केही समययता लन्डनमा बस्दै आएका २९ वर्षीय अधिकारीले बुधबार मात्र सामाजिक सञ्जालहरूमा आफ्नो नयाँ एल्बम ‘खतरा’ आउने जानकारी दिएका थिए । अधिकारीसँग एक–डेढ वर्षअघि अर्का लोकप्रिय गायक रामकृष्ण ढकालले संयुक्त कार्यक्रम गरेका थिए ।
Image result for ram krishna dhakal
ढकालको सम्झनामा यम बुद्धः

मैले यम बुद्ध भाइसँगै मोरङको हरैचा भन्ने ठाउँमा कार्यक्रम गरेको थिएँ । एक–डेढ वर्षअघि हामी सहभागी भएको त्यो कार्यक्रममा उसको लोकप्रियता कति रहेछ भन्ने मलाई थाहा भयो । कार्यक्रममा ऊ स्टेजमा चढेर गाउन थालेपछि उसँगै गाएका दर्शक देख्दा मलाई अचम्म लागेको थियो । यस्तो किन भने पछिल्लो समय उसलाई फलो गर्नेको संख्या अत्यन्त धेरै रहेछ । र्‍याप गीत नेपालमा उति चलिसकेको छैन होला भन्ने मेरो सोचलाई त्यो दिनको कार्यक्रमले भंग गरिदिएको थियो । नेपाली समाजमा र्‍यापलाई स्थापित गर्नमा यम बुद्ध भाइकै सबैभन्दा ठूलो योगदान छ । पछिल्लो समय नेपाली युवाहरूले उसलाई फलो गरिरहेका थिए । उसको युट्युब र फेसबुकमा भएको फ्यान फलोइङ एउटा लोभलाग्दो फ्यान फलोइङ हो ।
हरैचाको त्यो कार्यक्रममा जाँदा हामी सँगै गएका थियौँ । हामीसँगै आस्था राउत पनि हुनुहुन्थ्यो । त्यसपछि मेरो र यम बुद्ध भाइको बारम्बार सम्पर्क भइरह्यो । यो कस्तो समय हो भने पछिल्लो समय र्‍याप गीतमा लागेका अधिकांशले आफूभन्दा अघिल्लो पुस्ताको योगदानबारे खासै अध्ययन गरेका हुँदैनन् । कतिले त आवश्यक सम्मान नगरेका घटना पनि बारम्बार आइरहेका हुन्छन् । उनीहरूको व्यवहार नै फरक हुन्छ । कतिले त आफूलाई मोर्डन प्रमाणित गर्न पनि त्यस्तो व्यवहार गरिरहेको हामी देखिरहेका हुन्छौँ । तर, त्यतिवेला यम बुद्ध भाइ यस्ता प्रवृत्तिभन्दा धेरै फरक रहेको मैले पाएको थिएँ । ‘ही वाज डाउन टु अर्थ ।’ यो कुराले पनि मलाई प्रभाव पारेको थियो । उनी अत्यन्त सरल व्यवहार गरिरहेका हुन्थे ।

त्यो दिन र त्यसपछि पनि यम बुद्ध मलाई भनिरहेका हुन्थे, ‘दाइ एउटा प्रोजेक्ट गरौँ ।’ ऊ केही नयाँ काम गर्न अत्यन्त डेस्परेट थियो । उसले मलाई भनिरहेको हुन्थ्यो, ‘दाइको आफ्नै क्रेज छ, मेरो पनि फ्यान फलोइङ राम्रो छ । हामीले मिलेर काम गरेको खण्डमा केही नयाँ हुन सक्छ ।’ यसबाट मलाई लागिरहेको थियो– ऊ केही नयाँ काम गर्न उत्साहित छ, उसले नयाँ टेस्ट दिन सक्छ । उसले त्यही भेटमा पनि आफू केही समयपछि युके जाने कुरा गरेको थियो । ऊ युके गएपछि पनि हामीबीच सम्पर्क भएको थियो । उताकै कम्पनीहरूसँग आफ्नो कुरा भइरहेको र करिअर अगाडि बढाउनमा आफू तल्लीन भएको कुरा हुन्थ्यो । नयाँ पत्रिकाले छापेको छ ।

तर, शनिबार जुन समाचार आयो, म ‘सक्ड’ भएँ । सुरुमा त मैले यसलाई पत्याउनै सकिनँ । उसको छुट्टै गायन तरिकाबाट धेरैलाई प्रभाव पारिसकेको थियो । हुन पनि ऊ नेपालको एक नम्बर र्‍यापरमा नै पथ्र्यो । अत्यन्त रुचाइएको एउटा सेलेब्रिटीको यस्तो अन्त्य अत्यन्त गम्भीर विषय हो । नेपालमा र्‍याप सिंगिङ स्थापित गरेको यम बुद्धको अन्त्य नयाँ नेपाली सांगीतिक क्षेत्रका लागि अतुलनीय क्षति हो । त्यसैले, यस्तो विषयमा हामी संगीतकर्मी मात्र होइन, देशले पनि ध्यान दिनुपर्छ । के राष्ट्रले यस्ता प्रतिभालाई पिक अप गरेर समुन्नत भविष्यको कल्पना गर्न सक्दैन ?


No comments:

Post a Comment