Sunday 5 February 2017

गायिका बन्ने भोकले सरकारी जागिर त्यागेकी सन्जु, नायिका बन्न अफरै अफर (फोटो फिचर)


काठमाडौं । २०५० साल फागुन ११ स्याङ्जाको निवुवा खर्कमा जन्मिएकी गायिका सन्जु न्यौपाने । झट्ट हेर्दा नायिका भन्दा कम देखिन्नन् उनी । त्यसैले त उनको स्वर सुन्न नपाएकाहरुले उनलाई नायिकाका लागि कर्म बनाउ भन्ने सुझाव दिन्छन् भने मोडलिङ र अभिनयका लागि पनि अफरहरु आउने गर्दछन् ।
एक दर्जन जति म्यूजिक भिडियो र टेलिफिल्महरुमा समेत अभिनय गरिसकेकी छिन् भने प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘निर्भय’मा समेत उनले आफ्नो कला कौशल प्रस्तुत गरिसकेकी छिन् । निर्भयमा नायिका निता ढुंगानाको बहिनी भएर चरित्र निर्वाह गरेकी न्यौपानेलाई यस्ता अफरहरु त अनगिन्ती आएको बताउँछिन् उनी ।
यदि आएका अफरहरुलाई मैंले स्वीकारिसकेकी थिएँ भने अहिले १ नम्बरकै कलाकार पो बन्थें होला उनले भनिन् । अनि यहि क्षेत्रमा परिचय खोज्ने फेरि यहि क्षेत्रबाट आएका अफरलाई किन रिजेक्ट गर्नुभएको नि भनेर सोध्दा उनी भन्छिन् ‘हैन हैन मैंले अभिनय मार्फत मेरो परिचय खोजेकै छैन नि । म नायिका तथा मोडल सन्जु न्यौपाने नभई गायिका सन्जु न्यौपानेको परिचयबाट चिनिन चाहन्छु ।’
सानैदेखि गीत संगीत भनेपछि भुतुक्क हुने सन्जु २०६८ सालमा एसएलसी दिएर शसस्त्रको जागिरमा जोडिन पुगिन् । शसस्त्रको जागिर मार्फत करिव ३ वर्षको समय उनले नवलपरासीमा बिताइन् । जागिरे जीवनमा रहँदै गाना बजानाप्रति आकर्षित बनेकी सन्जुलाई दिदी जमुना गैरेले गरेको साथ र सहयोगले पनि झन् बढी यो क्षेत्रमा दिगो समर्पण गराएको बताउँछिन् । यसो त उनलाई गायक विमल परियारले देखाएको मार्ग निर्देशन र साथ सहयोग पनि कम नरहेको उनी बताउँछिन् ।
नेपालको परिवेशमा सरकारी जागीर पाउनु ठूलो कुरा हो । यस्तो अवस्थामा पाएको जागिरलाई छोड्न मन त सन्जुको पनि थिएन तर पनि उनले छोड्न पुगिन् । नवलपरासीमै आयोजना भएको एक सांस्कृतिक कार्यक्रममा नाम चलेका अग्रज कलाकारहरुको साथमा उनले पनि प्रस्तुति दिने मौका मिल्यो । उक्त कार्यक्रमरुमा बिमलराज क्षेत्री, राजन गुरुङ, राजु परियारको साथमा सन्जुले पनि पहिलो पटक प्रस्तुति दिने सौभाग्य पाइन् । उक्त प्रस्तुतिलाई दर्शकले अत्यन्त रुचाए नै, अग्रज कलाकार राजु परियार लगायत सबैले उनको स्वरको खुब तारिफ गरे । मान्छे पनि राम्री त्योभन्दा स्वर झन् राम्रो रहेछ । यति राम्रो स्वर भएको मान्छे यतिकै बस्नु हुँदैन । सांगीतिक क्षेत्रमा अगाडि बढ्नु पर्छ । सन्जु न्यौपानेको परिचयले अब तिमीलाई पुग्दैन, गायिका सन्जु न्यौपानेको परिचय बनाउन अघि बढ भन्ने सुझाव दिनुभयो । मलाई पनि त्यस्तै लाग्यो । हो नि म पनि योग्य छु नि गाउन । भने किन अब नगाउने अब भनेर सांगीतिक क्षेत्रमा नै अगाडि बढ्ने सोचले भइराखेको सरकारी जागिर छाडेर यहि क्षेत्रमा होमिन पुगें, उनले आफ्ना दिनहरु सुनाइन् ।
कलाकारिताका मोफसल भन्दा राजधानीमा बसेर धेरै गर्न सकिन्छ भन्ने सुनेको थिएँ । यसर्थ म पनि संगीतमा साधना गर्दै गायिकाको परिचय बजबुत बनाउन राजधानी छिरेको हुँ । काठमाण्डौ आएपछि गाउँले दाजु नविन पाण्डेसँगको सहकार्यमा एल्बम निकालें उनले भनिन्– सांगीतिक क्षेत्रमा नै आफ्ना पाइलाहरु चाल्दै आएकी छु, मलाई गायिका सन्जु भनेर चिनाउने गीत भने ‘डाली नुहेछ, हेर्दा हेर्दै बिहे गर्ने उमेर पुगेछ’ बाट चिनिएको बताउँछिन् । लोकदोहोरीमा आफ्नो करिअरलाई समर्पण गर्दै आएकी सन्जुले यो क्षेत्रलाई कहिल्यै छाड्न नसक्ने बताउँछिन् ।

No comments:

Post a Comment