Friday, 3 February 2017

ओलीका पछिल्ला सबै उपद्रो फिल्म सुटिङका लागि भइरहेको खुलासा !



काठमाडौं, २१ माघ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन या अरु केहीका नाममा गर्ने सबै उपद्रो उनको जिवनीमा आधारित भएर बनिरहेको फिल्म ‘रातो सूर्य’ का लागि भएको खुलेको छ ।

राष्ट्रवादी आन्दोलनका नाममा भएको भृकुटीमण्डपको सभा, स्याङ्जा महोत्सब नै विथोलिने गरी भएको ढुंगामुढा र माइतिघरमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम समेत ओलीको फिल्मका लागि भएको बताइन्छ ।

एमालेका एक नेताका अनुसार ओली आजकाल अध्यक्षको हैसियतमा भन्दा पनि फिल्म डाइरेक्टरको निर्देशनमा चल्छन् । पछिल्लो समय बनेका सबै कार्यक्रमहरु फिल्म निर्माणकर्ताको योजनाअनुसार भईरहेको समेत एमाले मुख्यालयमा चर्चा चल्ने गरेको छ । ओलीको जीवनीमा बनिरहेको फिल्म ‘रातो सूर्य’ मंसिर २८ गतेदेखि छायाँकनमा छ । ‘रातो सूर्य’ फिल्मको टिम अध्यक्ष ओलीका हरेक कार्यक्रममा सँगै हिँड्ने गरेको छ । फिल्मको मुख्य पात्र नै अध्यक्ष ओली हुन् ।

केही दिन अगाडि फिल्मको टिमले ओलीसँगै टेकुस्थित पचली पुगेर बीर बलभद्र कुँवरको शालिक अनावरण गरेको दृष्य पनि लिएको थियो । ‘रातो सूर्य’का लेखक तथा निर्देशक दीपेन्द्रप्रसाद दाहाल हुन् भने निर्माता पुरन गिरी हुन् । फिल्ममा विश्व बस्नेत, हरिहर शर्मा, सुरबीर पण्डित, टीका पहाडी, ध्रुब कोइराला, पवन खतिवडा, केशव भट्टराईलगायतको अभिनय रहनेछ ।

तर नेपाली देशभक्त युवा समाज नेपालका सदस्य केदारनाथ नेपालले माइतिघर मण्डलामा राष्ट्रिय झण्डा राख्ने फिल्म निर्माण प्रयोजनका लागि नभएको दाबी गरेका छन् । उनले भने, ‘उक्त राष्ट्रिय झण्डा राख्ने कार्यक्रम हाम्रो स्वतन्त्र संस्थाले आयोजना गरेको कार्यक्रम हो ।

उनीहरुको फिल्म युनिटले हामीसँग भिडियो खिच्नका लागि अनुमति मागेको थियो तर हामीले त्यो अनुमति दिएका छैनौ । यदि हाम्रो सहमति बेगर फिल्म निर्माण प्रयोजनका लागि भिडियो खिचिएको रहेछ भने हामी सम्बन्धित निकायमा उजुरी गर्छौ ।’ -खबरडबलीबाट

No comments:

Post a Comment