नेपाली सिनेजगतका एक्सन नायक निखिल उप्रेतीका फिल्म धमाधम आउदै ! हेर्नुहोस कुन कुन फिल्न आए ?
काठमाडौँ – अभिनेता निखिल उप्रेतीले लगातार फिल्म अभिनय थालेका छन् । केही वर्षअघिको झैँ उनी अहिले व्यस्त भएका छन् । फिल्म चल्दाचल्दै कान्छी पत्नी सञ्चिता लुइँटेलका साथ मुम्बई उडेका निखिल झन्डै पाँच वर्ष उद्योगबाटै हराए ।
बलिउडका फिल्म अभिनयका लागि राम्रै ‘ट्राइ’ गरे । तर, खासै ठूलो उपलब्धि हासिल भएन । अन्ततः उनी स्वदेश फिरेर अभिनय, निर्माण र निर्देशनमा सक्रिय भएका छन् । नेपालमा हिन्दी फिल्म निर्माण गर्ने योजनाका साथ फर्किएका थिए, निखिल । तर, बलिउड कलाकारको समय नमिलेकाले उनले भारतीय नागरिक रतन दारुवालाको साथमा ‘भैरव’ निर्माण गरे ।
भैरवपछि निखिलले लगत्तै ‘लुटेरा’मा अभिनय गरे । सिंगल थिएटरमा निखिलका भैरव र लुटेराले राम्रै व्यापार गरे । जसकारण निखिललाई पहिलाझैँ फिल्मको अफर आउन थाल्यो । भैरव र लुटेरापछि निखिलले ‘किङ’, ‘संरक्षण’, ‘निर्भय’, ‘राधे’ र ‘रुद्र’ फिल्ममा अभिनय गरिसकेका छन् । उनी पछिल्लो समय हिमाल केसीको निर्देशनमा ‘पिँजडा ब्याक अगेन’मा अभिनय गर्दै छन् ।
यो फिल्मको हालै राजधानीमा प्रेसमिट गरी जानकारी दिइयो । डेब्यु फिल्म ‘पिँजडा’मा सात तला माथिबाट हामफालेर एकाएक चर्चामा आएका निखिल फेरि त्यस्तै स्टन्ट गर्ने मुडमा छन् । सायद, ‘पिँजडा ब्याक अगेन’मा उनलाई फेरि हामफालेको देख्न पाइनेछ ।
निखिल अभिनीत निर्भय चैत्र ११ मा रिलिज हुँदै छ भने अर्काे फिल्म ‘राधे’ वैशाख १ मा दर्शकमाझ आउँदै छ । निखिलको ‘कमब्याक’ भैरव, त्यसपछिको लुटेरा र गत पुस २८ मा प्रदर्शित ‘किङ’ फिल्मले नाफा कमाउन नसके पनि उनको ‘डिमान्ड’ भने घटेको छैन । एक्सनबाहेक अन्य भूमिकामा प्रस्तुत हुनै नचाहने निखिलका ‘संरक्षण’ र ‘रुद्र’को प्रदर्शन मिति भने तोकिएको छैन । रामजी लामिछाने निर्देशित रुद्र निखिलकै प्रोडक्सनमा बनेको हो । रुद्र जनैपूर्णिमाको सेरोफेरोमा दर्शकमाझ आउने तयारीमा छ ।
त्यसैगरी, हालै घोषित पिँजडा ब्याक अगेनचाहिँ ०७४ को दसैँमा रिलिज गरिने बताइएको छ । सो मितिमा रेखा थापाले आफ्नो नयाँ फिल्म ‘रुद्रप्रिया’ प्रदर्शन गर्ने बताएकी छिन् । त्यसैगरी, निर्माता छवि ओझा पनि आफ्नो निर्माणाधीन फिल्म ‘मंगलम्’ दसैँमा प्रदर्शन गर्ने योजनामा छन् । किङको असफलता हेर्दा निखिलको बजार सुस्ताएको अनुमान लगाउन थालिएको छ । यद्यपि, उनी अब प्रदर्शन हुने आफ्ना फिल्म निर्भय, राधे, रुद्र र संरक्षणप्रति भने निकै आशावादी छन् ।
No comments:
Post a Comment